सिँचाइ अभाव हुँदा आकासे पानीको भरमा इलामका किसान

इलाम ।  जिल्लाको माई नगरपालिका–६ पलाँसेका किसान सुरविर योङहाङले धान रोप्नका लागि एक महिनाअघिदेखि खनजोत गरी खेत तयार पारेका थिए । आकासे पानी आवश्यकता अनुसार नपरेपछि उहाँले अहिलेसम्म एक गाँभो पनि धान रोप्न सकेका  छैनन्  । खेतमा पानी पुग्ने मुहानमा मूल नफुटेकाले रोपाइँ सम्भव नभएको बताउँदै आकासे पानीको भरमा बसेकाले करिब १९ रोपनी खेत अहिलेसम्म बाँझै रहेको सुरविरले जानकारी दिए । ‘खेत जोते पनि सिँचाइ अभावले रोपाइँ गर्न नसकेपछि आकासतिर हेर्दै बस्नुपर्ने बाध्यता छ । खेत जोतेर बीउ पनि तयार पारेको हुँ । अब एक साताभित्र पनि पानी परेन भने यो वर्षको रोपाइँ हुँदैन’, उनले भने । किसान आइतराज लिम्बूको पीडा पनि उस्तै छ । खनजोत गरेर रोपाइँका लागि तयार पारिएको १६ रोपनी खेत आकासे पानीको पर्खाइमा बाँझै छ । 'पहिलापहिला असारको सुरुमा पानी पथ्र्यो, तर यो साल साउन दोस्रो साता बितिसक्दा समेत पानी परेन', उनले भने, 'सिँचाइ अभाव हुँदा खेत बाँझो रहने भयो, खेती नभए के खाने चिन्ता बढ्न थालेको छ ।' समयमा पानी नपर्दा इलामका सुरविर र आइतराजजस्ता सयौँ किसान रोपाइँ गर्न नपाएपछि चिन्तित छन् । यसैबीच साउनको दोस्रो सातासम्म इलाममा ७४ प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख कुलबहादुर राईले साउन दोस्रो सातासम्म ११ हजार ६३ हेक्टरमध्ये आठ हजार १८६ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको जनाउँदै यो कूल क्षेत्रको ७४ प्रतिशत हुने बताए । ‘गतवर्ष यही समयमा ९२ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको थियो । गत वर्ष १४ हजार ८१५ हेक्टर क्षेत्रमा धानखेती गरिएको थियो । यस वर्ष आवश्यक वर्षा नभएकाले किसानले समयमा धान रोप्न पाएका छैनन्’, राईले भने । यस वर्ष मनसुन पर्याप्त नभएको, पानीका मूल नफुटेका, जमिनमा पानीको तह घट्नुका साथै सिँचाइ अभावले कम रोपाइँ भएको उनको भनाइ छ । कूलो र नहरको सुविधा भएका, खोला र खोल्सा क्षेत्र छेउछाउमा रहेका खेतमा रोपाइँ सकिएको बताउँदै आकासे पानीको भर परेर रोपिने ठाउँ बाँझै रहेका प्रमुख राईले बताए। रोपेका ठाउँमा पनि सिँचाइ नहुँदा खेतका गह्राहरू चर्किन थालेका किसानले बताएका छन् । साउन दोस्रो सातासम्म पनि रोपाइँ गर्न नपाउँदा यस वर्ष धान उत्पादन गर्न नसकिने चिन्तामा किसान छन् । इलामको तल्लो क्षेत्र अर्थात् चुलाचुली गाउँपालिका, माई नगरपालिका तथा माङसेबुङ, फाकफोकथुम, रोङ, माईजोगमाई, सन्दकपुर गाउँपालिका र देउमाई, इलाम र सूर्योदय नगरपालिकाका तल्लो क्षेत्रमा धानखेती हुने कृषि ज्ञान केन्द्रले जनाएको छ । यहाँको माई नगरपालिका र रोङ गाउँपालिकाका किसानले उन्नत जातका रावित्री र रञ्जित खेती गर्दै आएका छन् । अन्य क्षेत्रका किसानले बेलकुटी, चिराखे, अटे, चुल्ठे, भँगेरे, टिमुरे, बयर्नी, रामतुलसी, रुदुवा, नानिया, चम्पासरी, तापमारालगायत स्थानीय जातका धानखेती गर्ने केन्द्रका प्रमुख राईले जानकारी दिए । उनका अनुसार यहाँको माई नगरपालिका, चुलाचुली गाउँपालिका र इलाम नगरपालिकामा सबैभन्दा बढी धानखेती हुँदै आएको छ । रासस

विकासन्युजमा समाचार आएपछि एनपीएलएको आयव्यय सार्वजनिक गर्न बाध्य भयो क्यान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)  नेपाल प्रिमियर लिग (एनपीएल) को आय-व्यय सार्वजनिक गर्न बाध्य भएको छ । विकासन्युज डटकमले एनपीएलको आम्दानी र खर्चको समाचार लेखेपछि क्यान आय-व्यय सार्वजनिक गर्न बाध्य भएको हो ।  एनपीएल आयोजना भएर सम्पन्न भएको करिब एक वर्ष समय पुग्नै लाग्दासम्म पनि आय-व्यय सार्वजनिक नगरेको क्यानले गत मंगलबार विकासन्युजले एनपीएलको आयव्यय सार्वजनिक गरेपछि क्यान औपचारिक  रुपमा हिसाब किताब सार्वजनिक गर्न बाध्य भएको हो ।  एनपीएलको हिसाब किताब सार्वजनिक गर्न बिहीबार क्यानको बोर्ड बैठक बसेको छ । मुलपानीमा बसेको बैठकले एनपीएलको पहिलो संस्करणको आय-व्ययको जानकारी गराउने र त्यसलाई अनुमोदन गर्ने एजेण्डामा छलफल गर्दैछ ।  बैठकमा दोस्रो संस्करणको तयारी र एनपीएलको विषयमा छलफल हुने क्यान स्रोतले बतायो । विकासन्युजले गत मंगलबार स्राेतकाे उल्लेख गर्दै क्यानले एनपीएलबाट साढे एक अर्ब रूपैयाँ प्राप्त गरेको र करिब २० करोड रुपैयाँ खर्च गरेको समाचार सार्वजनिक गरेको थियो । 

आज खीर दिवस नेपाली समाजमा खीर खाएर मनाइँदै, यस्तो छ महत्व

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा दूधमा मर मसलालगायत चीजबीच हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन् । संस्कृत भाषामा ‘पायस’ भनिने खीर सात्त्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्राडा रामचन्द्र गौतम बताउँछन् । ‘साउन महिनामा गाउँघरमा पनि खेतिपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । धेरै घाँस पाइने बेलामा गाई-भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र र चेलीबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो । यो स्वास्थ्यका हिसाबले पनि उत्तम मानिएको छ,’ उनले भने ।  साउन भगवान शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधि पूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् गौतमको भनाइ छ । यसको कुनै शास्त्रीय वचन भने नरहेको उनले बताए ।  ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएकालाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो । वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रूपमा गाईको दूधमा पायस अर्थात् खीर बनाएर खुवाउने चलन अझै कायमै छ । चामल, सावधाना, सेवई, मकै, गाजर लगायतको खीर बनाउने गरिन्छ । सावधानलाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी, साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीर पनि बनाएर खाने चलन छ । नेपाली वृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्यपदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरिएको छ । नेपाली समाजमा असार १५ गते दही च्युरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ लाई खीर खाने दिन अर्थात् खीर दिवसका रूपमा मनाउने गरेको छ ।