देशभर चिसो बढ्यो, सतर्कता अपनाउन महाशाखाको अनुरोध
काठमाडौं । देशभरको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घटेर चिसो बढेको छ । आज काठमाडौंको न्यूनतम तापक्रम चार दशमलव पाँच र अधिकतम तापक्रम १९ डिग्रीसेल्सियस रहेको छ । पछिल्लो तीन/चार दिनयता काठमाडौँको न्यूनतम तापक्रम चार देखि पाँच र अधिकतम तापक्रम १७ देखि १९ डिग्रीसेल्सियसको हाराहारी रहेको छ । तापक्रम घटेकाले काठमाडौँमा अत्यधिक चिसो बढेको छ । दिउँसो घाम लागेपनि बिहान र बेलुका बढी जाडो महशुस गरिएको छ । सबैभन्दा कम जुम्लामा माइनस दुई दशमलव आठ र जोमसोममा माइनस तीन दशमलव पाँच तापक्रम मापन गरिएको महाशाले उल्लेख गरेको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीका कारण अहिले आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ । भोलि (पुस ७ गते) प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
सिजी यूट्युब च्यानलमा ‘मनका कुरा’ प्रस्तुत गर्दै बसन्त चौधरी
काठमाडौं । उद्यमी तथा साहित्यकार बसन्त चौधरीले सिजी यूट्युब च्यानलमा मनका कुरा प्रस्तुत गर्ने भएका छन् । चौधरीले पुस ६ गतेदेखि हरेक शुक्रबार साँझ ८ बजे ’मनका कुरा विथ बसन्त चौधरी’ नामक कार्यक्रम नियमित रुपमा प्रस्तुत गर्ने भएका हुन् । सिजी इन्टरटेनमेन्टले आफ्नो स्थापनाको १३ वर्षपछि पुनः सक्रिय रूपमा कार्यक्रमहरू प्रस्तुत गर्ने योजना अनुसार अब आफ्नै यूट्युब च्यानल शुरू गर्न लागेको हो । विभिन्न गीत, छोटा चलचित्र तथा कथानक चलचित्र भिसा गर्ल’ उत्पादन र प्रसारण गरिसकेको सिजी इन्टरटेनमेन्टले बिहीबार पत्रकार सम्मेलन मार्फत सो जानकारी गराएको हो । वसन्त चौधरीले सञ्चालन गर्ने कार्यक्रममा विभिन्न क्षेत्रका चर्चित व्यक्तिहरूसँगको अन्तरङ कुराकानी प्रस्तुत हुनेछ । यही २०२४ को जनवरीदेखि सिजी इन्टरटेनमेन्टले आफ्ना कार्यक्रमहरूलाई अझ विस्तारित गर्ने क्रममा श्रव्य-दृश्यका अन्य सामग्रीहरू पनि तयार गर्ने योजनामा रहेको छ । यस्ता कार्यक्रमहरू उत्पादन गर्नका लागि सिजी इन्टरटेनमेन्टले आफ्नो छुट्टै स्टुडियोको स्थापना समेत गरिसकेको छ । चलचित्र निर्माण, लघु चलचित्र, स्ट्याण्ड-अप कमेडी, सांगितिक कार्यक्रम तथा म्यूजिक भिडियो आदि जस्ता स्तरीय कार्यक्रमहरूको निर्माण तथा नयाँ प्रतिभाहरूलाई प्रोत्साहित गर्ने नीति अनुरूप सिजी इन्टरटेनमेन्टको यूट्युब च्यानल प्रभावकारी रूपमा नियमित प्रसारण हुने समेत जानकारी गराइएको छ ।
काठमाडौंको तापक्रम निरन्तर घट्दो, चिसो अझ बढ्ने
काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम दैनिक घट्दो क्रममा छ । काठमाडौंमा आज यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन भएको छ । बुधबार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियोभने आज बिहानको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन भएको मौसमविद् रोजन लामिछानेले बताए । उनले भने, ‘काठमाडौंमा आज सबैभन्दा कम तापक्रम मापन भएको छ, यो अहिलेसम्मकै कम तापक्रम हो र यो अझै घट्ने सम्भावना छ ।’ काठमाडौं उपत्यकाको आज बिहान ५ः४५ बजे ४ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको न्यूनतम तापक्रम ८ः४५ बजे घटेर ४ दशमलव ५ डिग्री सेल्सियस कायम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।