नेपालगञ्ज रंगशालामा निर्माण गरिएको ‘सेन्थेटिक ट्रयाक’ बारे छानबिन सुरु
बाँके । बाँकेको नेपालगञ्ज रंगशालामा निर्माण गरिएको ‘सेन्थेटिक ट्र्याक’ उप्किएको विषयमा अध्ययन गर्न गठित उपसमितिले रंगशालामा पुगेर छानबिन सुरु गरेको छ । निर्माण गरेको एक महिना नबित्दै सेन्थेटिक ट्र्याक उप्किएको विषय बाहिर सार्वजनिक भएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य लेखबहादुर क्षेत्रीको संयोजकत्वमा गठित तीन सदस्यीय अध्ययन उपसमितिले रंगशालामा पुगेर छानबिन गरिरहेको साबिक मध्यपश्चिमाञ्चल खेलकुद विकास समिति कार्यालयका प्रमुख महेश चन्दले बताए । उनका अनुसार सेन्थेटिक ट्र्याक निर्माणका क्रममा निर्माण पक्षबाट प्राविधिक रूपमा के कस्तो त्रुटि भयो वा के कति कारणले ट्र्याक उप्कियो सो बारेमा सुक्ष्म अनुसन्धान भइरहेको छ । अध्ययन उपसमितिका संयोजक राखेप सदस्य क्षेत्रीले प्रारम्भिक अध्ययनका क्रममा जडानमा कमजोरी भएर सेन्थेटिक ट्र्याकको ‘डि एरिया’ मा उप्किएको, उत्तर–दक्षिण साइडमा विभिन्न स्थानमा पानी जमेको पाइएको बताए । ‘हामीले औपचारिक रूपमा अध्ययन गरिरहेका छौँ, यसमा केही कमी, कमजोरी देखिएका छन्, त्यसलाई लिपिबद्ध गरेर प्रतिवेदन तयार पार्छौं,’ उनले भने । निर्माण कम्पनीका प्राविधिक मनिषकुमार शाहले यो नेपालमा यस्तो पहिलो घट्ना भएको जनाउँदै के कति कारणले भयो ? आफूहरूले पनि खोजी गरिरहेको बताए । उनले सेन्थेटिक ट्र्याक निर्माण गुणस्तरीय प्रविधिको प्रयोग गरी गरिएको जनाउँदै कसरी उप्कियो भन्ने विषयमा आफूहरूले पनि बुझ्न नसकेको बताए । राखेपले सेन्थेटिक ट्र्याक निर्माण गर्न ठेकेदार कम्पनी ‘पञ्चकन्या–सिन्कोट्स जेभी’ ललितपुरलाई नौ करोड ८६ लाख ४० हजार आठ सय ३२ रुपैयाँमा ठेक्का दिएको थियो । सन् २०२३ मार्च २३ मा ठेक्का सम्झौता भएकोमा सन् २०२४ जनवरी ५ मा काम सम्पन्न गरिसक्नुपर्नेमा ठेकेदार कम्पनीले गत असार मसान्त (जुन १५) मा मात्र काम सम्पन्न गरेको थियो ।
सुनको सिक्री लुटपाट गर्ने ३ जना पक्राउ
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ बस्ने ५० वर्षीया कमला गौतमको एक तोलाको सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-९ घर भई बनेपा बस्ने ३८ वर्षीय अनिलकुमार तामाङ, काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–५ घर भई ललितपुर ग्वार्को बस्ने ३४ वर्षीय गणेश लामा र काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-६ घर भई काठमाडौं गौशाला बस्ने ३१ वर्षीय सुरेश तामाङ रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । उनले भने, ‘कमला गौतमले घाँटीमा लगाएको एक तोलाको सुनको सिक्री गत साउन २१ गते बिहान लोकन्थलीको बस स्टपमा अपरिचित व्यक्तिले लुटपाट गरी फरार भएको घटनाको अनुसन्धानका क्रममा हाम्रो टोली र अपराध शाखा ठिमी भक्तपुरबाट खटिएको प्रहरीले निज तीनजनालाई भक्तपुरको कौशलटारबाट पक्राउ गरेको हो ।’ पक्राउ परेका अनिलकुमारमाथि यसअघि विसं २०७१ जेठ १ गते प्रहरी वृत्त गौशालाबाट, गणेशमाथि प्रहरी वृत्त नयाँ बानेश्वरबाट तीनपटक र सुरेशमाथि प्रहरी वृत्त बौद्धबाट एकपटक तथा प्रहरी वृत्त गौशालाबाट तीनपटक अभद्र व्यवहार मुद्दा चलेको खुल्न आएको सूचना अधिकारी आचार्यले बताए । पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त ठिमी, भक्तपुर पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
