आज मनसुन सक्रिय हुने, यी प्रदेशहरूमा  भारी वर्षाको पूर्वानुमान

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन  केही सक्रिय हुने देखिन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानहरूमा र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको तराइको भु–भाग साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति मधेश, कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागमा साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भु–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकी प्रदेशको पहाडी र लुम्बिनी प्रदेशको तराई भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

एनपीएलको दोस्रो सिजन १७ नोभेम्बरदेखि सुरु हुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आगामी नोभेम्बर १७ देखि सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार विज्ञप्ति जारी गर्दै एनपीएल २०२५ को दोस्रो सिजन नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म सञ्चालन हुने जनाएको छ । यसअघि नै एनपीएलका लागि खेलाडीको मिनी अक्सन सम्पन्न भइसकेको क्यानले जनाएको छ । तर प्रतियोगिताको विस्तृत तालिका भने केही समयपछि सार्वजनिक गरिनेछ ।

एकवर्षमा विपद्का घटनाबाट १४ करोड बढीको क्षति

विराटनगर । विपद्सम्बन्धी घटनाबाट एक वर्षमा मोरङमा कुल १४ करोड ९२ लाख २९ हजार ५०० रुपैयाँ बराबरको क्षति भएको छ ।  जिल्ला प्रशासन कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा ४१२ वटा विपद्का घटना घटेका थिए । त्यसमध्ये सबैभन्दा बढी आगलागीका २६१ घटनामा १४ करोड ६५ लाख ४७ हजार ५०० रुपैयाँ बराबरको क्षति भएको छ । चट्याङका ११ घटनामा दुई महिला, एक पुरुषको मृत्यु, दुई घाइते र एक घर क्षति भई तीन लाख ३५ हजार रुपैयाँ बराबरको क्षति भएको उल्लेख छ । त्यसैगरी, डुबानका चार घटनामा ६५ हजार रुपैयाँ, हावाहुरीका सात घटनामा एक घर पूर्णरुपमा र २२ घरमा आंशिक क्षति हुन गई छ लाख ८५ हजार रुपैयाँ तथा जङ्गली जनावरका आक्रमणका ३४ घटनामा दुई महिला र दुई जना पुरुषको मृत्यु एवं १५ लाख ९७ हजार रुपैयाँ मूल्य बराबरको भौतिक क्षति भएको जिल्ला आपतकालीन् कार्य सञ्चालन केन्द्रले जनाएको छ । सो अवधिमा बाढीका १० घटनामा १८७ घरमा क्षति, पहिरो एक, सर्पदंशका ४३ घटनामा चार महिला र चार पुरुषको मृत्यु, भिरबाट लडि एक जनाको मृत्यु र करेन्टका ४०  घटनामा सात महिला र आठ पुरुषको मृत्यु भएको जनाइएको छ । कुल ३६ वटा चौपयाको मृत्यु भएको उल्लेख छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विपद्का घटना थाहा पाउने बित्तिकै नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी स्थानीयको सहयोग लिने गरको बताए ।