पशुपतिमा स्वास्थ्यकर्मी र एम्बुलेन्ससहित ७ सय जना परिचालन, राति २ बजेदेखि ड्युटी
काठमाडौं । तीजका लागि पशुपति क्षेत्रमा सशस्त्र प्रहरी बलको स्वास्थ्यकर्मी र एम्बुलेन्ससहित करिब ७ सय जनशक्ति परिचालन गरिने भएको छ । जसमध्ये १५० महिला सशस्त्र प्रहरी कर्मचारीहरू खटिने जनाइएको छ । दर्शनार्थीको सहजताका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीको कमाण्डमा आज राति २ बजेदेखि ड्युटी परिचालन हुने सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता कालीदास धौवजीले जानकारी दिए । पशुपति परिसरमा सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा कमाण्ड पोष्ट स्थापना गरिएको छ भने मेलाको सम्पूर्ण कमाण्ड नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंले गर्ने उनको भनाइ छ । उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपालको विभिन्न कार्यालयहरूबाट एक सिफ्टमा तीन सयभन्दा बढी सशस्त्र प्रहरीको सुरक्षा फौज परिचालन हुने बताइएको छ ।
तीजले होटल तथा पार्टी प्यालेसमा चहलपहल, सुन र कपडा व्यापार भने न्यून
चितवन । तीज पर्वले यहाँको बजार चलायमान बनाएको छ । वर्षातका कारण सुनसान रहेको बजार क्षेत्र तीज अघिदेखि नै चलायमान बनेको हो । मुख्य गरी कपडा, कस्मेटिक, सुन, ब्युटीपार्लर, पार्टी प्यालेस, होटल क्षेत्रमा चहलपहल बढाएको हो । ठूला साना यातायातका साधनको चहलपहल बढ्दा यातायात व्यवसायी पनि लाभान्वित भएका छन् । व्यवसायीले सोचेजस्तो व्यापार भने हुन नसकेको बताएका छन् । गाउँगाउँमा पसल खुलेका र अनलाइनबाट व्यापार हुने भएकाले मुख्य बजार क्षेत्रका पसलको व्यापार भने विगतजस्तो छैन । अघिल्ला वर्षहरुमा तीजमा दर खाने समय लामो हुँदा होटल तथा पार्टी प्यालेसहरुको व्यापार राम्रो हुने गरेको भए पनि अहिले सोचेअनुसार नभएको होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्टले बताए । उनले भने, 'होटलहरुमा व्यवसाय खासै छैन, पार्टी प्यालेस भने केही चलेका छन् ।' अघिल्ला वर्षहरुमा दर खाने मिति पछि हुने हुँदा केही व्यवसाय उकासिने गरेको भए पनि अहिले तीज छिट्टै आएका कारण अपेक्षाकृत रुपमा व्यापार नभएको उनको भनाइ छ । साउन महिनामा चोखो खाने भएकाले भदौ लागेपछि मात्रै तीजको चहलपहल भएको हो । आम नागरिकसँग क्रयशक्ति कम हुँदा पनि व्यवसायमा सोचेजस्तो हुन नसकेको उनको भनाइ छ । अनलाइन व्यापार राम्रो भए पनि पसलहरुको व्यापार कम भएको कपडा व्यवसायीको गुनासो छ । कपडा व्यवसायी सङ्घका अध्यक्ष गुणराज पौडेलले पछिल्लो समय अनलाइनमा ५०० रुपैयाँ देखि एक हजार रुपैयाँसम्मका साडी पाउने भएपछि उपभोक्ता त्यतै केन्द्रित भएको बताए । उनले भने, 'अघिल्ला वर्षहरुमा रु १०/२० हजार बोकेर बजार आउने ग्राहक अहिले रु दुई–तीन हजार लिएर आउने गरेका छन् ।' अघिल्ला वर्षहरुको जस्ता तडकभडक नहुँदा पनि व्यवसायमा सोचेजस्तो नभएको उनले बताए । उनले थपे, 'रमाउने उमेरका युवायुवती विदेश पलायन हुनु र खर्च गर्ने क्षमता समेत घट्नुले व्यवसायमा समेत प्रभाव परेको देखिन्छ ।' आर्थिकमन्दीका कारण मान्छेको चाप भए पनि खरिद गर्ने ग्राहक खासै नभएको उनले बताए । न्यू लोकमान एण्ड सन्स (सुनचाँदी पसल)का सञ्चालक ज्ञानेन्द्रमान शाक्य बजारमा चहलपहल बढे पनि व्यापार निकै घटेको बताउँछन् । उनले भने, 'मानिसलाई खान मुस्किल छ, कसरी सुन किन्नु ?' सुनको मूल्य निकै बढेकाले पनि व्यापारमा कमी आएको उनको भनाइ छ । सुन लगाउँदा जोखिम बढेको भन्दै उनले ‘फटाहा र प्रशासनको आँखा पर्छ’ भनेर पनि सुन लगाउने घटेको बताए । पहिलेको तुलनामा ८० प्रतिशत व्यापार घटेको शाक्यले बताए । