पछिल्लो राजनीतिक घटनाक्रम विशुद्ध आन्तरिक हो : उपाध्यक्ष भुसाल

काठमाडौं । पछिल्लो राजनीतिक समीकरण बनेसँगै राजनीतिक वृत्तमा विभिन्न प्रकारका प्रतिक्रिया सार्वजनिक हुँदै आएका छन् । सरकारको समीकरण बदलिएसँगै पछिल्लो राजनीतिक अवस्थाबारे नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वमन्त्री पम्फा भुसालसँग गरिएको संक्षिप्त कुराकानीको सम्पादित अंशः समीकरण परिवर्तनको विषयलाई लिएर विभिन्न टीकाटिप्पणी गरिएका छन्, पछिल्लो घटनाक्रमलाई कसरी लिनुभएको छ ?  पछिल्लो सत्ता समीकरण हाम्रो देशको नितान्त आन्तरिक विषय हो । यसमा कुनै बाह्य शक्तिको भूमिका छ भन्ने कुरा सोच्न पनि सकिन्न । सरकारभित्र आबद्ध भएका दलको कामको अप्ठ्यारोलाई ध्यानमा राखेर विकसित भएको घटना हो यो । नेपालमा हुने हरेक राजनीतिक घटनामा विदेशीलाई जोड्ने गरिन्छ, त्यो गलत हो । पछिल्लो राजनीतिक घटनाक्रम विशुद्ध आन्तरिक उपक्रम हो । यो नयाँ गठबन्धनले छिमेकी मित्रराष्ट्र तथा विश्व समुदायसँग अझै घनिष्ठ सम्बन्ध कायम गरी आफ्नो कामकारबाही अगाडि बढाउँछ । मित्रराष्ट्रसँगको सम्बन्ध अत्यन्त सुदृढ भएर जानेछ । छिटोछिटो समीकरण परिवर्तन रहँदा राजनीतिक अस्थिरता बढ्यो भन्ने टिप्पणी हुँदै आएको छ नि ? तत्कालका लागि केन्द्र र प्रदेशका सरकारमा केही फेरबदल हुँदा त्यस्तो देखिएला तर दीर्घकालमा यो एक प्रकारको सकारात्मक राजनीतिक ध्रुवीकरण हो । यसले राजनीतिमा दिगोपना ल्याउँछ । विगतमा भएको वाम ध्रुवीकरणलाई टिकाउन नसकिएको अवस्थालाई आत्मसात् गरी आत्मसमीक्षा र कमीकमजोरी सुधार गर्दै यो ध्रुवीकरण अगाडि बढ्छ र राजनीतिक स्थायित्वको दिशामा मुलुकलाई लैजान्छ । यो देशमा वाम धार बलियो भयो भने राजनीतिक स्थायित्व हुन्छ । त्यसैले तत्काल अस्थिरजस्तो देखिए पनि दीर्घकालमा यसले राजनीतिक स्थायित्व कायम गर्छ । पछिल्लो राजनीतिक समीकरण यो देशको लागि र राजनीतिक स्थिरताका लागि महत्वपूर्ण कदम हुनेछ । सत्ता समीकरणमा आएको बदलावबाट सङ्क्रमणकालीन न्यायका बाँकी कार्य पूरा गर्न अप्ठ्यारो पर्ने आशङ्का गर्न थालिएको छ, त्यस्तै हुने त होइन ?   शान्ति प्रक्रिया सबै राजनीतिक दल तथा मुलुककै साझा चासो, चिन्ता र सरोकारको विषय हो । त्यसैले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्छ । पुरानो गठनबन्धनमा शान्ति प्रक्रियालाई चाँडै तार्किक निष्कर्षमा पुर्‍याउने सहमति भएको थियो । हिजोको प्रमुख प्रतिपक्ष सत्तामा आउँदै गर्दा त्यसले अझै सहयोग पुग्छ भन्ने मलाई लाग्छ । यो राजनीतिक घटनाक्रमले शान्ति प्रक्रियालाई टुङ्ग्याउन मद्दत गर्नेछ तर कतिपयलाई वाम गठबन्धन मन नपरेर यसलाई भत्काउने कोसिस पनि हुन सक्छ । हाम्रा राजनीतिक दल तथा शीर्ष नेतृत्व आफैैँमा बढो परिपक्व छन्, जिम्मेवार छन् । विगतमा मौलिक ढङ्गले शान्ति प्रक्रियाका महत्वपूर्ण प्रक्रिया सम्पन्न हुँदै आएका हुन् । अब यसका बाँकी कार्यभार पनि सत्तापक्ष र प्रतिपक्ष मिलेरै पूरा गर्नेछन् । नेपालमा सधैँका निम्ति शान्ति सुनिश्चित गर्दै त्यसलाई दिगो बनाउने र त्यसैको जगबाट लोकतन्त्रलाई सुदृढ बनाउँदै समाजवादतर्फ जान सबै दल जिम्मेवारीपूर्वक लाग्नेछन्, लाग्नुपर्छ । मुलुकलाई राजनीतिरुपमा स्थायित्व दिन माओवादीले भूमिका खेल्न सकेन भन्ने टिप्पणीलाई कसरी हेर्नुहुन्छ ? गतिशीलता र अस्थिरतालाई मानिसले छुट्याउन नसकेर यसो भनिएको हो । माओवादी नै नेपालको सबैभन्दा गतिशील पार्टी हो । यही पार्टीको गतिशीलताले देशमा हालसम्मका ठूला–ठूला परिवर्तन भएका छन् । गणतन्त्र स्थापना भएको छ । राजनीतिक धार अग्रगतिमा बढेको छ । दिगो बनाउन माओवादीले निरन्तर नेतृत्वदायी भूमिका खेलेको छ । गतिशीलतालाई अस्थितरता देख्नु भ्रम हो । रासस

