यी तीन प्रदेशमा भारी वर्षा हुने, सडक र हवाई यातायातमा प्रभाव पर्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । आज देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेशलगायत देशको पहाडी भू-भागका केही स्थानहरू र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको समेत  सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफादेखि आंशिक बदली रहनेछ ।  कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मेघगर्जन र चट्याङ्ग, वर्षा लगायत हिमपातका कारण कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

भाटभटेनी समूहको स्वामित्वमा रहेको ललितपुर सिटी लिग चरणमा ‘अजेय’

काठमाडौं । लगातार दोस्रो उपाधिका निम्ति दृढ ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) २०२५ को लिग चरण शीर्ष स्थानमा रहँदै टुंग्याएको छ । भाटभटेनी समूहको स्वामित्वमा रहेको ललितपुर सिटी एफसीले एनसेल एनएसएल २०२५ को लिग चरणमा पहिलो स्थान सुरक्षित गर्दै अपराजित यात्रा कायमै राखेको छ । लिग चरणका ६ खेलमा ललितपुर सिटीले १० गोल गरेको थियो भने उसका प्रतिद्वन्द्वीहरूले सिटीमाथि ६ गोल गरेका थिए । लिग चरणमा ६ खेल खेलेको ललितपुर सिटी एफसीले तीन जित र तीन बराबरीसहित १२ अंक जोडेको छ । जारी प्रतियोगिताका सहभागी सात टिममध्ये ललितपुर नै लिग चरणमा सबैभन्दा धेरै अंक जोड्ने टोली हो । यो उत्कृष्ट प्रदर्शनले क्लबको निरन्तरता, रणनीति र जुझारुपनलाई प्रतिबिम्बित गर्ने क्लबको धारणा छ । एनएसएल–२०२३ को विजेता ललितपुर सिटी एफसी अब प्लेअफमा प्रवेश गर्दै दोस्रो उपाधि जित्ने लक्ष्यका साथ अघि बढेको छ । भाटभटेनी समूहको सशक्त नेतृत्व र प्रतिबद्धताको साथ पाएको क्लबले खेलाडी विकास, प्रशिक्षक टोली र समुदायसँगको सम्बन्धमा निरन्तर लगानी गर्दै आएको छ, जसले नेपाली फुटबलमा नयाँ मापदण्ड स्थापित गरेको छ । अपराजित, अडिग, अविरल रहँदै प्रतियोगितामा अघि बढिरहेको ललितपुर अब उपाधिमा केन्द्रित छ । लिग चरणमा अपराजित रहँदा ललितपुर प्रतियोगितामा ‘अजेय टोली’को रूपमा उदाएको छ । यो निरन्तरता र साहसी प्रदर्शन क्लबको एकाग्रता, परिपक्व रणनीति र ‘टिम फर्स्ट’ मानसिकताकै कारण सम्भव भएको क्लबले जनाएको छ । एनएसएल–२०२३ को विजेतासमेत रहेको क्लबले आत्मविश्वास, उत्साह र कुशलतासाथ प्लेअफमा पाइला अघि बढाउँदा सम्पूर्ण देशभरिका फुटबल समर्थकलाई प्रेरणा दिइरहेको छ । क्लबको यो अपराजित लयमा प्रायोजक तथा साझेदारहरूको मुख्य भूमिका रहेको क्लबले जनाएको छ । क्लबलाई एनएसएल–२०२५ मा प्रभु बैंकले मुख्य प्रायोजन गरेको छ । यस्तै, पावर्ड बाइमा एनसेल रहँदा, मुख्य साझेदारमा बीवाईडी छन् भने सह–साझेदारहरूमा पेप्सी, स्मार्ट एन्ड ह्यान्डसम, अल आउट, युनाइटेड अजोड इन्स्योरेन्स र फ्रुट जेम्स रहेका छन् । क्लबले यी सबैलाई केवल प्रायोजकको रूपमा मात्र नभई फुटबलको शक्ति र नेपाली खेलमा गर्वको भावना जगाउने विश्वासका साझेदारका रूपमा मानेको छ । भाटभटेनीले फुटबल मात्र नभई अन्य खेल र खेलाडीलाई पनि प्राथमिकतासाथ सहयोग गर्दै आएको छ । भलिबलकी उषा भण्डारीलाई ब्रान्ड एम्बासडरको रूपमा सम्झौता गरिएको छ । यस्तै, टेनिसकी सिवानी गुरुङ, स्विमिङका ओलम्पियन शिरिष गुरुङ, नेपाली राष्ट्रिय बास्केटबलकी पूर्वकप्तान सदीना श्रेष्ठ, राष्ट्रिय महिला टिमकी मिडफिल्डर प्रीति राईसँग पनि खेल कौशल र व्यक्तित्व विकासका निम्ति भाटभटेनीले सहकार्य र सहयोग गर्दै आएको छ ।

३ घण्टा जाममा परेपछि मन्त्री दाहालले दाउन्नेमा चाँडो यातायात खुलाउन ठेकेदारलाई दिए निर्देशन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले हिलाम्य भएर राजमार्ग अवरुद्ध हुने क्रम बढेपछि दाउन्नेका ठेकेदारसँग छलफल गरेका छन् ।  शुक्रबार मन्त्री दाहालले सचिव, विभागीय प्रमुख, चिनियाँ ठेकेदार कम्पनी र परामर्शदाताबीच चितवनमा छलफल गरेको उनको सचिवालयले जनाएको छ ।  सचिवालयका अनुसार बिहीबार मन्त्री दाहाल महेन्द्र राजमार्गको स्थलगत अनुगमनका लागि बुटवल हुँदै चितवन फर्किएका थिए ।  फर्कने क्रममा करिब ३ घन्टा जाममा परेपछि उनले आज बिहान ठेकेदारसँग छलफल गरेका हुन् । मन्त्री दाहालले झरी पर्न सुरु हुन लागेकाले त्यसतर्फ ध्यान दिँदै वर्षाद् सुरु हुनुअघि नै निर्माण कार्य सकेर सवारी आवागमन सहज बनाउन निर्देशन दिएका हुन् । दाउन्ने सडकखण्डमा तत्काल सडक बनाउने र ग्राभेल थपेर यातायात सुचारु हुने व्यवस्था मिलाउने विषयमा चिनियाँ ठेकेदार सहमत भएको सचिवालयले जनाएको छ । अहिले दाउन्ने सडक हिलाम्य हुँदा यातायात अवरुद्ध भएको छ ।