राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई
पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम सशस्त्र प्रहरी बल ९एपिएफ०ले हात पारेको छ । बुधबार भएको फाइनल खेलमा बागमती प्रदेशलाई ३–२ सेटले पराजित गर्दै एपिएफले उपाधि चुमेको हो । फाइनल खेलमा एपिएफले पहिलो र दोस्रो सेट १८–२५, १७–२५ अङ्कका साथ गुमाएको थियो । तेस्रो, चौथो र पाँचौँ सेटमा २५–१९, २५–१७ र १८–१६ अङ्कसहित जित निकाल्दै एपिएफले उपाधि हात पार्न सफल भएको हो । एपिएफसँग फाइनल खेलमा प्रतिस्पर्धा गरेको बागमती उपविजेता बनेको छ । प्रतियोगितामा लुम्बिनी प्रदेशले तृतीय स्थान ओगटेको छ । कोशीलाई ३–० को सोझो सेटमा हराउँदै लुम्बिनीले तृतीय स्थान ओगट्न सफल भएको हो । लुम्बिनीले २५–१०, २५–१६ र २५–२२ अङ्कका साथ जित हात पारेको छ भने यससँगै कोशी प्रदेशले सान्त्वना स्थान हासिल गरेको छ । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहलाई क्रमशः नगद दुई लाख ५० हजार, एक लाख ५० हजार, ७५ हजार र ३५ हजारसहित साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा एपिएफका सरस्वती चौधरी उत्कृष्ट खेलाडी घोषित भएकी छन् । एपिएफका निरुता थगुन्ना उत्कृष्ट सर्भर, महेश चौधरी उत्कृष्ट कोच, बागमतीका प्रगतिनाथ उत्कृष्ट सेटर, सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्डर, सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर र लुम्बिनीका मीना सुनार उत्कृष्ट स्पाइकर भएका छन् । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले पुरस्कार वितरण गर्दै रामपुरमा राष्ट्रियस्तरको खेल हुनु महत्त्वपूर्ण कुरा रहेको बताए । उनले खेलाडीलाई बौद्धिक सम्पत्तिको रूपमा लिनु आवश्यक रहेको बताएका छन् । लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले पूर्वाधारको अभावमा राष्ट्रियस्तरका अन्य खेल सञ्चालनमा समस्या भएको जनाउँदै पूर्वाधार निर्माणमा जोड दिने प्रतिबद्धता जनाए । प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई, रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी, अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप राना, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक घिमिरेलगायतले सदरमुकामबाट टाढा रहेको रामपुरमा राष्ट्रियस्तरको खेलकुदले यस क्षेत्रको पहिचानका साथै पर्यटन तथा आर्थिक क्षेत्रमा महत्त्वपूर्ण टेवा पुग्ने बताएका छन् । जिल्ला भलिबल सङ्घ पाल्पाको आयोजना, प्रदेश खेलकुद परिषद् लुम्बिनीको प्रवर्द्धन तथा प्रायोजन, नेपाल भलिबल सङ्घको संयोजन, जिल्ला खेलकुद विकास समिति पाल्पा र प्रदेश भलिबल सङ्घ लुम्बिनीको समन्वय, रामपुर नगरपालिकाको संरक्षण, रामपुर उद्योग वाणिज्य सङ्घको प्रवर्द्धनमा प्रतियोगिता भएको हो । गत फागुन १८ गतेदेखि छ दिनसम्म भएको खेलमा आठ समूहको सहभागिता रहेको थियो । रामपुरमा पहिलोपटक राष्ट्रियस्तरको खेल आयोजना भएकाले पनि यस क्षेत्रका स्थानीयमा खेल क्षेत्रमा उत्साह थपिएको छ ।
भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण गर्न दक्ष डकर्मी तयार गर्दै कर्णाली सरकार