त्रिकोणात्मक टी-२० शृङ्खलाको उपाधि नेदरल्याण्ड्सलाई

काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेदरल्याण्ड्सले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हजारौ दर्शकलाई निशब्द बनाउँदै नेदरल्याण्ड्सले चार विकेटको रोमाञ्चक जित निकाल्यो । नेपालले प्रस्तुत गरेको एक सय ८५ रनको लक्ष्य नेदरल्याण्ड्सले १९ दशमलव तीन ओभरमा छ विकेटको क्षतिमा पूरा गर्‍यो । नेदरल्याण्ड्सको जितमा माइकल लेभिटले अर्धशतकीय पारी खेले । बिस्फोटक ब्याटिङ गरेका उनले २९ बलमा तीन छक्का र छ चौकाको सहयोगमा ५४ रन बनाए । म्याक्स ओ डाउडले २३ बलमा एक छक्का र दुई चौकाको सहयोगमा २२ रन बनाए । उत्कृष्ट सुरुआत गरेको नेदरल्याण्ड्सका लागि ओपनरद्वय लेभिट र ओ डाउडले पहिलो विकेटका लागि ८३ रनका साझेदारी गरे । नवौँ ओभरमा बलिङका लागि आएका कुशल मल्लले आफ्नो पहिलो ओभरमा दुई विकेट लिँदै नेपाललाई राहत दिलाए पनि त्यो जितका लागि पर्याप्त भएन । उनले नवौँ ओभरको पहिलो बलमा म्याक्स ओ डाउडलाई दीपेन्द्र सिंह ऐरीबाट क्याच आउट गराए भने सोही ओभरको पाँचौ बलमा माइकल लेभिटलाई कप्तान रोहित पौडेलबाट क्याच आउट गराउँदै पवेलियन फर्काए । नेदरल्याण्ड्सले एक सय ३४ रन छँदा तेस्रो विकेटका रुपमा विक्रम जित सिंहलाई गुमायो । सिंहले २३ बलमा तीन छक्कासहित २९ रन बनाए । साथै एक सय ४१ रन छँदा नेदरल्याण्ड्सले  कप्तान स्कट एडवार्डलाई गुमायो । एडवार्डले जम्मा दुई रन बनाए । नेदरल्याण्ड्सले एक सय ६६ रन बनाउँदा पाँचौ विकेटका रुपमा साइब्राण्ड एङ्गलब्रेक्टलाई गुमायो । एङ्गलब्रेक्टले २९ बलमा तीन छक्का र चार चौकाको सहयोगमा ४८ रनको योगदान दिए । साथै छैटौँ विकेटका रुपमा एक सय ७३ रन छँदा तेजा निदामानुरु दुई रनमा आउट भए । नेदरल्याण्ड्सको जितमा बलर टिम भान डेर गुग्टेन पाँच बलमा दुई छक्का र दुई चौकाको सहयोगमा २१ रनको योगदान दिए भने  रोलफ भान डर पर्व दुई बनाए । यी दुवै खेलाडी अविजित रहे । नेदरल्याण्ड्सका लागि ५४ रन र दुई विकेट लिएका लेभिट प्लेयर अफ दि म्याच घोषित भए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो । नेपालका लागि ओपनर आशिफ सेखले ३७ बलमा तीन छक्का र एक चौकाको सहयोगमा ४७ रनको योगदान दिए भने अर्का ओपनर कुशल भुर्तेलले २० रन