खतिवडा सेवा समाज र ग्रीनसिटी अस्पतालबीच स्वास्थ्य उपचारमा सहुलियत दिन समझदारी

काठमाडौं । खतिवडा सेवा समाज नुवाकोट र ग्रीनसिटी अस्पताल, काठमाडौंबीच स्वास्थ्य उपचारमा सहुलियत दिने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी अनुसार समाजका सदस्य र उनका परिवारका सदस्यहरूले ग्रीनसिटी अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा छुट पाउनेछन् । यसले सदस्यहरूलाई गुणस्तरीय उपचार सहज र किफायती दरमा उपलब्ध हुने अपेक्षा गरिएको छ । समझदारी अनुसार खतिवडा सेवा समाजले आफ्ना सदस्यहरूलाई सदस्यता कार्ड उपलब्ध गराउनेछ र सोही कार्डका आधारमा अस्पतालका सेवामा विशेष सुविधा प्राप्त गर्न सकिनेछ । साथै, समाजले अस्पताललाई आफ्नो स्वास्थ्य साझेदार भनेर घोषणा गर्दै अस्पतालका कार्यक्रमहरूको प्रवर्द्धन गर्ने जिम्मेवारी लिनेछ । स्वास्थ्य शिविर सञ्चालनमा अस्पतालले प्राविधिक व्यवस्थापन गर्ने भने समाजले समग्र व्यवस्थापन गर्नेछ । यो सम्झौता भदौ १ गतेदेखि लागू भई दुई वर्षसम्म रहने व्यवस्था गरिएको छ । आवश्यक परेमा दुवै पक्षको सहमतिमा यसलाई थप अवधि बढाउन वा संशोधन गर्न सकिनेछ । समझदारीपत्रमा हस्ताक्षर गर्दै खतिवडा सेवा समाज नुवाकोटका अध्यक्ष विकास खत्रिवडाले आफ्ना सदस्यहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै गरिएको यो कदमले सदस्यहरूलाई ठूलो लाभ पुग्ने विश्वास व्यक्त गरे । त्यस्तै, ग्रीनसिटी अस्पताल प्रालिका अध्यक्ष लोक बहादुर टण्डनले आपसी सहकार्यले समाजका सदस्यलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज बनाउने बताए । समाज र अस्पताल दुवैले यस सम्झौतालाई सदस्यहरूको स्वास्थ्य र कल्याणका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् ।  

नेपालले जलवायु परिवर्तनको दुःखद् अनुभव व्यहोरिरहेको छ : मन्त्री ठकुरी

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालले जलवायु परिवर्तनको दुःखद् अनुभव व्यहोरिरहेको बताएका छन् । सोमबार काठमाडौंमा हिन्दुकुश हिमालय संसदीय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  उनले हालै रसुवा जिल्लामा ठूलो बाढी, पहिरोबाट धेरै जनाले ज्यान गुमाउनुका साथै अर्बौं नोक्शानी भएको बताए । तराई, मधेसमा लामो समय वर्षा नहुँदा खानेपानीको समस्या हुनुका साथै किसानले धान रोप्न नपाएको बताए । समयमा किसानले खेत रोप्न नपाउँदा आउँदा दिनमा खाद्य सुरक्षामा समस्या आउने अवस्था सिर्जना भएको बताए । जलवायु परिवर्तनबाट महिला, बालबालिका र विपन्न समुदाय सबैभन्दा पीडित रहेको जानकारी दिए ।  जलवायु वित्तमा समान र सहज पहुँच सुनिश्चित गर्न माग गरे । नेपालमा जैविक विविधताको क्षेत्रमा ठूलो लगानी भएको भएको बताए । न्यून कार्बन उत्सर्जन गर्दागर्दै पनि नेपालले जलवायु परिवर्तनको गहिरो असर भोग्नुपरेको बताए ।  ‘यस वर्षमात्रै नेपालले जलवायु परिवर्तनका दुःखद् अनुभव व्यहोनुपर्यो । हालै रसुवा जिल्लामा ठूलो बाढी, पहिरोबाट धेरै जनाले ज्यान गुमाउनु भयो । अर्बौं सम्पती नोक्शानी परेको छ । तराई, मधेसमा लामो समय वर्षा नहुँदा खानेपानीको समस्या र समयमा खेत रोप्न पाएनन् । समयमा किसानले खेत रोप्न नपाउँदा आउँदा दिनमा खाद्य सुरक्षामा समस्या आउने अवस्था सिर्जना भएको छ,’ उनले भने । मन्त्री ठकुरीले हिन्दुकुश हिमालय क्षेत्रका करिब दुई अर्ब नागरिकको पानी, खाद्य र उर्जा सुरक्षाको आधार नेपाल भएको बताए । जलवायु परिवर्तन, जैविक विविधतामा ह्रास आउँदा ठूलो समस्या भइरहेको जानकारी दिए । 

