प्रविधिको असर र बालमनोविज्ञान उठान गर्ने ‘झिल्को’ आजदेखि देशभर प्रदर्शनमा आउँदै

काठमाडौंं । प्रविधिको अनियन्त्रित प्रयोग, मोबाइल लत र बालबालिकाको मनोवैज्ञानिक अवस्थालाई कलात्मक ढंगले प्रस्तुत गर्ने नेपाली चलचित्र ‘झिल्को द स्पार्क’ आजदेखि देशभर प्रदर्शनमा आउँदैछ । बालमनोविज्ञान, पारिवारिक सम्बन्ध र सामाजिक संवेदनशीलता जस्ता विषयमा केन्द्रित यो चलचित्रले अभिभावक, शिक्षक र नीतिनिर्मातालाई पनि सोच्न बाध्य बनाउने अपेक्षा गरिएको छ । यसअघि काठमाडौंको आईएनआई सिनेमा, एनबी सेन्टरमा आयोजित भव्य प्रिमियर समारोहमा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्य रहेको थियो । उनले चलचित्रले उठाएको विषय सामाजिक दृष्टिले अत्यन्तै सान्दर्भिक रहेको बताउँदै ‘झिल्को’ जस्ता फिल्म बालबालिकाको मनोविज्ञान बुझ्न आवश्यक रहेको धारणा राखेकी थिइन् । फिल्ममा सुनिल पोख्रेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, आयुषी ढकाल, जेभिन जेभिस र जान्वी बस्नेतको अभिनय देख्न सकिन्छ । विशेषगरी आयुषी ढकालले निर्वाह गरेको बाल पात्रको भूमिकालाई दर्शकले अत्यन्त मन पराएका छन् । ‘मिडिया फर कल्चर प्रालि’ को ब्यानरमा निर्माण भएको यो चलचित्रको निर्देशन यादवकुमार भट्टराईले गरेका हुन् । कथा तथा पटकथा उनले अरुण देव जोशी र देव व्रतसँग सहकार्यमा तयार पारेका हुन् । निर्माण टिममा कार्यकारी निर्माता उमेश पौडेल तथा निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य रहेका छन् । छायाङ्कन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, साउन्ड मिक्सिङ श्याम कुँवर र उत्तम न्यौपानेले गरेका छन् ।  

भारतको किटविश्वविद्यालयमा फेरि अर्की नेपाली छात्राको आत्महत्या, को हुन् उनी ?

काठमाडौं । भारतको उडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा फेरि अर्की एक नेपाली विद्यार्थीले आत्महत्या गरेकी छन् । भारतीय सञ्चार माध्यमका अनुसार विश्वविद्यालयको छात्रावासमा उनी आत्महत्या गरेको अवस्थामा फेला परेकी हुन् । बीरगञ्जकी एक छात्रा बिहीबार साँझ केआईआईटीको छात्रावास ‘क्विन्स क्यासल-४’ (क्यूसी-४) को चौथो तलामा रहेको आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी हुन् ।  उनको नाम प्रिशा साह रहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । उनी केआईआईटीमा कम्प्युटर साइन्स विषयमा अध्ययनरत प्रथम वर्षकी छात्रा थिइन् ।  पन्देहीकी प्रकृति लम्साल गत फागुन ४ मा छात्रावासमा मृत भेटिएकी थिइन् । घटनाको विषयमा भारतीय प्रहरीले अनुसन्धान गरिरहेको बुझिएको छ । 

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेमश चौधरी पक्राउ, यस्तो छ कारण

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । उनी काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलबाट पक्राउ भएका हुन् ।  बुधबार जनमत पार्टी र नाउपाको पार्टी एकता घोषणा कार्यक्रम थियो । सोही कार्यक्रममा चौधरी पक्राउ परेका हुन् । नाउपाका सांसद अरुण चौधरीले रेशम चौधरी पक्राउ परेको जानकारी विकासन्युजलाई दिए । उनले रेशम पक्राउ पर्नुको कारणबारे पार्टीका नेताहरूलाई जानकारी नभएको बताए । रेशमलाई पक्राउ गरी डिल्लीबजार कारागार लगिएको छ ।  टीकापुर घटनाका मुख्य अभियुक्तका रूपमा कैद सजाय पाएका उनी राष्ट्रपतिको आममाफी पाएर कैदमुक्त भएका थिए । तर चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध टीकापुरमा भएको हिंसात्मक घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा कडायतले सर्वोच्चमा रिट दर्ता गराएकी थिइन् । सो रिटमा सर्वोच्चले आममाफीको फैसला उल्टाइदिएपछि रेशम पक्राउ परेको बुझिएको छ ।  एकता कार्यक्रम कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा कार्यक्रम आयोजना गरिएको छ ।