शिक्षकहरू चढेको रात्रिबस दुर्घटना, १६ जना घाइते, एकको अवस्था गम्भीर

काठमाडौं । काठमाडौंबाट झापा आइरहेको प्रदेश १–०१–००१–ख४२ नम्बरको यात्रुबाहक रात्रिबस आज बिहान ५ः३० बजे झापाको शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको छ ।  जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलनकुमार केसीका अनुसार दुर्घटनामा  १६  जना यात्रु घाइते हुनुभएको छ । घाइतेको विर्तामोडस्थित विर्तासिटी हस्पिटल र बिएन्डसी हस्पिटलमा उपचार भइरहेको उनले बताए ।  दुर्घटनामा काठमाडौँमा जारी शिक्षक आन्दोलनबाट घर फर्किरहेका १६ जना शिक्षक घाइते हुनुभएको घाइतेमध्येका शिक्षक लीलाप्रसाद भण्डारीले जानकारी दिए । जसमध्ये शिक्षक गोपाल खतिवडाको अवस्था चिन्ताजनक रहेको छ । ‘म ड्राइभरको सिट पछाडि नै थिएँ’, घाइते शिक्षक भण्डारीले भने, ‘अघिदेखि नै गाडी अस्वाभाविक रूपमा हल्लिरहेको थियो । एक्कासि गाडी सडकबाट पल्टियो । मुस्किलले बाँचियो । गाडीबाट इन्धन पोखिरहेको देखेपछि घाइते अवस्थामै मैले अरू घाइतेलाई गाडीबाट छिटोछिटो उद्धार गरेर बाहिर निकालेँ ।’ बस अनियन्त्रित भई दुर्घटना भएको र बसका चालक महेन्द्र कन्दङ्वालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए । घटनालगत्तै झिलझिले इलाका प्रहरी कार्यालय टोली घटनास्थलमा पुगेको समेत उनले बताए । 