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठ बजारमा मानिसको चहलपहल भए पनि अघिल्ला वर्षको जस्तो व्यापार हुन नसकेको बताउँछन् । उनले भने, 'चाडपर्व सुरु हुँदासमेत व्यापार अपेक्षाकृत रुपमा बजारमा हुन सकेन ।' चाडपर्व मनाउने युवा जनशक्ति विदेश जानुले व्यवसाय अपेक्षाकृत हुन नसकेको उनको अनुमान छ । अहिलेको आर्थिकमन्दीका कारण पनि व्यवसायमा असर देखिएको उनले बताए । रासस
सुदूरपश्चिममा ६४ उजुरीमाथि विस्तृत अनुसन्धान गर्दै अख्तियार
भीमदत्तनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले ६४ वटा उजुरीमाथि विस्तृत अनुसन्धान थालेको छ । महेन्द्रनगरमा रहेको अख्तियारको क्षेत्रीय कार्यालयले सुदूरपश्मिचमा विभिन्न उजुरीमाथि छानबिन गरी विस्तृत अनुसन्धान सुरु गरेको हो । आयोगको कञ्चनपुर कार्यालयका सूचना अधिकारी चेतराज भट्टले गत आर्थिक वर्षमा अख्तियार दुरुपयोग तथा अनियमितासम्बन्धी एक हजार ६९६ उजुरी परेको बताए । उनका अनुसार त्यसमा ४८९ उजुरी अघिल्लो आवको जिम्मेवारी सरेर आएका हुन् भने एक हजार १९८ नयाँ दर्ता भएका हुन् । आयोगको महेन्द्रनगरस्थित कार्यालयको तथ्याङ्कअनुसार सबैभन्दा बढी ४०४ उजुरी कैलालीका छन् भने सबैभन्दा कम डडेल्धुराका ११० उजुरी परेका छन् । त्यस्तै दर्ता भएका उजुरीमा कञ्चनपुरका २४६, अछामका २१०, बाजुराका १९५, बझाङका ११७, अछामका २१०, डोटीका १०४, बैतडीका १६१ र दार्चुलाका १४९ उजुरी रहेको कार्यालयको तथ्याङ्क छ । आयोगमा परेका उजुरीमध्ये करिब ५० प्रतिशत उजुरी स्थानीय तहसँग सम्बन्धित रहेको सूचना अधिकारी भट्टको भनाइ छ । त्यस्तैगरि अछाम र बैतडीका १३/१३ उजुरीमाथि विस्तृत अनुसन्धान भइरहेको छ भने बाजुरा, बझाङ र कञ्चनपुरमा समान छ/छ वटा उजुरीउपर विस्तृत अनुसन्धान चलिरहेको आयोगले जनाएको छ । त्यस्तै कैलालीका नौ, दार्चुलाका सात, डोटीका तीन र डडेल्धुराको एक उजुरीमाथि पनि विस्तृत अनुसन्धान हुँदैछ । विस्तृत अनुसन्धानपछि अनियमितता पुष्टि भए आयोगले विशेष अदालतमा मुद्दा दायर गर्नेछ । आयोगमा पर्ने अधिकांश उजुरी आशङ्का, व्यक्तिगत टकरावका कारण पनि आउने गरेको आवश्यक प्रमाण नभेटिँदा आयोगले स्क्रिनिङ्क र प्रारम्भिक अनुसन्धानबाटै फछ्र्योट गर्ने गरेको छ । आयोगले गत आवमा दर्ता भएका उजुरीमध्ये एक हजार २३४ उजुरी फछ्र्योट गरिएको छ । स्क्रिनिङ्गबाट ४८१, प्रारम्भिक छानबिनबाट ७५३ उजुरी फछ्र्योट गरिएको आयोगको कञ्चनपुर कार्यालयले जनाएको छ । साथै आयोगले ७३५ उजुरी तामेलिमा पठाएको छ भने दुई उजुरी सुझावसहित तामेली, २६० उजुरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायलाई लेखि पठाएको र १७२ उजुरी अन्यमा गाभिएको छन् । रासस