बालप्रतिभाको तालमा गुञ्जियो मादल : वाद्यसम्राट न्हुच्छे डंगोल प्रतियोगिताको ग्रान्ड फिनाले सम्पन्न
काठमाडौं । नेपाली सांगीतिक परम्परालाई जगेर्ना गर्दै बालबालिकाको लुकेका प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको 'प्रथम वाद्यसम्राट न्हुच्छे बहादुर डंगोल जुनिअर बिट मास्टर मादल कम्पिटिसन २०८२' को ग्रान्ड फिनाले भव्यरूपमा सम्पन्न भएको छ। नयाँबजारस्थित मनास्लु स्कूलरकलेजमा सम्पन्न प्रतियोगितामा देशभरिका २३ विद्यालय तथा सांस्कृतिक संस्थाबाट छनोट भएका ३९ जना बालप्रतिभाहरूले मादलमा आफ्नो लय, ताल र सिर्जनशीलता प्रस्तुत गरेका थिए । 'सानो हात, ठूलो ताल (मादलमा भविष्यको चाल) भन्ने नारासहित सञ्चालन भएको प्रतियोगिताले दर्शक र निर्णायक दुवैको मन जित्न सफल भएको थियो । कार्यक्रमका प्रमुख अतिथि वाद्यसम्राट न्हुच्छे बहादुर डंगोल स्वयं उपस्थित भई बालप्रतिभाहरूलाई हौसला र प्रेरणा प्रदान गरेका थिए । साथै, फियूसन जात्रा ब्यान्ड र हेरिटेज पल्स कनसरभेटरीको विशेष सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप रंगीन बनाएको थियो । प्रतियोगिताको निर्णायक मण्डलले प्रस्तुति, लय, ताल, आत्मविश्वास र सिर्जनात्मकतालाई मूल्यांकनको आधार बनाउँदै उत्कृष्ट प्रतिभाहरूलाई छनोट गरेको थियो। सहभागी ३९ जनामध्ये पाँच जनालाई विजेता घोषित गरिएको थियो । प्रतियोगितामा समिर डंगोल (न्यु जेनिथ अंग्रेजी मोडल स्कुल)ले प्रथम स्थान हात पार्दा, सुजल श्रेष्ठ (मोडल स्कुल) ले द्वितीय र प्रसन्न महर्जन (काठमाडौं म्युजिक मादल) ले तृतीय स्थान हासिल गरे। त्यस्तै, प्रभात तामाङ (फ्यूचर स्टार बोर्डिङ स्कुल) चौथो र आर्यन पुरी (एन्जल लर्ड एकेडेमी) पाँचौं स्थानमा रहेका थिए। विजेताहरूलाई ट्रफी, प्रमाणपत्र, नगद पुरस्कार र विभिन्न सांगीतिक सामग्रीहरू प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको आयोजना कल्स इभेन्ट ले गरेको हो । संस्थाका अध्यक्ष सञ्जय महर्जनले आगामी वर्षदेखि प्रतियोगितालाई अझ व्यापक बनाउँदै राष्ट्रिय स्तरमा विस्तार गर्ने योजना रहेको जानकारी दिए । उनले बालबालिकाको सांगीतिक प्रतिभा विकास र नेपाली सांस्कृतिक सम्पदाको संरक्षणमा निरन्तर लागिरहने प्रतिबद्धता पनि व्यक्त गरे ।
मुख्यमन्त्री लामाले आज राजीनामा दिँदै
काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आइतबार पदबाट राजीनामा दिने तयारी गरेका छन् । मुख्यमन्त्री लामाको राजीनामा आजै आउने भएपनि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा काठमाडौंमा उपचाररत रहेकाले प्रक्रिया केही ढिला हुनसक्ने देखिएको हो । प्रदेश प्रमुख देवकोटा हेटौंडा फर्किएपछि मुख्यमन्त्रीले राजीनामा बुझाउने तयारी छ । तर उनी समयमै नफर्किए राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा दर्ता गरिने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । मुख्यमन्त्री लामामाथि राजीनामाको दबाब नेपाली काँग्रेस वागमती प्रदेश संसदीय