इलामका किसान ‘ड्रागनफ्रुट’ मा आकर्षित
इलाम । इलाममा किसान ‘ड्रागनफ्रुट’ (सिउँडी) खेतीप्रति आकर्षित हुँदै गएका छन् । मनग्य आम्दानी हुने भएपछि परम्परागत खेती छाडेर उनीहरु व्यावसायिक ड्रागनफ्रुट खेती गर्न थालेका हुन् । इलामको चुलाचुली गाउँपालिका-३ पेल्टीमारीका किसान प्रवीण लिम्बूले ड्रागनफ्रुट खेतीबाट वार्षिक १२ लाख रुपैयाँ आम्दानी गरेका छन् । एक बिगाहा जग्गामा लगाइएका ३ हजार बिरुवाबाट उनले फल बेचेर ८ लाख र बिरुवा बिक्रीबाट ४ लाख रुपैयाँ आम्दानी गरेका हुन् । ‘यस वर्ष बिरुवा हलक्क बढेकाले उत्पादन अझ बढ्नेछ, जसबाट आम्दानी बढ्ने अपेक्षा गरेको छु’, उनले भने । उद्यमी लिम्बूले आफ्नै ठाउँमा बसेर गुणस्तरीय ड्रागनफ्रुटको फल र बिरुवा उत्पादन गर्दै आएका छन् । तीन वर्षअघि ‘भिलेज एग्रो फार्म’ दर्ता गरी सुरु गरेका उनले मलेसियन प्रजातिको रातो ड्रागनफ्रुट रोपेका छन् । आफूले उत्पादन गरेका ड्रागनफ्रुट र बिरुवाको बजारीकरणमा समस्या नभएको उनको भनाइ छ । ‘उत्पादन गरेको फल बिक्दैन कि भन्ने चिन्ता छैन, फल किन्न झापाका व्यापारी बगानमा नै आउँछन्’, उनले भने, ‘बगानबाट प्रतिकलोग्राम दुई सयदेखि ३ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।’ उत्पादित बिरुवा गाउँपालिका, वडा कार्यालय, स्थानीय फार्म तथा किसानले नै खरिद गर्ने गरेको उनी बताउँछन्। सुरुमा परीक्षणका लागि केही बिरुवा रोपेका उनले त्यसैलाई नै व्यावसायिक रुपमा सुरु गरेका हुन् । अहिले लिम्बूको व्यावसायिक ड्रागनफ्रुट खेतीले पाँच जनाको परिवारलाई स्वरोजगार बनाएको छ । राम्रो आम्दानी हुने भएपछि चुलाचुली गाउँपालिका–२ का अर्का किसान माइतराज लिम्बूले पनि व्यावसायिक ड्रागनफ्रुट खेती थालेका छन् । उनले ६ कठ्ठा जमिन भाडामा लिएर चार सय बोट ड्रागनफ्रुट रोपेका छन् । उनले ‘छथरे ड्रागनफ्रट कृषि फार्म’ दर्ता गरी व्यावसायिक ड्रागनफ्रुट खेती सुरु गरेका हुन् । ‘मैले ड्रागनफ्रुट खेतीबाट वार्षिक दुई लाख ५० हजार रुपैयाँ आम्दानी गर्दै आएको छु’, उनले भने, ‘अन्य परम्परागत खेतीको तुलनामा मेहनत कम र फाइदा पनि बढी हुनेरहेछ ।’ ड्रागनफ्रुट खेती इलामको चुलाचुलीसहित माई नगरपालिका, रोङ गाउँपालिका, माइजोगमाई गाउँपालिका र इलाम नगरपालिकाको तल्लो क्षेत्रमा खेती विस्तार हुँदै आएको छ । एकपटक बिरुवा लगाएपछि समय–समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य गोडमेल गर्नु नपर्ने र रोपेको दुई वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्य खेतीको तुलनामा यसको खेतीबाट राम्रो आम्दानी लिन सकिने लिम्बूले बताए । ड्रागनफ्रुटका लागि उष्ण क्षेत्र उत्तम मानिन्छ । यसको खेती दक्षिण मोहडा भएको प्रशस्त घाम लाग्ने र समुद्री सतहबाट एक हजार पाँच सय मिटर उचाइसम्म भएको जमिनमा गर्न सकिन्छ । यो फल वार्षिक ५० देखि एक सय ५० सेन्टिमिटर वर्षा र २० देखि ३० डिग्री सेल्सियस तापक्रम हुने ठाउँमा खेती गर्दा धेरै लाभ लिन सकिन्छ । नेपालमा यो फललाई सिँचाइ भएको ठाउँ तराई, भित्री मधेस र मध्यपहाडी क्षेत्रमा खेती गर्न सकिने कृषिविज्ञहरू बताउँछन् ।