वन कार्यालय परिसरमै गोलिया काठ सड्दै
फुङ्लिङ । डिभिजन वन कार्यालय ताप्लेजुङकको कार्यालय परिसरमा एक हजार ४०२ दशमलव ९१ क्युविक फिट गोलिया काठ सड्दै गएको छ । कार्यालयले दुई पटक लिलाम बिक्री गर्ने सूचना प्रकाशन गरे पनि कसैले खरिदका लागि चासो नदेखाएसँगै सो काठ काम नलाग्ने अवस्थामा पुगेको हो । कार्यालयका डिभिजनल वन अधिकृत बद्रीप्रसाद साहका अनुसार लिलाम बिक्रीका लागि दुई पटकसम्म सूचना प्रकाशित गर्दा पनि गोलिया बिक्री नभएको हो । लिलाम बिक्रीको प्रक्रियामार्फत गोलिया काठ बिक्री गर्न खोजे पनि कसैले खरिद नगरेको कार्यालयले जनाएको छ । बिक्री नभएपछि कार्यालय परिसरमा रहेको एक हजार ४०२ दशमलव ९१ क्युविक फिट गोलिया काठ काम नलाग्ने गरी सड्दै गएको उनले बताए । कार्यालयका अनुसार एक हजार ३७८ दशमलव ४४ क्युविक फिट उत्तिस र २४ दशमलव ४७ क्युविक फिट मलातो प्रजातिको काठ सड्दै गएको हो । करिब दुई वर्षअघि अवैधरूपमा कटान गरिएको अवस्थामा फेला पारी वन कार्यालयले काठ नियन्त्रणमा लिएको थियो । सडेको काठ प्रयोगमा नआउने र यसबाट राजस्व रकमसमेत गुमाउनुपर्ने अवस्था बनिरहेको वन कार्यालयले जनाएको छ ।
विकास र सुविधाले पनि रोकिएन बसाइँसराइ
गलेश्वर । घर अगाडीको सडकमा सवारी साधन गुडीरहन्छन् । सवारी साधनमा मानिस कम र खाद्यान्नलगायत अन्य उपभोग्य र निर्माण सामग्री बढी हुन्छन् । सडकबाट धेरै जसो घरमा ताल्चा लगाइएको र घरवरिपरि वनमाराको झाडी देखिन्छ । यो दृश्य पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ मा पर्ने दिच्याम गाउँको हो । यहाँका दिच्याम, निस्कोट, रुम, देविस्थानलगायत गाउँमा हिजोआज यस्तो दृश्य देखिन थालेको छ । करिब डेढ दशक अघिसम्म म्याग्दीका यी गाउँहरु रमाइला दखिन्थ्ये । गाउँघरमा वरपर, तल–माथि बस्ती बाक्लो थियो । सबै घरमा मानिस भरिभराउ हुन्थे । चाडपर्वमा गाउँमा छुट्टै रौनक र उल्लासमय वातावरण हुने गर्दथ्यो । साथीभाइको ठूलो जमघट हुने गर्दथ्यो । दसैँ तथा विभिन्न मेलामहोत्सवमा गाउँ भरिभराउ देखिन्थ्यो । तर अहिले अवस्था फेरिएको छ । ढुंगा र खरले छाएका, रातोमाटो र सेतो कमेरोलो पोतिएका चिटिक्कका घरहरू भत्किएर खण्डहरमा परिणत भएका छन् । फराकिलो आँगनमा पाती र बनमारा उम्रिएको छ । करेसाबारी स्याल र बाँदर लुक्ने झाडी बनेका छन् । घर नजिकै अमिलो, अम्बा, कागती र सुन्तलाका बोटहरु मलजल र स्याहार नपाएर सुक्न थालेका छन् । हिजोआज गाउँको स्वरूप बिग्रिएको छ । रमाइला गाउँहरु अहिले उराठिला बन्दै जान थालेका छन् । मलिका–६ का टेकबहादुर सिउथानीले भने, ‘संघीयताको मर्म अनुसार विकेन्द्रिकरणको नीति गाउँमा पुगेको छ । विकासका कारण विकट गाउँ सुगम बनेका छन् । पहरा फोरेर बनाइएका सडक हुँदै गाउँमा गाडी गुडेका छन् । सहरबजारका भन्दा पूर्वाधार सम्पन्न विद्यालयहरू गाउँमा ठडिएका छन् । स्वास्थ्यचौकी गाउँमै छन् । सञ्चारको सुविधा पुगेको छ । तर पनि गाउँमा बस्ने मानिसहरु घट्दै गएका छन् ।’ विकास थपिँदै गएपनि गाउँमा बस्ने मानिसहरु घट्दै गएका मंगला गाउँपालिका–५ का विकल सेनले बताए । गाउँमा सुविधाको कमी छैन । अवसर पनि प्रशस्तै छन् भन्दै गाउँका मानिस बढी महत्वाकांक्षी बन्दै गएपछि सहर केन्द्रित हुँदै गएको उनको भनाइ थियो । ‘घरघरमा चौविसैँ घण्टा पानी आउने धारा छन् । वरिपरि उर्वर खेतबारी छ । विद्यालय पाँच मिनेटमा पुग्न सकिन्छ । स्वास्थ्यचौकी गाउँमै छ । गाडी बस्तीबस्तीमा पुग्छ । सूचना प्रविधिका कारण विश्वको जुनसुकै कुनामा रहेका आफन्तसँग हरेक क्षण सम्पर्कमा रहन सकिन्छ’, सेनले भने, ‘यी सबै सुविधाहरू गाउँमा हुँदाहुँदै पनि गाउँहरु खाली हुँदै जानु विडम्बना हो ।’ विसं २०६८ मा एक घर परिवार भित्र चार दशमलव शून्य नौ जनाको परिवार रहेकामा केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को नतिजामा तीन दशमलव ६७ जना मात्र बस्ने गरेको देखिन्छ । ग्रामिण क्षेत्रबाट सुविधाको खोजीमा बाहिरिनेको सङ्ख्या उकालो लागेको जनगणना कार्यालय म्याग्दीले जनाएको छ । जिल्लास्थित जनगणना कार्यालयले सार्वजनिक गरेको एक तथ्यांक अनुसार भारत सहित तेस्रो मुलुकमा म्याग्दीबाट कुल विदेशिनेको सङ्ख्या १० हजार सात सय १३ रहेको छ । जसमा पुरुष आठ हजार आठ सय ४३ र महिला एक हजार आठ सय ७० रहेको छ । लैंगिक अनुपात ९५।८७, औसत परिवारको आकार ३।६७ र जनघनत्व ४७ रहेको छ । जिल्लाको कूल जनसङ्ख्याको घरपरिवारमा अनुपस्थित अर्थात प्रायः विदेशमा बसोबास गर्ने ०।४९ प्रतिशत रहेको छ । वैदेशिक रोजगारीमा महिलाको तुलनामा पुरुषको सङ्ख्या अत्याधिक छ । पछिल्ला वर्षमा महिलासमेत तेस्रो राष्ट्रमा रोजगारीका लागि जाने प्रतिस्पर्धा भएकाले महिला र पुरुषको जनसङ्ख्याको अन्तर घट्दो रहेको जनाइएको छ । ‘अहिले गाउँको अवस्था मौसमी बनेको छ । चाडपर्व र प्राकृतिक विपत्तिमा मात्र सहर वा विदेशबाट मानिसहरु गाउँ फर्कने गर्दछन् । गाउँमा बसुन्जेलसम्म गाउँको विकास र राजनीतिको विषयमा निकै चिन्तित भएको देखाउँछन् । फर्केपछि गाउँलाई चटक्कै बिर्सन्छन्,’ बेनी नगरपालिकाका कृष्ण पौडेलले भने । सहर वा विदेशबाट निर्वाचनको समयमा गाउँ फर्केनेले गाउँको राजनीतिमा प्रत्यक्ष प्रभाव पार्ने उनको भनाइ थियो । सहर वा विदेश निर्वाचनका समयमा आउनेले गाउँमा रहेका आफन्त र सोझासाझा जनतालाई भ्रममा पर्ने गरेको अनुभव रहेको मंगला–४ का झकबहादुर विश्वकर्माले बताए । ‘गाउँमा आपतविपद् पर्दा, कोही बिरामी भएर उपचार गराउन आर्थिक समस्या हुँदा, सहर र विदेशमा रहेका गाउँका व्यक्तिले सहयोग पनि गर्छन् । पढेलेखेका व्यक्ति गाउँमा आउँदा गाउँ रमाइलो हुन्छ । गाउँका विद्यालय, आमा समूह, युवा क्लाबलगायत संघसंस्थालाई आर्थिक सहयोग पनि गर्छन्,’ उनले भने । बसाइँसराइका कारण ग्रामिण क्षेत्रका विद्यालयमा विद्यार्थीको सङ्ख्या पनि कमी हुँदै गएको छ । ‘युवाहरू विदेशमा छन् । अशक्त वृद्धवृद्धाको सेवा गर्नेको समेत कमी छ,’ रघुगंगा गाउँपालिका–६ का वडाध्यक्ष मनकुमार शेरपुञ्जाले भने । गाउँघरसँगै यहाँका विद्यालयमा पनि विद्यार्थीको कमी हुन थालेको उनको भनाइ थियो । म्याग्दीमा २०६८ सालको जनगणना अनुसार एक लाख १३ हजार ६४१ जना जनसङ्ख्या रहेकामा २०७८ को नतीजामा एक लाख सात हजार ३७२ जना उल्लेख गरिएको छ । रासस
