पशुपतिमा विश्वशान्ति महायज्ञ सुरु, तीन धर्मका गुरुहरु एकै ठाउँमा
काठमाडौं । हिन्दु, बौद्ध, किराँत एकता सन्देशसहित काठमाडौंको पशुपतिमा विश्वशान्ति महायज्ञ सुरु भएको छ । हिन्दु, बौद्ध, किराँत तीनै धर्मका धर्मगुरुहरुका उपस्थितिका साथै धामीझाँक्री, कलशयात्रा, झाँकी प्रदर्शन र बाजागाजासहित पशुपतिनाथको मन्दिर परिक्रमा गरेर महायज्ञको सुरु गरिएको छ । हिन्दु धर्मका गुरुहरु खगेन्द्र पोखरेल, त्रिलोचन सुवेदी, वेदप्रसाद पोखरेल, नारद अधिकारी, तान्त्रिक गुरु सुनिल कुमार वैश्य, बौद्ध धर्मका गुरुहरु सङ्गे लामा साथै वाङ्छु लामा, पासाङ छिरिङ लामा, धावा वाङ्छु लामा, लावाङ लामा, नाम्से लामा, पासाङ लामा, राप्तेन लामा, निमा साङ्गे लामा लगायतको उपस्थिति रहेको थियो । त्यसैगरि किराँत धर्मका गुरुहरु हरि थक्लिहाङ, अलिस सेर्मा, हरि केरुङ, राजेन्द्र केरुङ, नर बहादुर अन्छेङ्वो लगायत धेरै भक्तजनहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन कुवेर गौतम र शान्ता कटुवालले गरेका थिए । सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, राष्ट्रिय एकताको सन्देश सहित पितृ उद्धारका निमित्त महायज्ञ आयोजना गरिएको महारुद्र परिवार फाउन्डेसनले जनाएको छ । बुद्ध धर्म सेन्टर साङे छ्योलिङ गुम्बा र किरात साम्यो माङ्सेवासावा नेवाला पान्जुम्भो उपत्यका समितिको सहकार्यमा महायज्ञको आयोजना गरिएको छ । बौद्ध धर्मका गुरुहरुबाट बाजागाजासहित बुद्धको पुजा गरेर मन्त्रजप गरिएको थियो । विश्वमा शान्तिको अग्रदुत गौतम बुद्ध भएकाले विश्वशान्ति महायज्ञमा आफुहरु पनि संलग्नता हुन पाउँदा खुशी रहेको बौद्धिष्ट गुरु सङ्गे लामा बताउँछन् । अहिले धर्म धर्म बिच दुरी बढ्दै गईरहेको बेला यो विश्वशान्ति महायज्ञले धार्मिक एकतालाई अझ मजवुत बनाई एकअर्काे धर्मको सम्मान, सद्भाव र एकता कायम राख्न सहयोग गर्ने महारुद्र परिवार फाउन्डेसनको अध्यक्ष खगेन्द्र पोखरेल बताउँछन् । यो विश्वशान्ति महायज्ञ धार्मिक रुपमा मात्रै नभई राष्ट्रिय र विश्वव्यापी रुपमै आवश्यक र महत्व रहेको उनको भनाई छ । एउटा सपना देखियो तर त्यो सपना पुरा गर्न धेरै तनाव, वाधा व्यवधान तथा कठिनाई आईपर्ने रहेछ । तर पनि हिम्मत नहारी कार्यक्रमलाई सफल बनाएरै छोड्ने उनी बताउँछन् । कार्यक्रम व्यर्थै आँट गरिएछ जस्तो लागेको थियो तर भगवानको कृपाले सहयोगी हातहरु बढ्दै गएको र कार्यक्रममा धेरै व्यक्तिहरुलाई जोड्न पाउँदा कार्यक्रम सफल हुनेमा आशावादी रहेको उनको भनाई छ । कार्यक्रममा वृन्दावनदेखि नारायणदास (बुलेट बाबा) आएका थिए भने राष्ट्र शक्ति नेपालको अध्यक्ष केशर बहादुर बिष्ट, शिवसेना नेपालको केन्द्रीय अध्यक्ष अनिल बस्नेत लगायत व्यक्तिहरुको आतिथ्यता रहेको थियो । हामी सबै फुटेर हैन जुटेर अगाडि बढ्नुपर्ने आजको समयमा यो कार्यक्रमले सबैलाई जोड्ने प्रयास गरेकोेले धामीझाँक्री संगठनले पनि साथ दिएको राष्ट्रिय संस्कृति संरक्षण तथा सामाजिक, धार्मिक विकास मातृभूमि धामीझाँक्री संगठन नेपालका अध्यक्ष रामहरि विश्वकर्मा