ग्यास सिलिण्डर चुहावट हुँदा वृद्ध घाइते
सुरुङ्गा । ग्यास सिलिन्डर चुहावट भएर आगलागी हुँदा आज झापाको सुरुङ्गामा ८१ वर्षीया वृद्ध घाइतेभएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्दबहादुर खड्काका अनुसार कनकाई नगरपालिका– ३ सुरुङ्गास्थित ध्रुव श्रेष्ठको घरमा आगलागी हुँदा सोही घरमा डेरा गरी बस्ने ८१ वर्षीया बाटुलीमाया दाहाल घाइते भएका हुन् । दाहालले खाना पकाउने क्रममा ग्यास चुहावट हुँदा आगलागी भएको थियो । उनको शरीरको विभिन्न अङ्ग जलेको प्रहरीले जनाएको छ । स्थानीयवासी र इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी टोलीले उनको तत्काल उद्धार गरी कनकाई नगर अस्पताल उपचारार्थ पुर्याए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज लगेको प्रहरीले जनाएको छ । आगलागीका कारण कोठाभित्र रहेका अन्नपात र लत्ताकपडा सहित अन्य सरसामान जलेर पूर्णरुपमा नष्ट भएको छ । इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी नायब निरीक्षक सुवास ढुङ्गानाको कमाण्डमा खटिएको प्रहरीको टोली, स्थानीयवासी र बरुणयन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिएको बताइएको छ ।
डीएभी कर्पोरेट फुटसल सम्पन्न : खेलमार्फत उद्योग र शिक्षाबीचको सहकार्यलाई मजबुत बनाउँदै
ललितपुर । डीएभी बिजनेस स्कुल र ह्युमन रिसोर्सेज सोसाइटी नेपालको संयुक्त आयोजनामा सम्पन्न दोस्रो डीएभी कर्पोरेट फुटसल प्रतियोगिता २०२५ ले उद्योग र शैक्षिक क्षेत्रबीचको सहकार्यलाई खेलकुदमार्फत सशक्त बनाएको छ । जुलाई ३० देखि अगस्ट २ सम्म सञ्चालित प्रतियोगितामा बैंकिङ, बीमा, आईटी, अटोमोबाइल, उत्पादन र ट्रेडिङ क्षेत्रका ३२ कर्पोरेट टोली सहभागी भएका थिए । प्रतियोगिताले मित्रता, समूहगत भावना, व्यावसायिक सञ्जाल विस्तार तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्य राखेको थियो । भव्य उद्घाटन समारोहमा नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान भरत खवास, ह्युमन रिसोर्सेज सोसाइटी नेपालका अध्यक्ष टेकराज शर्मा र डीएभी बिजनेस स्कुलका अध्यक्ष अनिल केडियाले खेलकुदको भूमिका, सहकार्य र व्यावसायिक एकताका सन्दर्भमा मन्तव्य व्यक्त गरेका थिए । प्रतियोगिताको फाइनल खेल डिश होम र कोड हिमालयबीच रोमाञ्चक रूपमा सम्पन्न भयो। डिश होम विजेता बन्दै १ लाख रुपैयाँ नगद, ट्रफी र मेडल प्राप्त गर्न सफल भयो भने कोड हिमालय उपविजेता बन्दै ५५ हजार रुपैयाँ नगद, ट्रफी र मेडल जित्न सफल भयो । सहभागी सबै टोली, प्रायोजक, रेफ्री र स्वयंसेवकहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो। डीएभी बिजनेस स्कुलले सहभागी सबैप्रति आभार व्यक्त गर्दै आगामी संस्करणलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।
थुनामुक्त गर्न माग गर्दै रविले दिए रुपन्देही जिल्ला अदालतमा निवेदन
बुटवल । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी अभियोगमा रुपन्देही कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले थुनामुक्त गराउन माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दिएका छन् । राजनीतिक प्रतिशोधका आधारमा आफूलाई थुनामा राखिएको दाबी गर्दै लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहा गर्न माग गरेका हुन् । निवेदनमा उनले सहकारी ठगीमा आफू संलग्न नरहेको र आफ्नो भागको बिगो बराबर रकम बैंकमा जमानत राखेर थुनामुक्त हुन पाउनुपर्ने उल्लेख छ । रास्वपाको केन्द्रीय सचिवालयका अनुसार यो निवेदन साउन १९ गते अदालतमा दर्ता गरिएको भए पनि विषयलाई तीन दिनसम्म सार्वजनिक गरिएको थिएन । पार्टीका रुपन्देही जिल्ला सभापति डा. बुद्धिप्रसाद शर्माले बिहीबार मात्रै निवेदनबारे जानकारी पाएको बताएका छन् । लामिछाने हाल रुपन्देही कारागारमा चैत २५ गतेदेखि थुनामा छन् । उनलाई काठमाडौं सरुवा गराउने प्रयास भएको भए पनि गृह मन्त्रालयले रोकेको थियो । यसअघि जिल्ला अदालत रुपन्देहीले सुप्रिम सहकारी प्रकरणमा लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर, उच्च अदालतले उक्त आदेश उल्ट्याउँदै उनलाई पुर्पक्षका लागि थुनामा राख्न निर्देशन दिएको थियो । निवेदनमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ अनुसार अदालतले धरौटी, जमानत वा बैंक जमानतमा अभियुक्तलाई थुनामुक्त गराई तारिखमा राख्न सक्ने कानुनी व्यवस्था उल्लेख गर्दै त्यसै आधारमा रिहा गरिनुपर्ने माग गरिएको छ । रविले यसअघि पनि सोही प्रकरणमा ८४ दिन हिरासतमा बसेपछि रिहा भएका थिए भने त्यसपछिका २५ दिनमात्र बाहिर बसेका थिए ।