स्ट्याग ग्लोबल च्याम्पियन्स लिगको तेस्रो संस्करण हुने
काठमाडौं । नेपाली टेबलटेनिसकै ठूलो घरेलु प्रतिस्पर्धाको रूपमा रहेको स्ट्याग ग्लोबल च्याम्पियन्स लिगको सिजन तीन आगामी भदौको पहिलो साता हुने भएको छ। विभिन्न देशका खेलाडीलाई अनुवन्ध गरी नेपाली क्लवहरूले स्ट्याग ग्लोबल च्याम्पियन्स लिगमा प्रतिष्पर्धा गर्दै आएका छन् । नेपाल टेबल टेनिस संघको तत्वावधन र स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीको आयोजनामा चार राष्ट्रका विदेशी खेलाडी सहभागी हुने च्याम्पियन्स लिगको तेस्रो सिजन हुन लागेको हो । स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीको आयोजना २०८० सालदेखि यो प्रतियोगिता हुँदै आएको छ । यो एकेडेमी नवौंपल्ट नेपाल च्याम्पियन नविता श्रेष्ठले सञ्चालन गर्दै आएकी छन् । सोही एकेडेमीले नेपाली टेबल टेनिसमा उत्कृष्ट घरेलु प्रतियोगिताको रूपमा च्याम्पियन्स लिग गर्दै आएको छ । आगामी भदौ १ देखि ६ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै स्ट्याग च्याम्पियन एकेडेमीले प्रतियोगिताबारे जानकारी दिएको हो । यसपल्ट याला टेबल टेनिस, होप्स टेबल टेनिस एकेडेमी, एभिएम टेबल टेनिस क्लब, द ड्रागन क्लब, कीर्तिपुर नगरपालिका, भोर्टेक्स नेपाल, वल्ड हाउस रेस्ट्रो, टप स्पिन टेबल टेनिस गुड्स नेपाल, खोल्छा पुखु खेलकुद समिति गरी कुल १० क्लबहरूले उपाधिका लागि चुनौती प्रस्तुत गर्नेछन् । पछिल्ला संस्करणमा आठ टोलीले प्रतिस्पर्धा गरे पनि यसपल्ट टोलीको सहभागिता बढाइएको छ । एकेडेमीकी अध्यक्ष नतिवा श्रेष्ठले डिजिटल लाइटका साथै खेलस्थलाई आकर्षक बनाउँदै प्रतियोगिता आयोजना गर्ने बताइन् । टेबल टेनिसको शक्ति राष्ट्र चीनका साथै भारत, पाकिस्तान र चाइनिज ताइपेइका खेलाडीले विभिन्न क्लबमा आबद्ध रहेर प्रतिस्पर्धा गर्नेछन् । हरेक टोलीमा एक महिला र पुरुष विदेशी खेलाडी रहनेछन् । पछिल्ला संस्करणको तुलना पुरस्कार राशि पनि बढाएर चार लाखबाट ६ लाख रुपैयाँ पुर्‍याइएको एकेडेमीका निर्देशक नबिताले जानकारी दिइन् । लिगको विजेताले तीन लाखसहित रनिङ ट्रफी, उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने दुई टोलीले समान ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । बुधबार नै पत्रकार सम्मेलनमार्फत आयोजक च्याम्पियन्स एकेडेमीले तीन सहप्रायोजकहरू सामाजसेवी सुमन खड्गी, मेटल सेपर्स, मेटलवुड नेपाल, बागमती खेलकुद विकास परिषद्, डेल्टा अटोकोर्प, सेल्ट्रोन नेपाल प्राली र कल मोबिलिटी प्रालीसँग सम्झौता गरिएको थियो । पहिलो संस्करणको एभिएम र दोस्रो संस्करणमा नेपाल पुलिस क्लब च्याम्पियन हो । यसपल्ट भने विभागीय टोली समावेश गरिएको छैन ।
आर्थिक अपराधमा तीव्र वृद्धि, ६ हजारभन्दा बढी बैंकिङ कसुर मुद्दा
