इलामका किसान ‘ड्रागनफ्रुट’ मा आकर्षित
इलाम । इलाममा किसान ‘ड्रागनफ्रुट’ (सिउँडी) खेतीप्रति आकर्षित हुँदै गएका छन् । मनग्य आम्दानी हुने भएपछि परम्परागत खेती छाडेर उनीहरु व्यावसायिक ड्रागनफ्रुट खेती गर्न थालेका हुन् । इलामको चुलाचुली गाउँपालिका-३ पेल्टीमारीका किसान प्रवीण लिम्बूले ड्रागनफ्रुट खेतीबाट वार्षिक १२ लाख रुपैयाँ आम्दानी गरेका छन् । एक बिगाहा जग्गामा लगाइएका ३ हजार बिरुवाबाट उनले फल बेचेर ८ लाख र बिरुवा बिक्रीबाट ४ लाख रुपैयाँ आम्दानी गरेका हुन् । ‘यस वर्ष बिरुवा हलक्क बढेकाले उत्पादन अझ बढ्नेछ, जसबाट आम्दानी बढ्ने अपेक्षा गरेको छु’, उनले भने । उद्यमी लिम्बूले आफ्नै ठाउँमा बसेर गुणस्तरीय ड्रागनफ्रुटको फल र बिरुवा उत्पादन गर्दै आएका छन् । तीन वर्षअघि ‘भिलेज एग्रो फार्म’ दर्ता गरी सुरु गरेका उनले मलेसियन प्रजातिको रातो ड्रागनफ्रुट रोपेका छन् । आफूले उत्पादन गरेका ड्रागनफ्रुट र बिरुवाको बजारीकरणमा समस्या नभएको उनको भनाइ छ । ‘उत्पादन गरेको फल बिक्दैन कि भन्ने चिन्ता छैन, फल किन्न झापाका व्यापारी बगानमा नै आउँछन्’, उनले भने, ‘बगानबाट प्रतिकलोग्राम दुई सयदेखि ३ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।’ उत्पादित बिरुवा गाउँपालिका, वडा कार्यालय, स्थानीय फार्म तथा किसानले नै खरिद गर्ने गरेको उनी बताउँछन्। सुरुमा परीक्षणका लागि केही बिरुवा रोपेका उनले त्यसैलाई नै व्यावसायिक रुपमा सुरु गरेका हुन् । अहिले लिम्बूको व्यावसायिक ड्रागनफ्रुट खेतीले पाँच जनाको परिवारलाई स्वरोजगार बनाएको छ । राम्रो आम्दानी हुने भएपछि चुलाचुली गाउँपालिका–२ का अर्का किसान माइतराज लिम्बूले पनि व्यावसायिक ड्रागनफ्रुट खेती थालेका छन् । उनले ६ कठ्ठा जमिन भाडामा लिएर चार सय बोट ड्रागनफ्रुट रोपेका छन् । उनले ‘छथरे ड्रागनफ्रट कृषि फार्म’ दर्ता गरी व्यावसायिक ड्रागनफ्रुट खेती सुरु गरेका हुन् । ‘मैले ड्रागनफ्रुट खेतीबाट वार्षिक दुई लाख ५० हजार रुपैयाँ आम्दानी गर्दै आएको छु’, उनले भने, ‘अन्य परम्परागत खेतीको तुलनामा मेहनत कम र फाइदा पनि बढी हुनेरहेछ ।’ ड्रागनफ्रुट खेती इलामको चुलाचुलीसहित माई नगरपालिका, रोङ गाउँपालिका, माइजोगमाई गाउँपालिका र इलाम नगरपालिकाको तल्लो क्षेत्रमा खेती विस्तार हुँदै आएको छ । एकपटक बिरुवा लगाएपछि समय–समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य गोडमेल गर्नु नपर्ने र रोपेको दुई वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्य खेतीको तुलनामा यसको खेतीबाट राम्रो आम्दानी लिन सकिने लिम्बूले बताए । ड्रागनफ्रुटका लागि उष्ण क्षेत्र उत्तम मानिन्छ । यसको खेती दक्षिण मोहडा भएको प्रशस्त घाम लाग्ने र समुद्री सतहबाट एक हजार पाँच सय मिटर उचाइसम्म भएको जमिनमा गर्न सकिन्छ । यो फल वार्षिक ५० देखि एक सय ५० सेन्टिमिटर वर्षा र २० देखि ३० डिग्री सेल्सियस तापक्रम हुने ठाउँमा खेती गर्दा धेरै लाभ लिन सकिन्छ । नेपालमा यो फललाई सिँचाइ भएको ठाउँ तराई, भित्री मधेस र मध्यपहाडी क्षेत्रमा खेती गर्न सकिने कृषिविज्ञहरू बताउँछन् ।