भूकम्प गएको एक दशकमा पनि अझै सकिएन साततले दरबारको पुनःनिर्माण

त्रिशूली (नुवाकोट) । गोरखा भूकम्पको १० वर्षपछि पनि भूकम्पबाट क्षतिग्रस्त नुवाकोटको दुर्गरत्न (साततले दरबार)सहित आसपासका धार्मिक एवं पुरातात्विक सम्पदाको पुनःनिर्माण अझै पूरा भएको छैन ।  पुनःनिर्माणको जिम्मेवारी पाएको चिनियाँ पक्ष कार्यक्षेत्रमा फर्कन ढिलो गरेपछि भूकम्पले क्षति पुर्‍याएको १० वर्षमा बल्लतल्ल पुनःनिर्माण अघि बढाइएको छ ।      नेपाल सरकारसँग भएको सम्झौताअनुसार पुनःनिर्माणको जिम्मेवारी पाएको चिनियाँ टोली यतिबेला विदुर नगरपालिका- २ मा अवस्थित कार्यक्षेत्रमा फर्किएर पुनःनिर्माण सुरु गर्नुपूर्वको तयारीमा खटिएको छ । साततले दरबारसहित यहाँका धार्मिक, सांस्कृतिक एवं पुरातात्विक संरचनाको प्राविधिक आवश्यकताअनुसार जीर्णोद्वार, पुनःनिर्माण, प्रवलीकरण र संरक्षणको काम अघि बढाइएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख सुनील पाण्डेले बताए ।  उनका अनुसार दरबारसहितको संरचनाको पुनःनिर्माणका लागि नेपाल सरकार र पुरातत्व विभागसँग भएको सम्झौताअनुसार चिनियाँ पक्षबाट पुनःनिर्माणपूर्वको काम भइरहेको छ ।      'दरबार पुनःनिर्माणको काममा लक्ष्यअनुसार प्रगति नभए पनि अहिले भने काम तीव्र गतिमा अघि बढाइएको छ,'  प्रमुख पाण्डेले भने, 'गत भदौदेखि कार्यक्षेत्रमा आएको चिनियाँ प्राविधिकसहितको कामदारले काम सुरु गरेका छन् ।'      भूकम्पले क्षति पुर्‍याएका संरचना पुनःनिर्माणमा सहयोग पुर्‍याउने कार्यक्रमअन्तर्गत नुवाकोटको साततले दरबारसहित यहाँका धार्मिक तथा पुरातात्विक महत्वका विभिन्न आठ वटा संरचनाको जीर्णाेद्वार पुनःनिर्माण एवं प्रवलीकरण गर्ने जिम्मेवारी चीन सरकारले लिएको छ । चिनियाँ पक्षले दरबारको पुनःनिर्माणका लागि चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजलाई पठाएको छ ।      दुई देशबीच भएको समझदारीअनुसार पुरातत्व विभाग र निर्माणको जिम्मेवारी पाएको चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजबीच विसं २०७६ जेठमा भएको सम्झौताअनुसार ४५ महिनाभित्र काम सम्पन्न गर्ने उल्लेख गरिएको थियो । नयाँ सम्झौतामार्फत पुनःनिर्माण अघि बढाउन चिनियाँ पक्ष सकारात्मक भएपछि हाल काम सुरु गरिएको हो । यद्यपि थप अवधि उल्लेख गरिएको छैन ।  पूर्ववत समझदारीअनुसार नै काम सुरु गरेको ४५ महिनाभित्र पहिलो चरणको काम सम्पन्न गर्ने चिनियाँ पक्षले जनाएको छ । पहिलो चरणअन्तर्गत साततले दरबार र तुलजा भवानीको मन्दिरको पुनःनिर्माण सम्पन्न गर्ने लक्ष्य छ ।  चिनियाँ प्राविधिकहरुको अध्ययनअनुसार दरबार र मन्दिर दुवैको जीर्णोद्वारमार्फत पुनःनिर्माण गर्ने तयारी छ । बाँकी अन्य गारदघर, रङ्गमहल, लामपाटी, शीतलपाटी, विष्णु र नारायण मन्दिरको पुनःनिर्माण, जीर्णोद्वार, प्रवलीकरण र संरक्षणका लागि प्राविधिक अध्ययनको काम भइरहेको छ । नेपाल एकीकरणको समयमा पृथ्वीनारायण शाहले विसं १८०१ असोज १५ मा नुवाकोटमाथि विजयी हासिल गरेसँगै नुवाकोटमा दुर्गरत्न (साततले दरबार) निर्माण गरेका थिए ।  काठमाडौं उपत्यका विजयी हुनुअघिसम्म पृथ्वीनारायण शाहले नुवाकोट दरबारमार्फत नै आफ्नो कामकाज सञ्चालन गर्दै आएको इतिहासमा उल्लेख छ । दरबारलाई नै उनले राज्यको मुख्य प्रशासनिक केन्द्र बनाई देशको राजधानीका रूपमा नुवाकोट रहेको उल्लेख थियो ।      उक्त ऐतिहासिक दरबारसहितको संरचना विसं २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएको थियो । दरबारसहितको संरचना पुनःनिर्माणको जिम्मा लिएको चिनियाँ पक्षले विसं २०७६ असारदेखि काम सुरु गर्न कार्यक्षेत्रमा आए पनि उक्त समयमा थप क्षति हुन नदिन खट बनाई (टेको दिएर) फर्किएको थियो ।       हाल नुवाकोट दरबार र दरबारसँगै रहेको लिच्छविकालीन तुलजा (तलेजु) भवानीको मन्दिरको प्रवलीकरण अघि बढाइएको छ । 

जब चलचित्र हेरिरहँदा दर्शकले आक्रोश व्यक्त गरे...