गजलकारपछि बैंकर बनेका गिरी, ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा’ले ल्याएको थियो चर्चामा
काठमाडौं । गीतकार शीतल गिरी अर्थात् ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा…’ गजलका लेखक । कुनै समय अधिकांश गजलप्रेमीको ओठमै झुण्डिएको यो गीतपछि गिरी कहाँ होलान् ? के उनको सिर्जना यात्रा ब्रेक लाग्यो कि के भयो होला ? हुन त कुनै पनि गीत/गजल जति चले पनि सर्जकको चर्चा कमै हुन्छ । तर, त्यो बेलामा गिरी भने आफूलाई त्यसबाट केही हदसम्म मुक्त राख्न सफल भएका थिए । विसं २०६७ वैशाखमा सार्वजनिक उक्त गजलले गायक प्रमोद खरेलसँगै सर्जकका रूपमा गिरीलाई पनि उचाइ दियो । सङ्गीतकार महेश खड्का पनि सो गजलबाट सफलताको अर्को सिँढी चढे । गायक प्रमोद खरेल देशविदेशका जुनसुकै मञ्चमा पुग्दा नछुटाइ गाउने गजल हो ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा…।’ पोखरेलीले मात्र नभई हर कोही सङ्गीत पारखीले आफ्नो प्रिय गजलका रूपमा यसलाई लिन्छन् । युवा पुस्तामाझ त झनै लोकप्रिय छ । भौगोलिक सामिप्यताको मनोविज्ञानले पनि गजललाई श्रुतिमय बनाएको छ । यो गजल गिरीले काठमाडौंमा स्नातकोत्तर अध्ययनरत रहँदा रचना गरेका थिए । ‘२०६२/०६३ मा अध्ययनका सिलसिलामा काठमाडाैंमा थिएँ, कीर्तिपुरमा बस्थेँ, बाटोमा हिँड्दाहिँड्दै गजलको दुई शेर फुर्यो, कोठामा पुगेर गजललाई पूर्णता दिएँ’, उनले भने, ‘पहिलोपटक जन्मथलो छोड्दा एक किसिमको उदासी र छटपटीजस्तो मनमा थियो, पोखराको खुब याद आइरहन्थ्यो, त्यही भावभूमिका यो गजल तयार भएको हो ।’ काठमाडाैं छँदा गीतकार विपीन किरणलगायतसँग उनको सङ्गत थियो । उपत्यकामा हुने साहित्यिक गोष्ठीमा गिरीले भाग लिन थाले । एकदिन अनाममण्डलीमा सोही गजल सुनाउँदा गिरीले वाहीवाही बटुले । गजलको प्रशंसा भयो । साथी/शुभेच्छुकले गजल रेकर्डका लागि उनलाई प्रेरित गरे । काठमाडाैंमै रहँदा सङ्गीतकार महेश खड्कासँग पनि गिरीको चिनापर्ची भइसकेको थियो । स्नातकोत्तरको पढाइ सकेर गिरी विसं २०६४ मा पोखरा फर्किए । सोही वर्ष पोखरामा भएको चलचित्र महोत्सवमा भाग लिन काठमाडाैंदेखि सङ्गीतकार महेश खड्का, गीतकार विपीन किरणलगायत पोखरा आएका थिए । पोखरा आएका बखत उनीहरू पोखरा महानगरपालिका-२४ कास्कीकोटस्थित गिरीको घरमा पुगे । साँझपखको जमघटमा गिरीले लेखेको गजलबारे गीतकार विपीन किरणले प्रसङ्ग उप्काए । सोही माहोलमा गिरीले सुनाए, ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा…।’ ‘मेरो गजल मन पराएर सङ्गीतकार महेश खड्का दाइले तत्क्षण नै टेबलमा हात ठटाएर पहिलो धुन तयार पार्नुभएकाे थियाे’, गिरीले विगत कोट्याए, ‘महेश दाइले सुरुमा चलचित्रलाई भनेर सङ्गीत तयार गर्नुभएको थियो, तर पछि प्रमोद खरेल दाइको प्रणय एल्बममा गजल समावेश भयो ।’ उक्त गजलले नसोचेको चर्चा र सफलता पाएको गिरीको भनाइ छ । गजलले युट्युबमा पनि लाखौँ ‘भ्युज’ पाएको छ । सुरुवातमा रेडियोमा सर्वाधिक बज्ने गजलमध्येमा पर्थ्यो । ‘त्यसपछि पनि मेरा गीत, गजल रेडर्क भए तर त्यो जति सफल हुन सकेनन्’, उनले भने, ‘स्रोता, पाठकले सिर्जनामा पुनः सशक्त ढङ्गले मेरो पुनरागवमन होस् भन्ने चाहिरहनुभएको छ, म अहिले त्यसकै लागि सङ्घर्षरत छु, मेरो गीत लेखनको यात्रा रोकिएको छैन, अहिले पनि हप्तामा एक/दुई वटा गीत, गजल लेखिरहेको हुन्छु ।’ उमेरले ४० कटेका गिरीको पहिलो गीत ‘केही छैन दिउँ भने गरिबीले झनै रित्तिएँ…’ विसं २०५८ मा रेकर्ड भएको थियो । जसमा विनोद बानियाँको सङ्गीत र विमल पराजुलीको स्वर छ । ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरा…’ उनको दोस्रो रेकडेर्ड सिर्जना हो । त्यसयता पनि उनका कैँयन गीत/गजल सार्वजनिक भएका छन् । कतिपय रेकर्ड हुने चरणमा छन् । गिरीको विसं २०७६ मा मुक्तक सङ्ग्रह ‘सालिक’ सार्वजनिक भएको थियो । गीत, गजल र मुक्तक लेखनमा सिद्धहस्त उनी पेसाले बैंकर्स हुन् । जागिरे जीवन सुरु भएदेखि सिर्जनकर्म केही सुस्ताएकामा भने गिरी सहमत छन् । ‘जागीरले कहीँ न केही बन्धन राख्छ, जिजीविषाका लागि काम नगरी पनि भएन, तर यसले सिर्जनशीलता खुम्चाउँदोरहेछ, चाहेर पनि भनेजति समय दिन सकिन्न’, उनले भने, ‘फेरि यसमा मलाई कुनै कुण्ठा छैन, व्यावसायिक रूपमा मेरा थोरै मात्र सिर्जना चले पनि म सन्तुष्ट छु ।’ उनले गीत लेख्नु आफ्ना लागि एक किसिमको ‘पागलपन’ भएको बताए । ‘वास्तविक अनुभूतिको तहमा ओर्लेर गीत लेखिरहेको हुन्छु, आनन्दको महसुस हुन्छ, गीत लेख्दा मेरा आँखा टिलपिलाइरहेका हुन्छन्’, गिरीले भने, ‘म बिना कसैकसैलाई… लेख्दा पनि मभित्र एउटा छटपटाहट थियो, त्यसैलाई इमान्दारपूर्वक गजलमा उतारेँ ।’ उनले यात्रा र भेटघाटमा उक्त गजलबारे चर्चा चल्दा सर्जक म हुँ भनेर चिनाउँदा मानिस खुसीले दङ्ग पर्ने गरेको सुनाए । कुनै पनि गीत/गजल चर्चाको शिखरमा हुँदा पनि गीतकार भने छायाँमा पर्ने गरेको गिरीले बताए । ‘कतिपय ठाउँमा त सर्जकको नामै उल्लेख नगरी गीत गाउने चलन छ, त्यसो गर्दा नमिठो अनुभव हुन्छ, कुनै पनि सफल गीतको पहिलो खुड्किलो गीत रचनाबाट सुरु हुन्छ, गीतकारलाई नजरअन्दाज गर्न मिल्दैन’, उनले भने । गीतकार प्रतिष्ठान नेपालका अध्यक्षसमेत रहेका गिरीलाई गीत लेखनसँगै संस्था हाँक्ने जिम्मेवारी पनि छ । प्रतिष्ठानले गीतकारको हकहितबारे वकालत गर्नेदेखि एकल गीत वाचन, गीत लेखन कार्यशालालगायतका काम गर्दै आएको छ । गिरीलाई बैंकको जागिरले केही समयअघि महोत्तरीको बर्दिबास पुर्याएको छ । बीस वर्षअघि पोखरा छाडेर काठमाडाैं जाँदा र अहिले बर्दिबास पुग्दाको अनुभूतिजन्य भावमा पक्कै अन्तर छ । जहाँ गए पनि गिरीलाई पोखराको यादले भने हरक्षण पछ्याइरहेको हुन्छ । उनकै गजलले भनेझैँ ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा म छु आज धेरै टाढा मेरो दिल छ पोखरामा…।’ रासस