बागलुङमा सुकुम्वासीभन्दा अव्यवस्थित बसोबासी बढी
बागलुङ । जिल्लामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासीभन्दा अव्यवस्थित बसोबासी १३ गुणा बढी रहेको पाइएको छ । भूमि समस्या समाधान आयोग बागलुङका अनुसार जिल्लामा प्राप्त निवेदन र मूल्याङ्कनका आधारमा ‘सफ्टवेयर’मा प्रविष्टि गरिएका तथ्याङ्कमा भूमिहीन दलित र भूमिहीन सुकुम्वासी परिवार ९७/९७ रहेकामा अव्यवस्थित बसोबासी दुई हजार ५५४ परिवार रहेको पाइएको छ । जिल्लाका १० पालिकामा सबैभन्दा बढी अव्यवस्थित बसोबासी ढोरपाटन नगरपालिकामा रहेको पाइएको छ भने जैमिनी नगरपालिकाको तथ्याङ्क प्रविष्टि भइसकेको छैन । आयोगका विज्ञ सदस्य उमेश गौतमले अन्य पालिकाको तथ्याङ्क प्रविष्टिको काम अन्तिम चरणमा पुगेको र जैमिनीको अझै प्रक्रियामा रहेको बताए । उनका अनुसार जिल्लाको ताराखोला गाउँपालिकामा चारजना भूमिहीन दलित, १० भूमिहीन सुकुम्वासी र ३७ जना अव्यवस्थित बसोबासी गरी ५१ परिवारलाई निस्सा वितरण भइसकेको छ । ढोरपाटनमा भूमिहीन दलित ३०, भूमिहीन सुकुम्वासी १९ र अव्यवस्थित बसोबासी एक हजार ६०० गरी एक हजार ६४९ परिवारको तथ्याङ्क प्रविष्ट गरिएको छ । यस्तै, तमानखोला गाउँपालिकामा ५४४ अव्यवस्थित बसोबासी रहेका छन्भने भूमिहीन तथा सुकुम्वासी भने छैनन् । बागलुङ नगरपालिकामा २७ भूमिहीन दलित, ५५ भूमिहीन सुकुम्वासी र १६९ अव्यवस्थित बसोबासी गरी २५१ परिवारको तथ्याङ्क सङ्कलन गरिएको छ । यस्तै, गलकोट नगरपालिकामा १८ भूमिहीन दलित, नौ भूमिहीन सुकुम्वासी र ६३ अव्यवस्थित बसोबासी गरी ९० जनाको तथ्याङ्क सङ्कलन गरिएको हो । यसैगरी बरेङ गाउँपालिकामा छ परिवार भूमिहीन दलित, दुई परिवार भूमिहीन सुकुम्वासी र ३७ जना अव्यवस्थित बसोबासी रहेका छन्भने काठेखोला गाउँपालिकामा एक परिवार भूमिहीन दलित र नौ परिवार अव्यवस्थित बसोबासी रहेको पाइएको छ । यस्तै बडिगाड गाउँपालिकामा ११ परिवार भूमिहीन दलित, दुई परिवार भूमिहीन सुकुम्वासी र ३३ परिवार अव्यवस्थित बसोबासी रहेको विज्ञ सदस्य गौतमले जानकारी दिए। तथ्याङ्क सङ्कलनको काम सकिएसँगै अब नापजाँचको काम सुरु गरिने उनले बताए । 'सुकुम्वासीभन्दा अव्यवस्थित बसोबासी धेरै भएकाले समस्या भएको हो । सुकुम्वासीको हकमा अन्यत्रसमेत जग्गा दिन सकिन्छ, तर अव्यवस्थित बसोबासीको भने बसेकै ठाउँ उपयुक्त भएमा लालपुर्जा दिनुपर्ने हुन्छ', गौतमले भने, 'प्रविष्टि गरेको तथ्याङ्कका आधारमा निस्सा वितरण भएपछि नाप जाँच हुन्छ । जग्गा छुट्टिन्छ, दिन मिल्ने स्थानबाट लालपुर्जा दिन सुरु गर्ने छौँ । अबको छ महिनामा लालपुर्जा दिने गरी काम भइरहेको छ ।' रासस
दुई लाख घुससहित मालपोतका खरिदार पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धुलिखेल ९काभ्रेपलाञ्चोक०मा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीलाई दुई लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । काभ्रेपलाञ्चोकको साविक दोलालघाट गाविस–७ मा रहेको फिल्डबुकमा दर्ता छुट भएको जग्गा धनीको नाममा दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले पक्राउ गरेको हो । आयोगले खरिदार भण्डारीलाई मालपोत कार्यालय धुलीखेलको कार्यालय परिसरबाट पक्राउ गरेको हो । भण्डारीको साथबाट आयोगले मोबाइल एक थान पनि नियन्त्रणमा लिएको छ । आरोपी भण्डारीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
४ करोड र ९ किलो सुनसहित पक्राउ परेका मिटरब्याजी श्रेष्ठलाई राजस्वमा पठाइने
काठमाडौं । चार करोड २५ लाख रुपैयाँ र ९ किलो सुनसहित गोरखाका ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई राजस्व अनुसन्धान विभागमा पठाइने भएको छ । प्रहरीले उनलाई बरामद रकम र सुनसहित राजस्व अनुसन्धान विभाग, हरिहर भवन पठाउने तयारी गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार श्रेष्ठको कसुरलाई प्रहरीले भन्दा पनि विभागले हेर्ने किसिमको रहेकाले सो स्थानमा पठाउन लागिएको हो । मंगलबार प्रहरीले श्रेष्ठको घरमा छापा मारेर ठूलो मात्रामा रकम र मूल्यवान धातु बरामद गरेको थियो । बैंकको मेसिन प्रयोग गरी रकम गणना गर्दा करिब ४ करोड २५ लाख रुपैयाँ भएको पुष्टि भएको थियो । साथै, सुनका विभिन्न गरगहनाहरू ९ किलो ८३७ ग्राम र चाँदीका गरगहनाहरू ३ किलो २१८ ग्राम बरामद भएको छ । प्रहरीले पक्राउ परेका श्रेष्ठ मिटरब्याजी रहेको दाबी गरेको छ । काठमाडौं महानगरपालिका–२६, गोंगबुस्थित आफ्नै घरबाट पक्राउ परेका श्रेष्ठले सुन धितो राखेर मिटरब्याजमा पैसा लगानी गर्ने गरेको बताइएको छ । ठूलो मात्रामा अवैध रकम लुकाइएको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले छापा मारेको थियो ।