धनगढीमा अत्याधिक गर्मी, वायु तापक्रम ४० दशमलब आठ डिग्री सेल्सियस मापन

काठमाडौं । कैलाली र कञ्चनपुरलगायत तराईका जिल्लामा केही दिनदेखि दैनिक तातो हावा (लु) चल्न थालेसँगै बढेको गर्मीले जनजीवन प्रभावित हुन थालेको छ । अहिले ‘प्रि मनसुन’ को समय चलिरहेकोले बढी गर्मीको महसुस भएको कैलाली अत्तरियास्थित जलवायु विज्ञान विभागको महाकाली बेसिन फिल्ड कार्यालयले जनाएको छ ।  कार्यालयका जलवायु विज्ञ सञ्जय साहले गर्मी बढ्दै जाँदा धनगढीको अधिकतम् तापक्रम आज यो वर्षकै सबैभन्दा बढी ४० दशमलब आठ डिग्री सेल्सियस मापन भएको जानकारी दिए । सोमबार धनगढीको अधिकतम् तापक्रम ३९ डिग्री सेल्सियस मापन भएको थियो ।  ‘प्रि मनसुनले तातो हावासहितको हुरी चल्ने, असिनापानी पर्ने आफ्नो लक्षण देखाउँदा गर्मी पनि बढेको हो, अझैँ तापक्रम बढ्नसक्ने हुनसक्छ,’ उनले भने ।  मनसुन भित्रिन अझैँ डेढ महिनाको समय बाँकी छ । गर्मी बढेसँगै धनगढी क्षेत्रमा छिनछिनमा विद्युत् आपूर्ति अवरुद्ध भइरहने समस्या पनि बढेको छ । गर्मीसँगै कैलालीसहितका जिल्लामा आगलागिका घटना पनि बढ्न थालेका छन् ।  धनगढी निवासी सुभाश चौधरीले वैशाख महिनामै यति चर्को गर्मी महसुस पहिलो पटक भएको अनुभव सुनाए ।  उनले भने, ‘वैशाख महिनामै यति चर्को गर्मी छ, जेठ महिनाको गर्मीले तराईमा बस्न सकिँदैन जस्तो छ, जलवायु परिवर्तनको असरका कारण गर्मी बढेको हुनसक्छ ।’

नेपाली सर्टफिल्म ‘पाउलो’ चीनको स्मलरीग अवार्डको नोमिनेशनमा

काठमाडौं । नेपाली सर्टफिल्म ‘पाउलो’ चीनको प्रतिष्ठित स्मलरीग अवार्डको नोमिनेशनमा परेको छ । विश्वभरबाट प्राप्त ३ हजार ७९१ चलचित्रहरुमध्ये छानिएका ९८ सर्टलिस्ट फिल्ममध्ये २० उत्कृष्ट सर्टफिल्ममा ‘पाउलो’ पनि पर्न सफल भएको हो । चीनको सेन्जेन सहरमा मे २३ देखि २५ सम्म आयोजना हुने स्मलरीग अवार्डमा ‘पाउलो’ प्रदर्शन पनि हुनेछ । जुत्ताको कथालाई केन्द्रमा राखिएको यस लघुचलचित्रले परिवारविहीन सडक बालकको मार्मिक जीवनलाई चित्रण गर्छ, जसमा ‘जुत्ता’ नै कथा अगाडि बढाउने प्रमुख पात्रको रूपमा प्रस्तुत गरिएको छ । यसअघि पनि ‘पाउलो’ भारत, अमेरिका, बेलायत, रसिया, जिम्बावे लगायतका थुप्रै अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भइसकेको छ । सीएमएस इन्टरनेशनल चिल्ड्रेन्स फिल्म फेस्टिभल (भारत), अथेन्टिक ग्लोबल फिल्म अवार्ड (अमेरिका), लाइट अफ द वर्ल्ड (रसिया), भर्सिटी फिल्म एक्स्पो (जिम्बावे) लगायतका महोत्सवहरूमा सहभागिता जनाइसकेको छ । साथै, छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विशेष स्क्रिनिङ पनि भइसकेको छ। मोहन अभिलाषीको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘पाउलो’ को छायांकन नारायण जिसीले, सम्पादन अनिल महर्जनले, र कास्टिङ डिरेक्शन रेनुका कार्कीले गरेका हुन् । चलचित्रमा प्रशान्त हुमागाईँ, मोहन श्रेष्ठ, सुवास सिलवाललगायत कलाकारहरूको अभिनय छ । ब्ल्याक हर्स कम्पनीले प्रायोजन गरेको यस चलचित्र ऐना आर्ट्सको प्रस्तुति हो । निर्देशक अभिलाषी यसअघि घुर्रा, द स्कूल वाल, एक जोर जुत्ता लगायतका फिल्ममार्फत विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय अवार्ड जितिसकेका छन् ।

एनआरएनएलाई विवादरहित बनाउन लागिपरेका छौं : पूर्वअध्यक्ष शेष घले

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष एव एकता महाधिवेशन उच्चस्तरीय मूल समितिका संयोजक शेष घलेले संस्थालाई कसरी विवादरहित बनाउने भन्ने प्रणालीको विकास नै गरेर अगाडि बढेको जनाएका छन् । एनआरएनको आगामी मे ३ देखि ५ मा एकता महाधिवेशन हुँदैछ । त्यसैको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले सो बताएका हुन् ।  विवादरहित निर्वाचन गर्ने अदालतको आदेश भएकाले त्यसअनुसार अहिले समिति गठन भएर लागिपरेको घषेको भनाइ थियो । उनले भने, ‘हामीले विवादरहित निष्पक्ष ढंगबाट कार्य गर्नु भन्ने अदालतबाट परमादेश पाएकाले नियम, कानुनअनुसार संस्थालाई कसरी सुधार गर्न सकिन्छ भन्ने विधि अहिलेको अधिवेशनमा लागू गर्दैछौं र त्यसलाई स्थायी रूपमा संस्थामा विधानको रूपमा लागू गर्ने तयारी गरेका छौं ।’ त्यस्तै, घलेले एनआरएनलाई नयाँ ढंगबाट सुरु गर्ने र पुरानोमा नफर्किने विचार व्यक्त गरेका छन् । उनले नयाँ एनआरएनए कस्तो हुनुपर्छ भन्ने क्लियर भिजन पनि देखिसकेको बताए ।  आगामी एकता अधिवेशनको लागि डेढ महिनाको अवधिमा ६० हजार भन्दा बढी सदस्य जोडिसकेको हुनाले यसलाई सकारात्मक लिनुपर्ने उनी बताउँछन् । सदस्यमा आधारित संस्था भएकाले सदस्यको हक, हीतअनुसार नै समितिले सदस्य शुल्कदेखि हरेक कुरामा सबैलाई एक्सेस हुने तरिकाले व्यवस्था गरेको पनि उनले जानकारी दिए । विगतमा संस्था विभिन्न विवादबाट गुज्रिएपनि यसपटक निर्वाचनलाईए निष्पक्ष बनाउनमा लागेका उनले बताए । त्यस्तै, अदालतको आदेशअनुसार तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले समिति त्यसमै केन्द्रित भएको र यसमा सबैजनाले सहयोग गर्न समेत घलेले अपिल गरे ।