काठमाडौं । पछिल्लो समय आर्थिक अपराधमा वृद्धि भएको पाइएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार सबैभन्दा बढी मुद्दा दर्ता बैंकिङ कसुरमा हुने गरेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले मुख्य १० वटा सबैभन्दा बढी दर्ता भएको मुद्दालाई विश्लेषण गर्दा बैंकिङ कसुर पहिलो नम्बरमा रहेको बताए । बुधवार परिसरमा आयोजित पत्रकार सम्मेलनमा उनले गत आर्थिक वर्ष २०८१/०८२ मा ६ हजार ५ सय ५३ वटा मुद्दाहरु बैंकिङ कसुरका दर्ता भएको जानकारी दिए । गतवर्ष १२ हजार ९ सय १५ वटा मुद्दा दर्ता भएका थिए । उनका अनुसार बैंकिङ कसुरपछि अभद्र व्यवहारका मुद्दा १ हजार ९ सय ५३ वटा रहेका छन् । त्यसपछि क्रमशः चोरी, ठगी, लागुऔषध, आत्महत्या, जबरजस्तीकरणी, ज्यान मार्ने उद्योग, सवारी ज्यान र अंगभंगका घटनाहरु रहेको उनले जानकारी दिए । चोरीका ९५१, ठगीका ७४७, लागूऔषधका ४३१, आत्महत्याका ३३२, जबर्जजस्ती करणी २४४, ज्यान मार्ने उधोग १४०, सवारी ज्यान १०० र सवारी अंगभंग ७४ वटा मुद्दा दर्ता भएका छन् । औसतमा दैनिक ३५ वटा मुद्दा दर्ता भएको देखिएको प्रहरी प्रमुख पोखरेलले जानकारी दिए । उनका अनुसार यी १० प्रकारका मुख्य संख्याका अपराधहरूले जम्मा मुद्दाको ८९ प्रतिशत हिस्सा ओगटेका छन् । यस्तै, उनले काठमाडौं जिल्लामा ८ सय १५ जना प्रहरी दरबन्दी रिक्त रहेको पनि जानकारी दिए । काठमाडौं जिल्लाको लागी कुल दरबन्दी कुल दरबन्दी ४ हजार १६ भएपनि हाल ३ हजार २ सय ३३ जना प्रहरी जनशक्ति कार्यरत रहेको उनले बताए । जिल्ला प्रहरी परिसर काठमाडौंले गतवर्ष फैसला कार्यान्वयनतर्फ ५ हजार ५ सय १२ जनाबाट २४ करोड २० लाख ९४ हजार ८५९ रुपैयाँ जरिवाना असुल गरेको छ । यस्तै, ६ करोड ८५ लाख ५० हजार १०६ रुपैयाँ बराबरको हुण्डी रकम बरामद गरेको छ । कार्यालयले १२ करोड ७५ लाख ८ हजार ८ सय २८ रुपैयाँ राजस्व दाखिला समेत गरेको छ ।
क्लियर स्याम्पु ब्रान्ड मार्फत इङ्लिस प्रिमियर लिग प्रत्यक्ष प्रसारण हुने
काठमाडौं । युनिलिभर नेपालले आफ्ना प्रमुख हेयर केयर ब्रान्ड ‘क्लियर’ मार्फत इङ्लिस प्रिमियर लिगलाई नेपाली दर्शकमाझ प्रत्यक्ष रूपमा ल्याउने रोमाञ्चक सहकार्यको घोषणा गरेको छ । यो साझेदारी युनिलिभरको विश्वव्यापी फुटबलप्रतिको प्रतिबद्धता र उपभोक्तासँग अर्थपूर्ण सम्बन्ध निर्माण गर्ने लक्ष्यको प्रतिविम्ब हो । युनिलिभरको पर्सनल केयर डिभिजन सन् २०२७ सम्मका लागि फिफाको आधिकारिक ग्लोबल पार्टनर रहँदै आएको छ, जसमा २०२६ को फिफा वल्र्ड कपसहित प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिताहरू समावेश छन् । यस्ता सहकार्यहरूले खेलकुदको शक्ति समुदायलाई एकताबद्ध गर्न र आत्मविश्वास जगाउन मद्दत पुर्याउने कम्पनीको विश्वास छ । इपीएल साझेदारीअन्तर्गत, क्लियरले विश्व फुटबलका स्टार क्रिस्टियानो रोनाल्डो र एरलिङ हालान्डसँगको सहकार्यमार्फत आत्मविश्वास र प्रदर्शनको सन्देश फैलाउँदै आएको छ। अब नेपाली दर्शकहरूले कान्तिपुर मिडिया ग्रुपका टेलिभिजन तथा डिजिटल प्लेटफर्ममार्फत प्रत्यक्ष रूपमा रोमाञ्च अनुभव गर्न सक्नेछन् । युनिलिभर नेपालका प्रबन्ध निर्देशक अमलान मुखर्जीले नेपाली दर्शकमाझ ल्याउन पाउँदा गर्व लागेको बताए । 'फुटबल केवल खेल मात्र नभई साझा भावना हो, जसले सीमाना नाघेर मानिसहरूलाई जोड्छ,' उनले भने । कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत महेश स्वरले पनि यो सहकार्यलाई नेपाली दर्शकका लागि उच्चस्तरीय फुटबल मनोरञ्जन उपलब्ध गराउने महत्वपूर्ण कदमको रूपमा व्याख्या गरे ।