जुम्लामा जाडोले जनजीवन प्रभावित

जुम्ला । जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेसँगै जाडोले यहाँको जनजीवन प्रभावित भएको छ । हावापानी फिल्ड कार्यालय जुम्लाका अनुसार जिल्लाको न्यूनतम तापक्रम–२ दशमलव ६ डिग्री र अधिकमत तापक्रम १५ दशमलव ६ डिग्री सेल्सियस रहेको कार्यालय प्रमुख महेश शर्माले जानकारी दिए । तापक्रम माइनसमा झरेसँगै बिहान–बेलुका घरबाट बाहिर निस्कन कठिन भएको चन्दननाथ नगरपालिका–४ निवासी सरिता न्यौपानेले बताइन् । एक सातादेखि बढेको चिसोले जिल्लाको जनजीवन प्रभावित भएको छ । चिसो बढेपछि अस्पतालमा बिरामीको सङ्ख्या पनि बढेको छ । चिसो बढेसँगै रुघाखोकीका बिरामीको चाप बढेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक पुजन रोकायले बताए । चिसोकै कारण यहाँका स्वास्थ्य केन्द्रलगायत प्रतिष्ठानमा ज्वरो, रुघाखोकी, दम, ‘कोल्ड डायरिया’का बिरामीको सङ्ख्या बढेका छन् । अहिले दैनिक दुई सयभन्दा बढी बिरामी उपचारका लागि प्रतिष्ठानमा आउने गरेका छन् । लगातार बढ्दै गएको जाडोबाट बालबालिका, वृद्ध र सुत्केरी महिला बढी प्रभावित भएका छन् । बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिलामा रुघाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्नेलगायत समस्या देखिएको तिला गाउँपालिको रारालिही स्वास्थ्यचौकीमा प्रमुख कमल रावतले बताए । रासस

फुङ्लिङमा आगलागीबाट ५ लाखको क्षति

फुङ्लिङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज बिहानै एउटा घरमा आगो लाग्दा घर जलेर नष्ट भएको छ भने ५ लाख रुपैयाँबराबरको क्षति भएको छ । सदरमुकाम बजार नजिक फुङ्लिङ नगरपालिका–५ उकालीपानी टोलमा रहेको लालबहादुर गुरुङको घरमा आगलागी हुँदा ५ लाख रुपैयाँबराबरको क्षति भएको जिल्ला समन्वय समितिका सदस्य विष्णु तिवारीले जानकारी दिए । फुङ्लिङ नगरपालिकाको दमकलको सहयोगमा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको सक्रियतामा आगो निभाइएको छ ।

सामाजिक सञ्जालमार्फत् महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत् महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । साईबर ब्यूरोको टोलीले उक्त कार्यमा संलग्न चितवनको रत्ननगर नगरपालिका-१० स्थायी वतन भई हाल काठमाडौं जिल्ला बस्ने ४२ वर्षिय चतुर्मान महतोलाई पक्राउ गरेको हो । सामाजिक सञ्जाल मार्फत चिनजान भई भेटघाटको क्रममा लिईएका तस्विर तथा श्रव्य-दृश्य सम्पादन गरी मेसेजिङ एप मार्फत पठाई चरित्रहत्या गर्नुका साथै वैवाहिक जीवनमा समेत असर पार्ने गरी दुःख हैरानी दिएको भन्दै उनलाई प्रकाउ गरिएको ब्यूरोले जानकारी गराएको छ । उनलाई विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा साईबर ब्यूरोबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।