विद्यार्थीलाई आत्मनिर्भरता र जीवनोपयोगी सीप सिकाउँदै नेसनल ओपन स्काउट

काठमाडौं । नेसनल ओपन स्काउट क्र्यूले आयोजना गरेको आठौँ फ्रेण्डसिप लन्च हाइक उत्साहपूर्वक सम्पन्न भएको छ । कृष्ण जन्माष्टमीको अवसरमा कागेश्वरी मनोहरा नगरपालिकास्थित दिव्यश्री एकेडेमी, महाकवि देवकोटा मेमोरियल माध्यमिक विद्यालय, कान्ति भैरव मावि र ओरिएन्टल एकेडेमीमा अध्ययनरत स्काउटका विद्यार्थीहरूको सहभागितामा भक्तपुरको निलबाराही क्षेत्रमा एक दिने हाइक सम्पन्न गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल स्काउटका पूर्व प्रमुख आयुक्त रविन दाहालले यस्ता क्रियाकलापहरूले विद्यार्थीहरूको शारीरिक, मानसिक र नेतृत्व क्षमता अभिवृद्धिमा ठूलो योगदान पुर्‍याउने बताए । उनका अनुसार स्काउटको माध्यमबाट विद्यार्थीहरूले शैक्षिक ज्ञान मात्र नभई जीवनोपयोगी सीप, आत्मनिर्भरता र आपसी सहकार्यको महत्त्व पनि सिक्ने अवसर पाउँछन् । विशेष अतिथि शिक्षाविद् तथा महाकवि देवकोटा मेमोरियल मा।वि।का प्रिन्सिपल रमेश शर्माले स्काउट कार्यक्रमलाई व्यवहारिक जीवन सीपसँग जोडिएको अत्यन्तै महत्त्वपूर्ण अभ्यासको रूपमा वर्णन गरे । उनले पुस्तकको ज्ञानसँगै व्यवहारिक दक्षता र सामाजिक मूल्यमा पनि आजको पुस्ता पारंगत हुनुपर्ने आवश्यकता औंल्याए । दिव्यश्री एकेडेमीका प्रिन्सिपल ज्ञानेन्द्र चौलागाईले स्काउट कार्यक्रमले विद्यार्थीलाई आफ्नो क्षमता पहिचान गर्न, सहकार्यमा रमाउन र भविष्यमा जिम्मेवार नागरिक बन्न प्रेरित गर्ने बताए । कार्यक्रमका सभापति तथा नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक विदुर गिरीले स्काउट हाइकले विद्यार्थीलाई आत्मविश्वासी र व्यवहारिक बन्न प्रेरणा दिने धारणा राखे । उनका अनुसार स्काउटले सानै उमेरदेखि “आफ्नो काम आफैं गर्ने” संस्कार विकास गर्न सहयोग गरिरहेको छ । कार्यक्रममा सहभागी विद्यार्थीहरूले दाउरामा खाना पकाउने अभ्यासदेखि विभिन्न साहसिक खेलसम्मको अनुभव लिए । साथै, स्काउटका पूर्व कार्यसमिति सदस्य देवदूत अधिकारीले कला प्रस्तुति दिएर विद्यार्थी र उपस्थित स्काउट मास्टरलाई मनोरञ्जन समेत गराएका थिए । यस अवसरमा सहायक राष्ट्रिय प्रशिक्षक श्याम लामा, देवदूत अधिकारी, दिपेश केसीलगायतको विशेष उपस्थिति रहेको थियो । कार्यक्रमको सफल संयोजन नेसनल ओपन स्काउट क्र्यूका सिनियर टिममेट रविन फुयालले गरेका थिए ।