सिटी एक्सप्रेस मनी ट्रान्सफरले युएईमा सांगीतिक कार्यक्रम गर्दै
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले युएईमा सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले यही आउदो मे १९ तारिख युएईस्थित बरदुबईको एसके ७ क्लबमा सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा नेपालका प्रसिद्ध कलाकारहरुले आफ्नो प्रस्तुती दिने छन् । चर्चित हास्य कलाकार तथा सिटी एक्स्प्रेस मनी ट्रान्सफरका ब्रान्ड एम्बेस्डर जितु नेपाल, चर्चित आधुनिक गायिका मिलन नेवार, लोकप्रिय लोक दोहोरी गायक खेम सेन्चुरी, गायिका शान्ती परियार र कलाकार अन्जली अधिकारीले विशेष प्रस्तुती दिने भएका छन् । सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा प्रयोग गरेर युएई बाट थुप्रै नेपालीहरुले आफ्नो घर परिवारमा सुरक्षित तरिकाले आफ्नो दुखको कमाइ पठाउन सकिरहेका छन् । आफ्नो ग्राहक वर्ग तथा युएईस्थित सम्पूर्ण नेपालीहरुलाई मनोरनञ्जन दिलाउने हेतुले कार्यक्रम आयोजना हुन लागेको सिटी एक्सप्रेस मनी ट्रान्सफरले जानकारी दिएको छ । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत १७ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।
५६ वटा बैंकमा खाता खोली क्रिप्टोमा २ अर्ब बढीको कारोबार, अनिल परे जेलमा
काठमाडौं । विभिन्न अनलाइन ब्याटिङ साइटमा सट्टेबाजी गर्ने र क्रिप्टोकरेन्सी कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रे मण्डनदेउपुर ८ स्थायी घर भई भक्तपुर बस्दै आएका २४ वर्षका अनिल ढुंगानालाई प्रहरीले प्रक्राउ गरेको हो । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनीसँग विभिन्न व्यक्तिहरुका नाममा रहेका मोबाइल नम्बरबाट ११ वटा कनेक्ट आईपीएस, १५ वटा इसेवा वालेटमा लिंक गरिएका ५६ वटा बैंकमा हालसम्म २ अर्ब १ करोड १८ लाख ४४ हजार रुपैयाँ कारोबार गरेको भेटिएको छ । त्यसैगरी बिनान्समार्फत २ वटा खाता प्रयोग गरेर विभिन्न २४३ प्रकारका क्रिप्टो करेन्सीमा हालसम्म १ अर्ब ३४ करोड रुपैयाँ कारोबार गरेको भेटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका ढुंगानालाई जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ । उनीमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १२५ जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा कारबाही गरिनेछ ।
दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित पक्राउ परेका दुवैजना सुन तस्करीमा संलग्न
काठमाडौं । स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित काठमाडौं दरबारमार्गबाट पक्राउ परेका दुईजना यसअघि सुन तस्करीमा संलग्न रहेको पाइएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले बिहीबार राति दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुई जनालाई पक्राउ गरेर अनुसन्धान गर्दा उनीहरू सुन तस्करीमा संलग्न रहेको तथ्य फेला परेको हो । उनीहरुलाई बा १३ च ४८५८ नम्बरको गाडीमा स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको थियो। बिहीबार बिहान २८ वर्षीय समीर सुनार र २९ वर्षीय मिलन विक दुवैजना बुटवलका रहेको र दुवैजना यसअघि सुन तस्करीमा पक्राउ परेर छुटेको प्रहरीले जनाएको छ।