काठमाडौं जिल्ला रेडक्रसको सभापतिमा पुनः डोटेल निर्वाचित
काठमाडौं । काठमाडौं जिल्ला रेडक्रसको कार्यसमिति सभापतिमा श्यामकाजी डोटेल पुनः निर्वाचित भएका छन् । शाखाको ४५ औं अधिवेशनले डोटेलको नेतृत्त्वमा पुनः नयाँ कार्यसमिति चयन गरेको हो । शाखाको उपसभापतिद्वयमा विष्णुमान मानन्धर, अञ्जना श्रेष्ठ मास्के, मन्त्रीमा बृदिमान शाक्य, कोषाध्यक्षमा लक्ष्मीरत्न तुलाधर, उपमन्त्रीमा नवराज भण्डारी, उपकोषाध्यक्षमा सर्मिला श्रेष्ठ राजभण्डारी निर्वाचित भएका हुन् । यसैगरी सदस्यमा अमृत नारायण मानन्धर, रजेन्द्र प्रसाद श्रेष्ठ, लक्ष्मी प्रसाद कुइँकेल, विदुर राज भट्टराई, नवराज काफ्ले, विदुर राज उप्रेती, इश्वर लामा, मञ्जु अर्याल खतिवडा, गोमा बराल, लक्ष्मी कार्की खड्का, निर्वाचित भएका छन् ।
गोरखा ब्रुअरीलाई ‘व्यावसायिक सुरक्षा पुरस्कार सम्मान’
काठमाडौं । गोरखा ब्रुअरीले कार्यस्थल सुरक्षा र कर्मचारी कल्याणप्रति देखाएको उत्कृष्ट प्रतिबद्धताको कदर स्वरूप नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यावसायिक सुरक्षा विभागबाट ‘प्रान्त नं. ४ व्यावसायिक सुरक्षा पुरस्कार’ प्राप्त गरेको छ । उक्त सम्मान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले एक विशेष कार्यक्रममा प्रदान गरेका थिए । पुरस्कारमार्फत गोरखा ब्रुअरीले आफ्ना उत्पादन र सञ्चालन प्रक्रियामा उच्चतम स्तरको सुरक्षा मापदण्ड कायम गर्न गरेको निरन्तर प्रयासलाई मान्यता दिइएको हो । गोरखा ब्रुअरीका पीपल एण्ड कल्चर निर्देशक दिपेश मान श्रेष्ठले सुरक्षा कम्पनीको पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै भने, 'यो सम्मान हाम्रो सम्पूर्ण टिमको निरन्तर परिश्रमको प्रतिफल हो, जसले सुरक्षित, स्वस्थ र उत्पादक कार्य वातावरण सुनिश्चित गर्छ। शून्य–दुर्घटना संस्कृतिको लक्ष्य मात्र होइन, यो हाम्रो दैनिक कार्यशैली हो ।' गोरखा ब्रुअरीले विगतदेखि नै कार्यस्थल सुरक्षा संस्कृति, नियमित तालिम, निवारक उपायहरू तथा राष्ट्रिय श्रम सुरक्षा नियमावलीको दृढ पालना गर्दै आएको छ । यस सम्मानले नेपालकै ब्रुअरी उद्योगमा नयाँ सुरक्षा मानक स्थापित भएको कम्पनीको भनाइ छ ।
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
कर्णाली । कर्णाली प्रदेश सरकारले बुधबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा भदौ ४ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । विसं २०८१ चैत १७ गते बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले भदौ ४ गते कर्णाली प्रदेशका सरकारी तथा सार्वजनिक सङ्घ संस्था सबैमा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए । दिवसको अवसरमा प्रदेश सरकारले आज बिहान प्रभातफेरि कार्यक्रम गर्नुको साथै बिहीबारसम्म विभिन्न कार्यक्रम गरेर स्थापना तथा सहिद दिवस उत्सवका रुपमा मनाउने उनले बताए ।