बनाए । कप्तान रोहित पौडेलले २५ बनाए भने गुलशन झाले ३४ रनको योगदान दिए । दीपेन्द्र सिंह ऐरी एक रनमा आउट हुँदा कुशल मल्लले ११ बलमा तीन छक्काको सहयोगमा २६ रन बनाए । साथै करन केसीले नौ रन बनाउँदा आरिफ सेखले खाता खोल्न सकेनन् । पुच्छारका ब्याटरद्वय सोमपाल कामी र प्रतिस जिसीले समान छ/छ रन बनाए । नेदरल्याण्ड्सका लागि फ्रेड काल्सेन, टिम भान डेर गुग्टेन, माइकल लेभिट र  साइब्राण्ड एङ्गलब्रेक्टले समान दुईरदुई विकेट लिए । जारी शृङ्खलामा नेदरल्याण्ड्स पाँच अङ्कका साथ तालिकाको शीर्ष स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो भने नेपाल चार अङ्कका साथ फाइनलमा प्रवेश गरेको हो । चार खेलमा एक जित, दुई हार र एक ड्र गरी तीन अङ्क जोडेको नामिबिया तालिकाको पुच्छारमा रह्यो । शृङ्खलाको पहिलो खेलमा नामिबियाले नेपाललाई २० रनले पराजित गरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सले नेपाललाई दुई रनले पराजित गरेको थियो । साथै तेस्रो खेलमा नेदरल्याण्ड्सले नामिबियालाई ५९ रनले पराजिति गरेको थियो भने चौथो खेलमा नेपालले नामिबियाविरुछ तीन रनको रोमाञ्चक जित निकालेको थियो । साथै पाँचौ खेलमा नेपालले नेदरल्याण्ड्सलाई छ विकेटको सहज जित निकालेको थियो । त्यसैगरी नामिबिया र नेदरल्याण्ड्सबीचको खेल वर्षाले प्रभावित भएको थियो । रासस

नेपालले नेदरल्याण्ड्सलाई दियो १८५ रनको लक्ष्य

काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गत आज भएको फाइनलमा नेपालले नेदरल्याण्ड्ससामू एक सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ८४ रन बनायो । नेपालका लागि ओपनर आशिफ सेखले ३७ बलमा तीन छक्का र एक चौकाको सहयोगमा ४७ रनको योगदान दिए भने अर्का ओपनर कुशल भुर्तेलले २० रन बनाए । कप्तान रोहित पौडेलले २५ बनाए भने गुलशन झाले ३४ रनको योगदान दिए । दीपेन्द्र सिंह ऐरी एक रनमा आउट हुँदा कुशल मल्लले ११ बलमा तीन छक्काको सहयोगमा २६ रन बनाए । साथै करन केसीले नौ रन बनाउँदा आरिफ सेखले खाता खोल्न सकेनन् । पुच्छारका ब्याटरद्वय सोमपाल कामी र प्रतिस जिसीले समान छरछ रन बनाए । नेदरल्याण्ड्सका लागि फ्रेड काल्सेन, टिम भान डेर गुग्टेन, माइकल लेभिट र  साइब्राण्ड एङ्गलब्रेक्टले समान दुईरदुई विकेट लिए ।