काठमाडौं । केही समययता चलचित्र भवन पुगेर दर्शकको प्रतिक्रिया लिने क्रम बढिरहेको छ । चलचित्र प्रदर्शन भइरहेको समयमा निर्माता र निर्देशक नै कलाकारसहित मिडियाकर्मी लिएर चलचित्र भवन पुग्ने गरेका छन् । दर्शकले दिएको प्रतिक्रियाले चलचित्रको व्यापार बढ्ने अपेक्षासहित पछिल्लो समय यसले निरन्तरता पाएको छ ।  तर, केही दिन अगाडि एक दर्शकले यस्तो शैलीप्रति आपत्ति जनाए । उनले चलचित्र भवनभित्र चलचित्र हेरिरहँदा क्यामेरा नल्याउन सुझाव दिँदै आक्रोश व्यक्त गरे । त्यसपछि चलचित्र भवनमा दर्शक प्रतिक्रिया लिन जाने कि नजाने भन्ने विषयमा बहस चल्न थालेको छ । यस्तो शैली प्रदर्शक अर्थात् चलचित्र भवन सञ्चालकलाई पनि मन परेको छैन । तर यसलाई निर्माताले ‘पब्लिसिटीको पार्ट’ भनेपछि प्रदर्शकले केही गर्न सकेका छैनन् । निर्देशक निश्चल बस्नेतले दर्शकलाई भेट्न कलाकार जानु गलत नरहेता पनि गोपनीयताका बारेमा सचेत हुनु जरुरी रहेको बताए । अहिलेको शैलीमा परिमार्जन गरेर दर्शक प्रतिक्रिया लिन सकिने उनको भनाइ छ ।  उनले भने, ‘हाम्रो चलचित्र हेर्न आएका दर्शकलाई भेटेर हाम्राबारेमा गरिएका समीक्षा धेरै ठाउँमा पुगोस् भनेर चलचित्र भवन पुग्ने गरेका छौँ । यदि हाम्रो त्यही कुराले दर्शकलाई असर गरेको छभने हामी सचेत हुनुपर्छ, किनकि दर्शक दुःखी बनाएर चलचित्रकर्मी खुसी हुन सक्दैनौँ ।’  उनले आफ्नो पहिलो चलचित्र ‘लूट’ को समयमा आफूसहित अभिनेताद्धय सौगात मल्ल र दयाहाङ राई काठमाडौँका विभिन्न चलचित्र भवन डुलेको स्मरण गरे । ‘हामी उक्त समयमा कलाकार र निर्देशकमात्र दर्शक प्रतिक्रिया लिन पुगेका थियौँ । अहिले हामीसँग मिडिया र क्यामेरा पनि हुन्छ, सायद यसकारण दर्शकले प्रश्न गर्नुभएको हुनसक्छ । हामी यसमा सच्चिनु पर्छ,’ निर्देशक बस्नेतले भने ।  अभिनेत्री स्वस्तिमा खड्काले आफूले यसबारेमा निर्माता तथा निर्देशकसँग छलफल गर्ने गरेको बताइन् ।  उनले भनिन्, ‘हामी चलचित्र हेरि रहनुभएका दर्शकमाझ त्यतिकै पुग्दा चलचित्रमा असर गर्छ । हामी पर्दाभित्र एउटा भूमिकामा हुन्छौँ भने बाहिर भिन्न । त्यसकारण चलचित्र हेरेर निस्किने इच्छुक दर्शकले भेट्न मिल्ने वा प्रतिक्रिया दिन मिल्ने गरी हामी एउटा छुट्टै स्थान बनाएर बस्नुपर्छ जस्तो लाग्छ ।’  उनले दर्शकले पनि कलाकार भेटेर खुसी व्यक्त गर्ने र कलाकारलाई आफ्नो कामको प्रतिक्रिया सिधै प्राप्त हुने भएकाले यो गलत नै नभएको बताइन् ।  प्रदर्शक तथा वितरकहरूको छाता संस्था नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले यस विषयमा प्रदर्शकबीच सल्लाह भइरहेको बताए ।  ‘दर्शकको गुनासो हामीले पनि सुनिरहेका छौँ । निर्माण पक्षले यसलाई प्रचारप्रसार भनेपछि हामीले पनि सहजता दिएका हौँ । दर्शक पनि कलाकार भेट्दा खुसी नै भएको पाएका छौँ । अब यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्दैछौँ,’ उनले भने ।