खेल खेल्न अरुलाई पनि प्रेरित गर्नुस् : मेयर साह
काठमाडौं । तीन दिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट शुरु भएको छ । काठमाडौंको दशरथ रंगशालामा आजबाट तीन दिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा करिव ३२ सय जना विद्यार्थीहरुले सहभागीता जनाएको काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले बताए । उनले यो संख्यालाई आगामी दिनमा बढाएर १० हजारले भाग लिनसक्ने आकर्षण बिन्दु बनाउन विद्यार्थीहरुलाई आग्रह गरे । मेडल ल्याउनु ठूलो कुरा नभएको भन्दै अरुलाई पनि इन्स्पायर बनएर आफूसँगै खेल्ने बनाउनु ठूलो कुरा रहेको बताए । ‘आजबाट शुरु हुने तीन दिने राष्ट्रपति रनिङ शिल्डमा अहिले ३२ सय जना विद्यार्थीहरुले भाग लिनुभएको छ । मेडल ल्याउनु ठूलो कुरा होइन, अरुलाई पनि इन्स्पायर बनएर आफूसँगै खेल्ने बनाउनु ठूलो कुरा हो । भोलिका दिनमा वल्र्डकप ल्याउनुस्, ओलम्पिक जित्नुस् भनेर म भन्दिनँ । त्यो प्रेसर दिन चाहन्न । तपाईहरुले आफूसँगै अरुलाई इन्स्पायर गर्नुस्’, उनले भने । मेयर साहले वल्र्डकप र ओलम्पिक जित्नुस् भन्ने दबाब आफूले नदिने बरु आफूसँगै अरुलाई पनि खेल्न प्रेरित गर्न आग्रह गरे ।
किक बक्सिङ प्रतियोगितामा नेपालका शेर्पाले जिते स्वर्ण पदक
काठमाडौं । नेपालले किक बक्सिङ प्रतियोगितामा स्वर्ण पदक जितेको छ । नेपालका लागि निमा साङ्गे शेर्पाले उक्त प्रतियोगितामा स्वर्ण पदक जितेका हुन् । शेर्पाले प्रतियोगिताको पहिलो राउन्डमा भारत, दोस्रो राउन्डमा थाइल्यान्ड र तेस्रो राउन्डमा बंगलादेशलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । प्रतियोगिता १२ विभिन्न देशहरूको खेलाडीहरुको सहभागिता रहेको थियो । ग्रान्ड बक्सिङ हब नेपालद्वारा आयोजना गरिएको उक्त प्रतियोगिताको स्पोन्सर हेल्पि ह्यान्डस रहेको थियो । बालबालिकादेखि नै खेलकुदमा लागेका शेर्पाले यसअघि पनि निकै प्रतियोगिताहरु जितिसकेका छन् । गुरु राम महर्जनको सहयोगले नै आफुले खेल जित्न सकेको शेर्पा बताउँछन् । उक्त खेलको लागि शेर्पाको स्पोन्सर एनआइसी एकेडेमी र सप्तगण्डकी एकेडेमी रहेको थियो ।
डीएभी कलेजको आयोजनामा फुटसल प्रतियोगिता हुँदै, विजेतालाई ३ लाख नगद
काठमाडौं । डीएभी कलेजको आयोजनामा फुटसल प्रतियोगिता हुने भएको छ । खेलकुदका माध्यमबाट विद्यार्थीहरूमा अनुशासन मित्रता तथा सहअस्तित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले ललितपुरको जावलाखेलमा अवस्थित डीएभी. कलेज (प्लस टु) ले उपत्यकाव्यापी पाँचौँ फुटसल प्रतियोगिता माघ १३ गते आयोजना गर्ने भएको छ । कलेजका प्रिन्सिपल सुमन बस्नेतका अनुसार आफ्नै फुटसल मैदानमा सञ्चालन हुने उक्त देशकै सर्वाधिक धनराशिको प्रतियोगितामा विजेता टिमलाई ३ लाख नगद रुपैयाँ, ट्रफी तथा प्रमाणपत्र र उपविजेता टिमलाई २ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने जनाएका छन् । साथै, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक तथा उत्कृष्ट खेलाडीलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिने जानकारी दिएका छन् । ऐतिहासिक रूपमा सञ्चालन गरिने उक्त प्रतियोगितामा सुरुमा दर्ता हुने उपत्यकाका ३२ वटा टिमलाई मात्र सहभागी गराइने कलेजले जानकारी गराएको छ ।