सहरमा मन्दी र महँगी, गाउँ फर्कदै गरिब वर्ग

खाद्यान्नको मूल्य निरन्तर बढेको बढ्यै छ । व्यापारीहरुले हप्ता बित्न नपाउँदै खाद्यान्नको मूल्य बढाउँछन् । हरेक सामानको मूल्य आकासिएको छ । योसंगै आम्दानी नहुनेहरु भोकभोकै बस्नुपर्ने बाध्यता आइपुगेको छ । एकातिर मँहगी अर्कोतिर बेरोजगारी । अनि कसरी जीविकोपार्जन गर्ने ? काठमाडौंमा टिक्न नसक्ने अवस्था सिर्जना भइसकेको छ । सानो व्यापार व्यवसाय गरेर भएनि खाऊँला भनेर आफ्नो गाउँठाउँ छोडेर शहर आएकाहरु अहिले धमाधम फर्किन थालेका छन् । यो अवस्था काठमाडौंमा मात्र होइन्, जिल्लाको सदरमुकाममा पनि देखिन थालेको छ । जिल्लाको सदरमुकाममा कोठा लिएर बस्नेहरु पनि आफ्नै घर फर्किरहेका छन् । बाँच्नका लागि विकल्प नै नभएपछि के गर्ने ? काम गरेर खर्च धानौंभन्दा काम पाइँदैन् । बिहानबेलुका खानै पर्यो, कोठा भाडा तिर्नैपर्यो र आफूलाई खर्च पनि चाहियो । अहिले बाँच्न पनि धौं धौं पर्ने स्थिति बनिसकेको छ । बजारमा पूरै मन्दी छाएको छ । व्यापार व्यवसाय गर्नेहरुलाई पनि उत्तिकै सास्ती छ । एकातिर व्यापार ठप्प छ अर्कोतिर चर्को कोठाभाडा । खर्च धान्न नसक्ने भएपछि अधिकांशले सटर छोडिसकेका छन् । काठमाडौं उपत्यकालगायत अन्य जिल्लाका धेरै सटर खाली भइसकेको छ । यता, उनीहरुले कोठासमेत छाडिसकेका छन् । आम्दानीको स्रोत नै नभएपछि यहाँ मँहगो कोठा लिएर के गर्ने ? केही वर्षअघि र अहिलेको अवस्था ठ्याक्कै उल्टो छ । त्यतिबेला एउटा कोठा पाउन पनि महाभारत हुन्थ्यो । एउटा कोठा खोज्नलाई तीन महिना लाग्थ्यो । कोठा खोज्न खुलेका कार्यालयलाई पैसा दिएर पनि कोठा खोज्न लगाइन्थ्यो । तर, अहिले त घरैपिच्छे ‘टुलेट’ को पोस्टर टाँसेको देखिन्छ । त्यति गर्दा पनि कोही कोठा खोज्न आइदिए त हुन्थ्यो । हिजो कोठाबहालमा बस्नेबाट बसिबसि खाने घरधनीहरुको आम्दानीको स्रोत गुमेको छ । एउटा कोठाको ठाँउ हेरेर मासिक पाँचदेखि १० हजारसम्म लिन्थें । अझ दुलोजत्रो गोदामको १५ हजार रुपैयाँ उठाउँथे । एउटै सटरको २० हजारदेखि १० लाखसम्म लिने गरेका थिए । एक फ्ल्याटको २५ हजारदेखि लाखसम्म पनि उठाए, घरधनीले । खाली सटर २० लाखदेखि ५० लाखसम्म बिक्री हुन्थ्यो । तीन महिनाको अग्रिम भाडा घरधनीले उठाउँदै आएका थिए । कोठा र सटर पाउन महामुश्किल भएकाले घरधनीले जति भन्यो त्यति नै तिर्ने गरिन्थ्यो । तर, अहिले त लेखेर टाँस्दा पनि कसैलाई फरक परेको छैन् । कोठा खोज्न कोही आउँदै आउँदैनन् । व्यापारीहरुको व्यापार सोत्तर भइसकेको छ । व्यापार हुञ्जेल त उनीहरुले पनि घरधनीले भनेझैं भाडा तिरे । दिनमै लाखौंको व्यापार गर्नेहरु अहिले ३०/३५ प्रतिशत व्यापारमा खुम्चिएर बसेका छन् । कतिपयको त पसल खोल्नु ‘टाइमपास’ जस्तो भएको छ । दिनभरि बोनी पनि नगरिकन निस्किन्छन् । देशमा लोकतन्त्र, संघीयता आएर वा प्रदेश बनेर सर्वसाधारणले काठमाडौं छोडेका भने होइनन् । विकास भएर गाउँ गएको भन्ने अवस्था पनि छैन् । किन कि हिजो उनीहरुले गाउँ छोडेर आउँदा जस्तो थियो, अहिले पनि त्यस्तै छ । अहिले गाउँ फर्किनुको कारणचाँहि बजारमा देखिएको आर्थिक मन्दी हो । व्यापार व्यवसाय सुकिहाल्यो । अन्य काम गरेर खाउँ भने रोजगारी