कोसी कहरको १६ वर्ष : कोही पीडित करोडपति, कोही राहतको पर्खाइमा
सुनसरी । सप्तकोसी नदीको पूर्वी तटबन्ध फुटेको आज १६ वर्ष पूरा भएको छ । बाढीले भएको करोडौंको धनजन क्षति अझै पीडितले भुल्न सकेका छैनन् । घटनाको १६ वर्षमा बल्ल पीडित परिवार पूर्वावस्थामा फर्किंदै छन् । विसं २०६५ भदौ २ गते कोसी नदीको पूर्वी तटबन्ध फुटेर गाउँमा पस्दा सुनसरीको तत्कालीन पश्चिम कुशाहा, श्रीपुरजब्दी र हरिपुर गाविस पूर्णरूपमा तथा लौकही गाविस आंशिकरूपमा डुबान भएका थिए । साबिक पश्चिम कुशाहा गाविस–४ स्थित कोसी नदीको पूर्वी तटबन्धको स्पर नं १२ दशमलव १० तथा स्पर नं १२ दशमलव ९० को बीचमा पानीको धक्काले तटबन्ध फुटेपछि बाढी गाउँमा पसेको थियो । कोसीको भंगालो गाउँमा पस्दा ७ हजार ५६३ घरधुरीका ४२ हजार ७६५ स्थानीय विस्थापित भएका थिए । पीडितलाई राहत, क्षतिपूर्ति तथा पुनः स्थापनाका माग राखेर पीडितले विसं २०६५ भदौ २७ गते आन्दोलनको घोषणा गरेका थिए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले देशवासीको नाममा सम्बोधन गर्दै कोसी पीडित क्षेत्रको समस्या समाधानका लागि एक उच्चस्तरीय कार्यदल गठन गर्ने प्रतिबद्धता जनाए । सोही प्रतिबद्धताअनुसार ०६५ फागुन २२ गते नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट तत्कालीन सभासद् नन्दनकुमार दत्तको संयोजकत्वमा २० सदस्यीय कोसी बाढीपीडित व्यवस्थापन उच्चस्तरीय कार्यदल गठन भयो । सो कार्यदलले यथार्थ प्रतिवेदन तयार पारेर सरकारलाई बुझाएको १६ वर्ष बितिसकेको छ । तर, अझै उक्त प्रतिवेदन पूर्ण रुपमा कार्यान्वन नगरिएको पीडित बताउँछन् । कार्यदलको प्रतिवेदनमा पीडितको वर्गीकरण गरिएको थियो । रातो क्षेत्रमा पर्ने पीडित परिवारमध्येबाट जग्गा सुधारका लागि ट्र्याक्टर खरिद गर्न चाहनेलाई शून्य प्रतिशतमा कर्जा उपलब्ध गराउने, विभिन्न बैंक तथा वित्तीय संस्थाबाट बाँध फुट्नु अघि पीडितले लिएको सम्पूर्ण ऋण मिनाहा गर्ने, पीडित परिवारलाई नेपालभर निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था तीन वर्षका लागि उपलब्ध गराउनेलगायत उल्लेख थियो । कार्यदलले वैदेशिक तथा स्वदेशी रोजगारीमा बाढीपीडित परिवारका बेरोजगार युवायुवतीलाई प्राथमिकता दिने, वैदेशिक रोजगारीमा सरकारी कोटा उपलब्ध गराई निःशुल्क राहदानी दिनेलगायत थुप्रै सुझाव प्रतिवदेनमार्फत सरकारलाई दिएको थियो । तर, ती प्रतिवेदनमा उल्लेख गरिएका सुझावमध्ये आंशिक मात्रै कार्यान्वयन भए । नियमित उब्जाउ हुने खेतमा बालुवा भरिएपछि अझै अधिकांश कृषकले पूर्ण रुपमा खेतीपाती गर्न नपाएको कोसीपीडित संघर्ष समितिका पूर्वअध्यक्ष पञ्चनरायाण मण्डल बताउँछन् । घटनाको एक वर्षपछि पुनःस्थापित भए पनि पूर्ववत् अवस्थामा बालीनाली लगाउन नसक्दा जीविका चलाउनै कठिन भएको स्थानीय विन्देश्वर मेहताले बताए । १६ वर्ष