दलको नेतामा भएको निर्वाचनमा पराजित भएपछि आएको हो । उनले उक्त निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग पराजय व्यहोरेका थिए । लामाको राजीनापछि वागमती प्रदेशको नयाँ मुख्यमन्त्री काँग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ हुने निश्चित जस्तै छ । प्रदेश सरकारको नेतृत्व गर्ने विषयमा काँग्रेस र नेकपा एमालेबीच एक वर्षअघि भएको सहमतिअनुसार बानियाँले आगामी आठ महिना मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन् ।
कालीगण्डकीको बहाब यस वर्षकै उच्च विन्दुमा, विश्वको ठूलो शालिग्राम शिला डुबानमा
काठमाडौं । लगातारको वर्षाका कारण कालीगण्डकी नदीको बहाब उच्च विन्दुमा पुगेको छ । मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अत्यधिक वर्षाका कारण नदीको सतह बढेको हो । आज बिहान यस वर्षयताकै उच्च विन्दुमा नदीको सतह पुगेको कालीगण्डकी नदीमा पानीको बहाब उच्च भएको गेजरिडर कृष्णप्रसाद सुवेदीले जानकारी दिए । उनले बिहानदेखि नदीको सतहदेखि ६ मिटर ४० सेन्टिमिटरको उचाइमा बहाब भइरहेको बताए । यो यस वर्षकै सबैभन्दा बढी मापन हो । यसअघि आज बिहान ७.४० मिटरको विन्दुसम्म पुगेको थियो । वर्षा रोकिएकाले बहाब घट्दै जाने सम्भावना रहेको उनले बताए । कालीगण्डकी नदीको बहाब बढेपछि तटीय क्षेत्रका बासिन्दा जोखिममा परेका छन् । पर्वतको जलजला गाउँपालिकाको बगरफाँट, वारीबेनी, मिलनचोक, लस्ती, खनियाँघाट, कुश्मा नगरपालिकाको मालढुङ्गा, नयाँपुल, मोदीवेणी, फलेवास नगरपालिकाको जैमिनीघाट र विहादी गाउँपालिकाको सेतीवेणीबजार उच्च जोखिममा परेका हुन् । बहाबले पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा अवस्थित विश्वकै ठूलो शालिग्राम शिलासमेत डुबानमा परेको छ । शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डितसमेत चिन्तित बनेका छन् । प्रवित्र शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तललगायतका सबै संरचना डुबाएको तिलक पराजुलीले जानकारी दिए । शिला संरक्षणका लागि बनाएको तटबन्ध र ग्याबियनसमेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जाने पूर्वाधार पनि पूर्ण रूपमा क्षति पुगेको उनले बताए । कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा पर्ने सेतीवेणीबजार डुबानको खतरामा पर्ने गरेको हो । बाँधका सबै ढोका भने खोलिएका छन् । कालीगण्डकी र सेतीखोलाको बहाब बढेसँगै सेतीवेणीबजार डुबानमा पर्ने चिन्ताले पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्जातर्फको बजार क्षेत्रका झण्डै दुई सय व्यापारी तथा सर्वसाधरण जोखिममा परेका छन् । विगत १६ वर्षअघि कालीगण्डकी र सेतीखोला उर्लेर आउँदा तीन दर्जन घरपरिवार विस्थापित बनेका थिए । २१ असोज २०६६ मा बजार क्षेत्र नै डुबानमा परेको घटनाले उनीहरूमा सधैंभर त्रास थप्ने गरेको स्थानीय व्यावसायी विष्णु न्यौपानेले बताए । उनले विश्वकै ठूलो शालिग्राम शिला डुबेको तर बजारसम्म भने आइनसकेको जानकारी दिए । रासस