छैन । मुलुकमा दिनदिनै बेरोजगारी बढेको बढ्यै छ । व्यापार व्यवसाय गर्नेहरु पनि बेरोजगार बन्दा बेरोजगारीको संख्यामा थप वृद्धि भएको छ । पानी पनि किन्नुपर्ने ठाँउमा दैनिक गुजारा गर्न पनि ग्राह्रो भएपछि आआफ्नो जन्मथलो फर्किन थालेका हुन् । आफ्नै गाउँठाँउ गएपछि कोठा भाडा तिर्नुपर्दैन । अर्कोतिर यहाँ जस्तो पानीसमेत किन्नु पर्ने ठाँउ होइन । आफ्नै खेतबारीमा श्रम गर्यो भने पनि खान त पुग्छ । मुलुकमा खाद्य संकट हुने त निश्चित भइसकेको छ । यहाँ पनि भोकमरी लाग्न बेर छैन् । किन कि नेपाल परनिर्भर देश हो । यहाँ हरेक खाद्यान्न भारतलगायत तेस्रो मुलुकबाट आयात हुन्छ । खेतीयोग्य जमिन सबै मासिसकेको छ भने बाहिरबाट आउने खाद्यान्न किन्नका लागि पनि व्यक्तिसँग पैसा हुँदैन । नेपालीहरुले जागिर खाए, जग्गा किने र घर बनाए । विदेश बसेर आएकाहरुले पनि घरजग्गामै लगानी गरे । सबैभन्दा उर्वर भूमि भएको काठमाडौं उपत्यका घरैघरले ढाँकिएको छ । अन्य जिल्लामा पनि बढ्दो अव्यवस्थित बस्ती बसिसकेको छ । कृषिप्रधान देशका किसानहरु धमाधम विदेश पलायन भइरहेका छन् । खेती गर्न जमिन नै नभएपछि विदेश नगएर पनि के गर्नु ? घरभाडामा लगाएर बसिबसि खान्छु भन्नेहरुको पनि हाल बेहाल भएको छ । भाडा तिर्न नसकेपछि अधिकांश आफ्नो गाउँघर फर्किसकेका छन् । कोठाहरु धमाधम खाली भइरहेको छ । कतिले त बैंकबाट ऋण लिएर घर ठड्याएका छन् । अब घरको किस्ता कहाँबाट तिर्ने र घरखर्च कसरी टार्ने भनेर उनीहरु चिन्तित बनेका छन् । बाहिरबाट आयात गरेको सामान किन्न पनि पैसा चाहियो । नेपाल र नेपालीको अवस्था कहालीलाग्दो बनिसकेको छ । माटोभन्दा ठूलो केही होइन् भन्ने सरकारले बुझेन्, जनताले बुझ्न चाहेनन् । नेपालमा माटो खरिदबिक्री गर्ने काम भयो । जसले गर्दा खाद्यान्नको संकट हुने देखिन्छ । खेतीयोग्य जमिनलाई कंक्रिट बनाइएको छ । कंक्रिट बनाइसकेपछि कहाँ खेती गर्ने ? अन्न नै नभएपछि कोही बाँच्न सक्दैन । देशमा भोकमरी लाग्यो भने कंक्रिट चपाउन मिलेन । घर बनाएर केके न गर्छु भन्नेहरुको समेत होश् उडेको छ । अझ बैंकबाट किस्ता लिएरहरुले त पुर्परोमा हात समानुपर्ने अवस्था सिर्जना भएको छ । घरजग्गा कारोबार ठप्प छ । बैंकबाट ऋण लिएर घरधनी बनेकालाई किस्ता तिर्नै सकस परेको छ । सदनदेखि सडकसम्म मुलुकको अर्थतन्त्रकै विषयमा बहस चलिरहेको छ । आर्थिक मन्दीले बजारलाई छपक्कै छोपेको छ । सांसदहरु निरन्तर अर्थतन्त्रकै बारेमा सदनमा कुरा उठाइरहेका छन् । देशको अर्थतन्त्र पाँच दशकअघिको अवस्थाको पुगेको बताइन्छ । पाँच दशकअघि कम राजस्व उठ्दासमेत सरकारलाई कुनै फरक पर्दैनथ्यो । किन कि जनसंख्या कम थियो । आफ्नै खेतबारीमा फलेको खाद्यान्नले जीविको चलाउन पुग्थ्यो । नेपाल सरकारले अन्य देशलाई खाद्यान्न बेच्थ्यो, अनुदानमा दिन्थ्यो । सरकारी खर्चको नाममा कर्मचारीलाई तलब दिए पुग्थ्यो । सरकारी खर्च धान्नसमेत सरकारलाई महाभारत परेको छ । अझ पेन्सन, सरकारी गाडी, भत्ताको व्यवस्था गर्न थालेपछि त राज्यको ढुकुटी सोत्तर बनेको छ । सरकारी खर्च धान्नकै लागि विदेशीसमक्ष हात फैलाउनुपरेको छ । विदेशी ऋण बढेको बढ्यै छ, तिर्ने कहाँबाट हो ? अत्तोपत्तो छैन ।