कर्णाली । कर्णाली प्रदेश सरकारले जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा पुनर्निर्माण गर्न दक्ष डकर्मी तयार गर्ने भएको छ । वातावरण अनुकूल भौतिक संरचना निर्माण, आवश्यक नीति एवं विधि पालना गरी विपद्बाट हुने क्षति न्यूनीकरण तथा समुदायमा ज्ञान, सीप र प्रविधिसहितको दक्ष जनशक्ति तयार गर्न प्रदेश सरकारले भूकम्प प्रतिरोधी भवन तथा संरचना निर्माणसम्बन्धी तालिम सञ्चालन गर्ने भएको हो । यसका लागि त्रिपक्षीय सम्झौता भएको छ । कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल र स्थानीय तहबीच तालिम सञ्चालन गर्नेगरी बुधबार सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले जाजरकोट भूकम्पलाई अवसरका रूपमा उपयोग गरी अगाडि बढ्ने बताए । उनले भने, भूकम्पले दिएको शिक्षालाई जीवन व्यवहारमा लागू गरेर जानुको विकल्प छैन । गोरखा बारपाकको भूकम्पबाट शिक्षा लिन सकेको भए जाजरकोट भूकम्पबाट हामीले यति ठूलो क्षति व्यहोर्नु पर्दैनथ्यो ।’ भूकम्पपश्चात खोज, उद्धार र राहतमा सरकारले लिएको पहलकदमी उल्लेख्य भए पनि पुनःनिर्माणको कार्यमा ढिलाइ भएको मुख्यमन्त्री शर्माले बताए । भूकम्प प्रभावित जिल्ला जाजरकोट छेडागाड नगरपालिका, बारेकोट गाउँपालिका, रुकुमपश्चिम चौरजहारी नगरपालिका, त्रिवेणी गाउँपालिका र सल्यानको दार्मा गाउँपालिका गरी पाँच स्थानीय तहमा भूकम्प प्रतिरोधी भवन तथा संरचना निर्माणका लागि जनप्रतिनिधि, कर्मचारी र डकर्मीको तालिम सञ्चालन गर्नेगरी सम्झौता भएको छ । छेडागाड र चौरजहारी नगरपालिका, बारेकोट, त्रिवेणी र दार्मा गाउँपालिका प्रत्येक स्थानीय तहबाट बाह्र जनाका दरले डकर्मीका लागि कार्यगत तालिम सञ्चालन गर्न लागिएको कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानका निर्देशक विष्णुप्रसाद कोइरालले जानकारी दिए । उनका अनुसार भूकम्प प्रतिरोधी भवन निर्माणको डकर्मीलाई कार्यगत तालिम दिइनेछ । डकर्मीलाई दिइने तालिम २० दिनको हुनेछ । प्रभावित जिल्ला जाजरकोट, रुकुमपश्चिम, र सल्यानका सबै स्थानीय तहका जनप्रतिनिधिलाई भवन पुनःनिर्माणको विधि, भूकम्प प्रतिरोधी डिजाइनका सिद्धान्त र प्रतिरोधी अभ्यासको क्षमता विकाससम्बन्धी सीप सिकाइने निर्देशक कोइरालाले बताए । तालिम सञ्चालनका लागि १ करोड ४६ लाख रुपैयाँ खर्च हुने जनाइएको छ । तालिमबाट ६० दक्ष डकर्मी तयार हुनेछन् । भूकम्प प्रतिरोधी भवन निर्माणसंहितामा रहेर निर्माण गर्नेमा समेत कार्यक्रमबाट सहयोग मिल्ने भूकम्प प्रविधि र राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले जानकारी दिए ।
युवाले नै पाए युवा मन्त्रालयको जिम्मा, को हुन् विराज भक्त श्रेष्ठ ?
काठमाडौं । प्रतिनिधिसभाको सांसद बनेको पहिलो पटक नै मन्त्री बनेका छन् विराज भक्त श्रेष्ठ । राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा)का नेता श्रेष्ठ सांसद बनेको पहिलो पटक नै युवा तथा खेलकुद मन्त्री बनेका हुन् । यसअघि विवेकशील साझा पार्टीबाट बागमती प्रदेशका सांसद रहेका उनी पछि रास्वपामा प्रवेश गर्दै प्रतिनिधिसभा सदस्यमा समेत निर्वाचित भएका हुन् । काठमाडौंको इन्द्रचोकमा जन्मिएका श्रेष्ठ विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य थिए । तर, पछि सो पार्टी छाड्दै रास्वपामा आवद्ध भए । उनी रास्वपाबाट काठमाडौं क्षेत्र नं ८ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । २०७२ सालको महाभूकम्पपछि श्रेष्ठ राहत र उद्धार अभियानमा संलग्न भए । त्यसबेला उनले नेतृत्व गरेको स्वयंसेवक टोलीले राहत संकलन, वितरण र उद्धार अभियानसँगै मुस्ताङ र बर्दिबास लगायतका स्थानमा विपन्न समुदायका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । श्रेष्ठले त्यो बेला वातावरण संरक्षणका लागि ‘फोर्स नेपाल’ संस्था खोलेर वृक्षरोपणको लागि ‘वान ट्री–मेरो जिम्मेवारी’ अभियान पनि चलाइरहेका थिए । मन्त्रीको रूपमा उनको यो पहिलो इनिङ्स हो । धेरैले उनलाई सम्भावना भएको युवाकारूपमा हेरेका छन् । उनी रास्वपाको संसदीय दलको उपनेता समेत हुन् ।