साढे ३ सय वर्ष पुरानो मन्दिरको जीर्णोद्धार

वालिङ । साढे तीन सय वर्ष पुरानो इतिहास रहेको यहाँको एक मन्दिरको जीर्णोद्धार गरिएको छ । स्याङ्जाको बिरुवा गाउँपालिका–४ मड्किना गुफास्थित शिवजी मन्दिर तथा श्री १००८ चम्पा गिरी जन्म आश्रमको जीर्णोद्धार गरिएको हो । धार्मिक एवं ऐतिहासिक दृष्टिले महत्वको स्थलका रूपमा रहेको मड्किनास्थित आश्रम तथा मन्दिर २०७२ सालको भूकम्पले क्षति पुर्‍याएको थियो । धेरै वर्ष पुरानो भएको र ढुंगै ढुंगाले बनाइएकाले विनाश भएपछि त्यसको संरक्षणका लागि पुरातत्व विभागले जीर्णोद्धार गरिदिएको हो । सन्यास, सन्यासीहरूको आश्रमस्थलका रूपमा पहिचान बनाएको यो ठाउँ आयुर्वेदसम्बन्धी औषधोपचार केन्द्रका हिसाबले ख्याति पाएको आश्रमका संरक्षक एवं पशुपतिनाथका महन्त वेदान्तचार्य स्वामी गोकुलानन्दले बताए । लेखपढ गर्ने सिकाइ केन्द्रका साथै धर्म, संस्कार र संस्कृतिको केन्द्रका रूपमा आश्रमको छुट्टै पहिचान रहिआएको थियो । तत्कालीन समयमा तीर्थव्रत गर्न जाने श्रद्धालु भक्तजन यही आश्रमको बाटो हुँदै जाने गरेको उनले बताए । गुठी संस्थानमा दर्ता भई सञ्चालनमा रहेको यो नारायणश्वर शिवजी मन्दिर तथा आश्रम पुरानो र जीर्ण हुँदै गएपछि जीर्णोद्धारको काम अगाडि बढेको हो । ‘धर्म संस्कार संस्कृति तथा ऐतिहासिक दृष्टिले यस ठाउँको छुट्टै पहिचान रहेको छ,’ उनले भने, ‘इतिहासको रक्षा र यस ठाउँको पहिचान नामेट हुन नदिन प्रयासरत छौँ ।’ ऐतिहासिक महत्वको यो ठाउँमा रहेका आश्रम तथा मन्दिर जीर्ण भई लथालिंग हुँदै गएपछि यसको संरक्षणका लागि चासो दिएर पुनःनिर्माण गरिएको आश्रम निर्माण समितिका सचिव कृष्ण गिरीले बताए । जीर्ण अवस्थामा रहेको आश्रम र शिवजी मन्दिरको पुनःनिर्माण तथा जीर्णोद्धार गरिएको छ । सोही ठाउँमा साधुसन्तको आवासगृह, व्यवस्थित गौशाला, हवनकुण्ड, यज्ञकुण्ड, शौचालयलगायत भौतिक संरचनाहरु निर्माण गरिएको उनले बताए । ‘समितिसँग निर्माण कार्य गर्न रकम नभएकाले सहयोगी संघसंस्थाबाट आर्थिक संकलन गरी निर्माण कार्य गर्दै आएका छौँ,’ उनले भने, ‘यस ठाउँको प्रचारप्रसारसँगै आर्थिक संकलनका लागि यसअघि महायज्ञसमेत सञ्चालन गरेका थियौँ ।’ गाउँपालिकाले यस ठाउँको महत्वका बारेमा जानकारी गराउन स्थानीय पाठ्यक्रममा चम्पा गिरी जन्मआश्रम तथा नारायणश्वर शिवजी मन्दिरको विषयवस्तुलाई समावेश गरेको छ ।

एएफसी च्यालेन्ज लिग प्ले अफ एक्सन स्पोर्टस् एचडीले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं । एएफसी च्यालेन्ज लिग छनोटको प्ले अफको प्रत्यक्ष प्रसारण डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडीले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । सहिद स्मारक ए डिभिजन लिगको विजेता चर्च ब्वाइज युनाइटेड र भुटानको लिग विजेता पारो एफसीबीच प्ले अफ दशरथ रंगशालामा २९ साउन मंगलबार साँझ ६ः०० बजे सुरु हुने कम्पनीले बताएको छ । यो खेलका लागि चर्च ब्वाइज युनाइटेड टोलीले राष्ट्रिय टोलीका लकेन लिम्बु, सनिश श्रेष्ठ, आयुष घलानसहित केही विदेशी खेलाडीहरुलाई अनुबन्ध गरेको छ । कम्पनीका अनुसार पारो एफसीले जापानका पूर्व स्टार होन्डालाई टिममा भित्राएको छ । होन्डाले ३ पटक विश्व कप खेलिसकेका छन्, उनी एसियाकै स्टार खेलाडी हुन् । होन्डा मात्र होइन यो पटक पारोले कुल ११ विदेशी खेलाडी दर्ता गर्दै टिमलाई मजबुत बनाएको छ ।

वीरगञ्जमा भारतीय नागरिकको कोठामा स्टोरी गरी राखिएको ५ करोडको भेप बरामद

पर्सा । वीरगञ्जमा एक भारतीय नागरिकको कोठाबाट ठूलो परिमाणमा भन्सार छलेर भण्डारण गरी राखेको भेप (इलेक्ट्रिक चुरोट) पर्सा प्रहरीले बरामद गरेको छ । प्रहरीले विशेष सूचनाको आधारमा शुक्रबार करिब १ बजे वीरगञ्ज महानगरपालिका-६ रेल्वेरोड बस्ने रामप्रसाद बरैको घरमा कोठा भाडामा लिइ भारत विहार बस्ने सुदामा प्रसादले अनाधिकृत रूपमा भण्डारण गरी राखेको एल्फबार राया डी ३/ २५००० ब्रान्डको भेप छापा मारेर बरामद गरेको हो । ७६ कार्टुनमा प्रतिकार्टुन २ सय थानको दरले जम्मा १५ हजार २ सय थान भेप बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद भएको भेपको मूल्य करिब ४ करोड ८६ लाख २४ हजार ८ सय रुपैयाँ छ । भेपबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।