विराटनगरमा जेठ १३ गते एनसेल कन्सर्ट हुँदै

विराटनगर। एनसेल आजियाटाले विराटनगरको हाटखोला मैदानमा जेठ १३ गते शनिवार कन्सर्ट गर्ने भएको छ। कार्यक्रममा चर्चित कलाकार तथा साङ्गीतिक समूहका प्रस्तुतिहरू रहने छन्। विशेष गरी विदेशमा रहेका दाजुभाइ तथा दिदीबहिनीहरूका नेपालमा रहेका परिवारका सदस्यहरू, आफन्तजन तथा साथीभाइसँग साङ्गीतिक कार्यक्रम मार्फत खुसी साटासाट गर्ने उद्देश्यका साथ एनसेलले यो साङ्गीतिक कार्यक्रमको आयोजना गर्न लागेको हो। कार्यक्रम दिउँसो २ बजे बाट सुरु भई बेलुका ९ बजे सम्म आयोजना गरिने छ। कार्यक्रममा चर्चित गायकगायिकाहरू दीपक बज्राचार्य र रिदम ब्यान्ड, आशिष् राना लाउरे, शिव परियार, द एलिमेन्ट्स, अस्मिता अधिकारी, सुनिल पण्डित, कलाकार केकी अधिकारीले आफ्नो विशेष प्रस्तुतिहरू राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन्। साथै यो कन्सर्ट एनसेलको फेसबुक पेजबाट लाइभ अर्थात् प्रत्यक्ष प्रसारण हुनेछ । यसले गर्दा विराटनगर बासी मात्र नभई देश विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीले कार्यक्रमको मनोरञ्जन लिन सकिने कम्पनीले जनाएको छ। यस कन्सर्टमा सहभागी हुन इच्छुक दर्शकले नजिकैको एनसेल सेन्टर वा आधिकारिक बिक्रेताको एनसेल पसल एपबाट अन्तर्राष्ट्रिय कलिङ्ग प्याक, सहयात्री सिम खरिद वा ब्यालेन्स रिचार्ज गरी यस कन्सर्टको टिकट निःशुल्क पाउन सक्छन् । वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरूका परिवारका सदस्यहरूलाई ध्यानमा राखी एनसेलले आकर्षक बन्डल सेवा, बोनस सुविधा र रोमिङका साथ ‘सहयात्री सिम’ स्टार्टर प्याक उपलब्ध गराउँदै आएको छ। यसै गरी कम्पनीले विदेशका रहेका आफ्ना परिवारसँग सुलभदरमा सम्पर्कमा रहिरहन विभिन्न भ्वाइस प्याकहरू पनि उपलब्ध गराउँदै आएको छ। यस साङ्गीतिक कार्यक्रमले विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू र उनका नेपालमा रहेका परिवारलाई भरपुर मनोरञ्जन गर्ने विश्वास एनसेलले लिएको छ। कार्यक्रम स्थलमा रहने एनसेलको स्टल मार्फत कम्पनीले प्रदान गर्दै आएको सेवा तथा सुविधाहरूका बारेमा जानकारी लिन सक्नेछन्। यस कार्यक्रममा सहभागी हुनका लागि अन्तर्राष्ट्रिय कलिङ्ग प्याक, सहयात्री सिम खरिद वा ब्यालेन्स रिचार्ज गरी निःशुल्क टिकट लिन एनसेलले ग्राहकहरूलाई आव्हान गरेको छ।  

भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान दीप श्रेष्ठ र शक्ति बल्लभलाई

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्सफर संगित क्षेत्रकाे दुई व्यक्तिलाई ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’ प्रदान गरेकाे छ । सिटी एक्सप्रेसले भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा आइतबार उक्त सम्मान गरेकाे हाे । कम्पनीले गायनतर्फ वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठ र संगीततर्फ वरिष्ठ संगीतकार शक्ति बल्लभलाई जनही नगद पुरस्कार ५० हजारसहित उक्त सम्मान प्रदान गरेकाे छ । कार्यक्रममा ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ युवा तबलाबादक बिपी सिंहलाई प्रदान गरिएको थियाे । २५ हजार रुपैयाँ राशिको यो सम्मान सांगीतिक क्षेत्रमा कृयाशिल स्वास्थ्योपचार गराइरहेका संगीतकर्र्मीलाई अघिल्लो वर्षदेखि प्रदान गर्न थालिएको हो । भक्तराज आचार्य संगीत प्रतिष्ठानले विगत केहि वर्ष यता देखि संगीत र कलाको क्षेत्रमा महत्तवपुर्ण योगदान पुर्याउँदै आएको र सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तराज आचार्य संगीत प्रतिष्ठानलाई साथ दिँदै आएको छ ।