एन्फाका महासचिव राईको तबल २ लाख ७० हजार पुग्यो, खेलाडीको ३० हजार
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव किरण राईको मासिक तलब २ हजार अमेरिकी डलर हुने निर्णय कार्यसमिति बैठकले गरेको छ । अध्यक्ष पंकजविक्रम नेम्वाङले एजेण्डा नम्बर ८ मा कर्मचारीको सेवा सुविधाबारे छलफलमा महसचिवको तलब २ हजार अमेरिकी डलर अर्थात करिब २ लाख ७० हजार रुपैयाँ पुर्याउने प्रस्ताव राखेका हुन् । केही सदस्यको असन्तुष्टिका बाबजुद यो प्रस्ताव बहुमतले पारित भएको छ । हाल महासचिव किरण राईको मासिक तलब १ लाख २० हजार रहेको थियो । बैठकले राष्ट्रिय खेलाडीको तलब १८ हजार रुपैयाँबाट मासिक ३० हजार रुपैयाँमा वृद्धि गरेको छ । यो निर्णय भने सर्वसम्मतले पारित भएको छ । महासचिव किरण राईले तलब वृद्धिको विषयमा बोल्न चाहेनन् । बैठकबीच प्रवक्ता सुरेश शाहले तलब वृद्धिको निर्णय भएको स्वीकार गरे । बैठकले नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसको सम्झौता थप नगर्ने निर्णय पनि गरेको छ । उनले नेतृत्ववमा नेपालले १९ खेल खेलेको थियो । जसमा मात्र ५ जित दिलाएका थिए । ४ खेलमा बराबरी र १० खेलमा हारको नतिजा आएको थियो । एन्फाले अब खुला प्रतिष्पर्धाबाट नयाँ प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।
कास्की अन्नपूर्णमा बेपत्ता दुई स्पेनी नागरिकमध्ये एक मृत फेला
काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिकामा बेपत्ता दुई स्पेनी नागरिकमध्ये एक मृत फेला परेका छन् । अन्नपूर्ण–९ तिखेढुंगाबाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा एक महिला र एक पुरुष बेपत्ता भएका थिए । तीमध्ये इरिक कासानोभास (पुरुष) मृत भेटिएका हुन् । भुरुङ्दी खोलामा बालुवाले पुरेको अवस्थामा उनलाई मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मोलास जुन्का (महिला) को प्रहरी, पर्यटक प्रहरी र सशस्त्र प्रहरीको गोताखोर समूहले खोजी गरिरहेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का वीरेठाँटी चेकपोस्ट इन्चार्ज यामबहादुर गुरुङका अनुसार उनीहरूले आइतबार बिहान १० बजेर २१ मिनेटमा घोरेपानी पदयात्रामा जानका लागि नाम दर्ता गराएका थिए । घोरेपानी पुग्न उनीहरूले मोटरबाटो छोडेर पुरानो पदयात्रा मार्ग रोजेका हुन् । भुरुङदी खोलाको पुल नजिक पर्यटकका दुई झोला आइतबार साँझ बाटोमा बेवारिसे अवस्थामा भेटिएपछि सोमबार दिनभर खोजी गरेपनि अवस्था पत्ता लाग्न सकेको थिएन ।
रियलमी मिस्टर नेपाल २०२४ को उपाधि झापाका सन्तोष लोक्समलाई
काठमाडौं । रियलमी मिस्टर नेपाल २०२४ को उपाधि झापाका सन्तोष लोक्समले जितेका छन् । शनिबार राति काठमाडौं सोल्टीमोडस्थित होटल सोल्टीमा सम्पन्न ग्राण्ड फिनालेमा शीर्ष उपाधि जितेसँगै सन्तोषले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् भने आगामी नोभेम्बरमा भियतनाममा हुने मिस्टर वल्र्ड २०२४ मा नेपालको प्रतिनिधित्व गर्नेछन् । यसबारे बोल्दै रियलमीको नेपाल र भारतका हेड अफ स्ट्राटेजी मुनिश गिरीले भने, ‘रियलमी मिस्टर नेपाल २०२४ को शीर्ष उपाधी जित्न सफल भएकोमा सन्तोषलाई धेरै-धेरै बधाई दिन चाहन्छौँ । अन्य उपाधी विजेताहरुलाई पनि हार्दिक बधाईका साथै आगामी यात्राको लागि शुभकामना व्यक्त गर्दछौँ । साथै प्रतियोगितामा सहभागि सम्पूर्णलाई धन्यवाद व्यक्त गर्न चाहन्छौँ । मिस्टर नेपाल एउटा प्रतियोगिता मात्र नभएर यस्तो प्ल्याट्फर्म हो जहाँ बाहिरी सुन्दरता मात्र नभएर युवाहरूको समग्र व्यक्तित्वको पहिचान र उच्च मुल्यांकन गरिन्छ । युवाहरुको क्षमता पहिचान गर्ने र योग्य प्रतियोगीलाई सम्मान गर्ने यस मिस्टर नेपालको सफलतापुर्वक आयोजना र समापन गरेकोमा आयोजक नेक्स्त मोडल्सको सम्पुर्ण टिम र सम्बद्ध समस्तमा पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ ।’ प्रतियोगितामा भक्तपुरका योगेश श्रेष्ठ मिस्टर ग्लोबल नेपाल २०२४ भई आगामी अक्टोबरमा थाइल्यान्डमा हुने मिस्टर ग्लोबल २०२४ मा नेपालको प्रतिनिधित्व गर्नेछन् । त्यस्तै, काठमाडौंका आयुष दुलालले म्यान अफ द वल्र्ड नेपाल चुनिइ म्यान अफ द वल्र्ड २०२४ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने भएका छन्। योगेश र आयुष दुवैले ३ लाख रुपैयाँ बराबरको विभिन्न पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा धरानका आदेश प्रधान फस्ट र हेटौंडाका आयुष बमजन सेकेन्ड रनर अप, आयुष बोमजन मस्ट पपुलर, सन्तोष लोक्सम म्यान अफ एलिगेन्स, प्रकाश चौहान मस्ट एक्टिभ, समिर तिमिल्सिना वेस्ट स्किन, आदेश प्रधान पब्लिक च्वाइस, साकार बजिमय मस्ट इन्टिलेक्चुयल, मनोज गुरुङ वेस्ट फिजिक, आयुष दुलाल वेस्ट पर्सनालिटी, पिन्टु सन्याल टुसाल मस्ट ट्यालेन्टेड, योगेश श्रेष्ठ मिस्टर फाटोजेनिक, पियुष श्रेष्ठ मेन च्वाइस, अनिकेत प्रजापति वेस्ट हेयर, अग्रज श्रेष्ठ मिस्टर स्टाइल आइकन, सिजल कपाली मिस्टर फेसनिष्टा र मनोज गुरुङ वेस्ट स्पोर्टस्मेनसिप अर्वाड विजेता भए । प्रशान्त ताम्राकारको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा फोटोग्राफर राजभाइ सुवाल, उद्यमी टिकाराम बुढाथोकी, अभिनेत्री,मोडल एवं रियलमीको ब्रान्ड एम्बास्डर नीति शाह, पूर्वमिस नेपालद्वय माल्भिका सुब्बा र नम्रता श्रेष्ठ तथा पूर्व मिस्टर नेपाल डा। रूपक घिमिरे र सन्दीप पोखरेल निर्णायक रहेका थिए । उपाधिका लागि देशभरका ३८ जना युवाले प्रतिस्पर्धा गरेका थिए ।