बित्दा पनि विस्थापित र पुनःस्थापित हुँदाको अवस्थामा उल्लेख्यरूपमा सुधार हुन सकेको छैन । सरकारले कोसीपीडितका लागि यस अवधिमा दुई अर्बभन्दा बढी खर्च गरेको छ । तर, खर्चको प्रभावकारी अनुगमन नगरिएको पीडितको गुनासो छ । पीडितले अझै राहतको महसुस गर्न नसकेको स्थानीय अमरेन्द्र झाले बताउँछन् । कृषि, शिक्षा, स्वास्थ्य, पशु, आवास, पुनःस्थापना, पुनर्वास, राहतलगायतको शीर्षकमा सरकारले सहयोग गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । केही कोसी पीडित करोडपति बनेका छन् भने कोही अझै राहतकै पर्खाइमा छन् । कतिपयले विराटनगर, इटहरी, इनरुवा र सहरी क्षेत्रमा घरजग्गा जोडेका छन् । कतिपय एकछाक टार्नै समस्यामा छन् । केहीले पढाउन नसकेर १४ देखि २० वर्षमुनिका छोराछोरीलाई राजधानी काठमाडौं तथा भारतीय सहरमा कमाउन रोजगारीका लागि पठाएको स्थानीय अशोक मेहताले बताए । विस्थापितमध्ये एक हजार ४२२ परिवार सुकुम्वासी थिए । उक्त सुकुम्वासीमध्येका २३५ सुकुम्वासी परिवारले मात्रै प्रतिपरिवार दुई कट्ठा जग्गा र घर पाएका छन् । उक्त बाढीले ४१ जनाको ज्यान गएको थियो ।
पर्सामा ४८९ केजी लागुऔषध चरेससहित एकजना पक्राउ
वीरगञ्ज । पर्साको ग्रामीण भेगबाट ठूलो परिणामको लागुऔषध ओसारपसार हुने गरेको फेला परेको छ । पर्सा प्रहरीले पछिल्ला दिनमा ठूलो परिमाणको लागुऔषध गाँजा र चरेससहित कारोबारी पक्राउ गरेसँगै सो खुलासा भएको हो । जिल्ला प्रहरी कार्यालयले गत साउन ३१ गते ४ सय ८९ किलोग्राम लागुऔषध चरेससहित कालिकामाई गाउँपालिका–१ मुडली बस्ने फुलसरिफ मियाँलाई पक्राउ गरेको हो । प्रहरीले मियाँले बाँसघारीमा खाल्डो खनेर लुकाइराखेको १ सय ९२ किलोग्राम चरेस, २ सय ६७ किलोग्राम लागुऔषध गाँजाको धुलो (पोलान्ड) र ३० किलोग्राम गाँजा फेला पारेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख कुमोध ढुंगेलले विशेष सूचनाका आधारमा पर्साको ग्रामीण क्षेत्रबाट ठूलो परिमाणको लागुऔषध चरेस र गाँजासहित पक्राउ गर्दै आइरहेको बताए । ‘हामीले पर्साका ग्रामीण क्षेत्रमा लागुऔषधको तस्करी हुने सम्भावित क्षेत्रमा उच्च निगरानी गर्दै आइरहेकाले पनि ठूलो परिमाणको लागुऔषधसहित पक्राउ गर्न सफल भएका हौँ,’ उनले भने । प्रहरीले साउन १७ गते पनि ५० किलोग्राम गाँजासहित ठोरी गाउँपालिका–२ सुन्दरबस्ती टोलकी ३० वर्षीया अनिता गुरौंलाई पक्राउ गरेको थियो । गुरौंले आफ्नो घरको पलङभित्र गाँजा लुकाएको भन्ने विशेष सूचनाका आधारमा खानतलासी गर्ने क्रममा सो गाँजा भेट्टाएको थियो । प्रहरीका अनुसार आव २०८०/८१ म लागुऔषध सम्बन्धित दुई सय चार मुद्दा दर्ता भएका थिए । त्यस्तै, आव २०७९/८० मा ३०२ र आव २०७८/७९ मा भने २ सय ३७ लागुऔषधका मुद्दा दर्ता भएका थिए । प्रहरीले आव २०८०/८१ मा चार सय १० किलोग्राम गाँजा बराबद गरेको थियो । त्यस्तै, आव २०७९/८० मा भने १ हजार १ सय ६५ किलोग्राम र आव २०७८/७९ मा पनि १ हजार ३ सय ५० किलोग्राम लागुऔषध बरामद गरेको थियो ।