बताउँछन् । हिन्दु विधिअनुसार सातै दिन श्रीमदभागवत कथा पाठ पारायण, दैनिक हवन, प्रातकालिन पुजा, प्रवचन, रासलिला, भजनकीर्तन, ताण्डव नृत्य, धामीझाँक्री पनि प्रदर्शन गरिने हिन्दु धर्मका गुरु त्रिलोचन सुवेदी बताउँछन् । विश्वकै ठूलो धार्मिक आस्थाको केन्द्र पशुपतिनाथमा रहेर हामीले विश्वशान्ति महायज्ञ गर्न पाउनु नै ठूलो कुरा भएको उनको भनाई छ । दैनिक ६८०४ मन्त्रद्वारा सम्पुर्ण देवीहरुलाई हवन कुण्डमा अवत्रित गराउने तान्त्रिक गुरु सुनिल कुमार वैश्यले बताए । किराँत विधिअनुसार कार्यक्रमको सुरुवातको दिन किरात मुन्धुम अनुसार कुसाङ् सेमा अर्थात यो शुन्यता, पन्चतत्व, प्रकृति, मुन्धुम बेदलाई पुज्दै सेवा पुजा अवधीभर कुनै अनिष्ट नहोस् भनेर माङसँग आराधना गरिएको थियो । गुह्येश्वरी नदिमा साक्मुरा वादेम्म्मा (गालिश्राप बहन्ती) त्यसपछी सुम्निसा युमा हिममाङ र थेबाको पुजा पाठ, कुदाप कुई देवी देउरालीको पुजा गर्दै मुख्य इष्टदेवि युमा, हिममाङ र थेबाको सेवा (येकुदिङ साङ्भे) मा पुजा गरिने किराँत गुरु हरि थक्लिहाङ बताउँछन् । त्यसपछि क्रमश येत नाम्धुङ लाधुङसेमी सेवा गरिने र २५ गतेसम्म बिहान र बेलुका दैनिक २ प्रहर निरन्तर येत नाम्धुङ लाधुङ सेमी, १०८ दिप जलन, लाख बत्ती जलन सहित चरु हवन गरिनेछ र २६ गते बिहान कुयाम सेमा गरि बिधिवत महायज्ञ बिसर्जन हुनेछ । किरात धर्मको तर्फबाट किरात साम्यो माङ्सेवासाबा नेवाला पान्जुम्भोको समिती र पुर्वबाट आमन्त्रित ८ जना बढी किरात माङसेवासाबाहरुबाट विशेष मुन्धुम वाचन हुनेछ । विश्वशान्ती तथा मानव एकताको शंखघोष गर्ने किरात धर्मले चराचर सृष्टीजगत, प्रकृतिको रक्षार्थ मुन्धुम अनुसार निरन्तर भक्ती अनुष्ठान गर्ने गरेको छ । नेपालबाट युवाहरु दैनिक विदेश पलायन भईरहेको समयमा केही युवाहरुले यस्तो विशेष कार्यक्रम आयोजना गर्न लागेको देखेर आफुले साथ दिएको शिवसेना नेपालको केन्द्रीय अध्यक्ष अनिल बस्नेत (अनिल बाबा) बताउँछन् । यो महायज्ञ विश्व र नेपालको सन्दर्भमा आजको समयमा अति नै आवश्यक रहेको छ । यसले धार्मिक सद्भाव, सहिष्णुता र एकतालाई बचाईराख्ने मात्रै नभई विश्वमै राष्ट्रिय गौरव बढाउने भएकाले यस्तो कार्यक्रमलाई नेपाल सरकारले नै आयोजना र सहयोग गर्नुपर्ने बताए । यो पवित्र र महत्वपूर्ण कार्यक्रममा सबैले सहयोग गरेर साथ दिनुपर्ने उनको भनाई छ । धर्म धर्ममा विभेद गराएर शीवको भूमीमा फिरिङ्गीका धर्महरु लादेर हामीमाथि विखण्डन गरेर वैदिक सनातन धर्ममाथि प्रहार भईरहेको अवस्थामा यो महायज्ञले विश्वकै निम्ति उदाहरणीय सन्देश दिएको शिवसेना नेपालका चीरण खड्का बताउँछन् । शिवरात्रीको अवसर पारेर फागुन २६ गतेसम्म एक साता कार्यक्रम रहनेछ ।
टोखामा शुरु भयो कपडा बैंक, गरिबमाझ पुर्याउने उद्देश्य
काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा ‘कपडा बैंक’को शुभारम्भ गरिएको छ । नगरपालिकाको सहयोगमा क्लोथ एन्ड फुड बैङ्क नेपालको सहकार्यमा शुक्रबार ‘कपडा बैंक’को शुभारम्भ गरिएको हो । नगर प्रमुख प्रकाश अधिकारीले देशभरबाट प्रयोगमा नआएका कपडा सङ्कलन गरेर पुनःचक्रण गरी विपन्न तथा गरिब मानिसमाझ पुर्याउने उद्देश्यका साथ अभियान सुरु गरिएको बताए । ‘गरिब तथा असहाय जसले कपडा किन्न सक्दैनन्, त्यस्ता मानिसलाई ‘रिसाइकल’ गरी कपडा उपलब्ध गराउनका लागि कामको थालनी गरेका छौँ’, उनले भने । नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले समाजमा आर्थिक रुपमा विपन्न भएका मानिसलाई उक्त अभियानले सहयोग पुग्ने बताए । “यो नेपालमा मात्र होइन विश्वभर यस्ता प्रयोग हुँदै आएका छन्, जसको आयआर्जन कम छ, त्यस्ता व्यक्तिले यहाँ आएर कपडा लैजान सक्नुहुन्छ”, उनले भने । नगर उपप्रमुख मुरारी तामाङले क्लोथ एन्ड फुड बैङ्कले गरेको कार्यको प्रशंसा गर्दै नगरपालिकाबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले प्रयोग नभएका कपडालाई रिसाइकलिङ गरी गुणस्तरीय कपडा उत्पादन गरी गरिब, दुःखीलाई निःशुल्क बाँड्ने अभियानमा नगरपालिकाले सहयोग गर्ने उल्लेख गरे । क्लोथ एन्ड फुड बैङ्कका प्रमुख कमल बिसीले पुरानो कपडा पुनः प्रयोग, आवश्यक पर्ने हामी सबैका लागि भन्ने सन्देश प्रवाह गर्न उक्त कार्यक्रम गरिएको बताए । कार्यक्रममा नगरपालिकाका विभिन्न वडाका अध्यक्ष, कर्मचारी तथा टोखाका बासिन्दाको सहभागिता थियो ।
जीवन विकासको वार्षिकोत्सव : डस्टबिन वितरणदेखि श्रमदानमार्फत घर निर्माणसम्म
विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले पाँचौं वार्षिक उत्सव विविध कार्यक्रम गरी मनाएको छ । बुधबार लघुवित्तले पाँचौं वार्षिक उत्सव विविध कार्यक्रम गरी मनाएको हो । जीवन विकास समाजद्वारा प्रवर्द्धित जीवन विकास लघुवित्तले २४ जिल्लामा १६० शाखा मार्फत वित्तीय सेवा प्रवाह गरिरहेको छ । ती शाखाहरुले १६३ स्थानमा कार्यक्रम गरी वार्षिक उत्सव मनाएको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जानकारी दिए । वार्षिक उत्सवमा लघुवित्तका ६६ वटा शाखाले विद्यालय सरसफाइ तथा डस्टबिन वितरण, हाजिरजवाफ प्रतियोगिता र शैक्षिक सामग्री वितरण गरेका छन् । २७ शाखाले बजार सरसफाइ गरी डस्टबिन वितरण गरेका छन् । २४ वटा शाखाले मन्दिर सरसफाइ गरेका छन् । १५ वटा शाखाले १५ परिवारका लागि श्रमदान गरेर घर निर्माण गरेका छन् । १५ वटा शाखाले वृक्षरोपण गरेका छन् । सात वटा शाखाले अति विपन्न सात परिवारलाई सहयोग गरेका छन् । लघुवित्तका शाखाहरुले वृद्धा आश्रममा खाद्यान्न तथा फलफूल वितरण, स्वास्थ्य शिविर, अनाथ तथा अति विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, रक्तदान, बालबालिका अध्ययन केन्द्र उद्घाटन कार्यक्रम गरेका थिए । जीवन विकासको विराटनगर शाखाले सुनसरीको बर्जू गाउँपालिका-२ की एकल तथा अशक्त महिला सहगिया मुखियाका लागि घर निर्माण गरिदिएको थियो । मुखियाको घर निर्माणका लागि लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डल, नायब प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मी, लघुवित्तका कर्मचारी, स्थानीय, जनप्रतिनिधि र लघुवित्तले गठन गरेको थ्रि जिरो क्लबका सदस्यले श्रमदान गरेका थिए ।