साउनको पहिलो सोमबार पशुपतिमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार । काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनहरुको भीड लागेको छ । काठमाडौंको पशुपतिनाथमा बिहानैदेखि भक्तजनहरुको भीड देख्न सकिन्छ । साउने सोमबारको पूजाआज गर्न आएका दर्शनार्थीका लागि बिहान साढे ३ बजेदेखि नै चारै ढोका खुला गरेर भक्तजनलाई दर्शन गराइएको छ । दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानी लगायत व्यवस्थापन गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । साउन महिना र सोमबार भगवान शिवजीको महिना र वार भएकाले पनि यस अवसरमा धेरै भक्तजनको भीड लाग्ने गर्छ । साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोल बम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्दछ । बोल बम यात्रा गरी सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा चढाउने चलन छ । काठमाडौं उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किराँतेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वर लगायतका शिवालयमा भक्तजनहरु बिहानैदेखि स्नान गरी महादेवको पूजाआराधनामा व्यस्त छन् ।  

रन्जना ट्रेड सेन्टरले बिक्रीमा राख्यो तीनवटै सिनेमा हल, मासिक १५ लाख रुपैयाँ भाडा

काठमाडौं । रन्जना ट्रेड सेन्टर प्रालिले सिनेमा हल बिक्रीमा राखेको छ । काठमाडौंको न्यरोडस्थित रहेको रन्जना ट्रेड सेन्टरले आफ्ना तीन वटा सिनेमा हल भाडामा बिक्री गर्ने भएको हो । रन्जना सिनेप्लेक्स प्रालिको सञ्चालक समितिको निर्णय बमोजिम रन्जना ट्रेड सेन्टर भवनमा रहेका ३ वटा सिनेमा हल भाडामा दिने भएको हो । भाडामा लिई संचालन गर्न ईच्छुक कम्पनीले १५ दिनभित्र गोप्य शिलवन्दी बोलपत्र पेस गर्न आग्रह गरेको छ । उक्त तीनवटा हल रन्जना ट्रेड सेन्टर भवनको पाँचौं र छैटौं तल्लामा छन् । कम्पनीका अनुसार हल नं. १ को सिट क्षमता २५१, हल नं. २ को सिट क्षमता ११८ र हल नं. ३ को सिट क्षमता १६४ रहेको छ । हलको न्यूनमत मासिक भाडा १५ लाख रुपैयाँ तोकिएको छ । साथै हल जे जस्तो अवस्थामा छ, सोही अवस्थामा भाडामा लगाइने कम्पनीले जनाएको छ । रितपूर्वक प्राप्त बोलपत्र १६औँ दिनको १२ बजेसम्म खोलिने छ । मासिक भाडा रकमको १० प्रतिशत प्रतिशनले हुन आउने रकम रन्जना सिनेप्लेक्स प्रालिको नाममा रहेको प्रभु बैंकमा जम्मा गर्नुपर्नेछ । साथै कम्पनीले भूमिगत तल्ला १ र तल्ला २ मा रहेको पार्किङ पनि भाडामा दिने भएको छ । उक्त सवारी पार्किङस्थल मासिक १५ लाख रुपैयाँमा भाडामा दिने भएको हो ।

त्रिशूलीमा बेपत्ता बस चालकका छोराछोरीको शिक्षाको जिम्मा वीरगञ्ज महानगरले लिने

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सिमलताल पहिरोमा परी हराइरहेका एन्जल बसका चालक जवाहीर महतोका तीन जना छोराछोरीको अध्ययनको सम्पूर्ण जिम्मेवारी लिने भएको छ । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बुधबार एन्जल बसका चालक जवाहीर महतोको परिवारसँग भेट गरी सो जिम्मेवारी लिने बताएका हुन् । ‘बालबालिकाको अध्ययनको सम्पूर्ण जिम्मेवारी महानगरले लिनेछ,’ नगरप्रमुख सिंहले भने, ‘जवाहीरको परिवारको जीविकोपार्जनका लागि आवश्यक व्यवस्था मिलाउन महानगरले योजना बनाएर कार्यान्वयन गर्नेछ ।’ जवाहीरका एक छोरी र दुई छोरा छन् । महतोले चलाएको बागमती प्रदेश ०३ ०१–०० ख १५१६ नम्बरको एञ्जल डिलक्स रात्रिबस गत शुक्रबार बिहानीपख भरतपुर महानगरपालिका– २९, सिमलतालनजिकै पहिरोमा परेर त्रिशूली नदीमा खसेको थियो । नगर प्रमुख सिंहले आजै एन्जल बसमा सवार भएर दुर्घटनामा परेका अन्य परिवारका सदस्यलाई पनि भेट गर्दै महानगर पीडित परिवारको साथमा रहेको बताए ।