वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउँछ : सभापति देउवा
विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउने बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले संविधान संशोधनका निम्ति दुई तिहाइ बहुमतसहित सबैको सहमति आवश्यक पर्ने बताए । उनले नेपाली कांग्रेसको आसत्र महाधिवेशन समय आएपछि हुने प्रतिक्रिया दिए । तत्काल सरकारका मन्त्रीहरु हेरफेर नहुने सभापति देउवाले स्पष्ट पारे । उनले पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउन नदिन संविधानमा कुनै बन्देज नभएको उल्लेख गरे ।
आइतबार निजामती सेवा दिवस मनाइँदै, ४१ कर्मचारीलाई सम्मान गरिने
काठमाडौं । मुलुकको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीले भोलि आइतबार देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाउँदै छन् । निजामती सेवासम्बन्धी ऐन पहिलोपटक जारी भएको विसं २०१२ भदौ २२ गतेको स्मरण गर्दै हरेक वर्ष यस दिन निजामती सेवा दिवस मनाइने गरिएको छ । निजामती सेवाको मूल्य–मान्यता,आदर्श, चरित्र, नैतिकता, सदाचारिता, निष्ठाजस्ता गुणको स्मरण र पालना गरी नागरिकको सेवामा प्रतिबद्धता व्यक्त गर्ने दिनका रूपमा यस दिवसलाई लिने गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रकाश दाहाल बताउँछन् । ‘सबै नीतिको माउ नीति राजनीति’ हाँक्ने जिम्मेवारीमा रहेको राजनीतिक नेतृत्वलाई नीति निर्माणमा परामर्श दिने, बनेका नीति–नियमलाई कार्यान्वयन गरी नागरिकलाई सरल र सहज रूपमा सेवासुविधा उपलब्ध गराउने निजामती कर्मचारीको प्रमुख जिम्मेवारी हो । निजामती सेवामा रहेका करिब ८५ हजार कर्मचारीका लागि यो दिवस ठूलो उत्सव र कदर गर्ने दिनका रूपमा लिने गरिएको छ । सेवा दिवस मनाउन मुख्यसचिवको अध्यक्षतामा गठित मूल समारोह मातहतका उपसमितिबाट स्वास्थ्य शिविर, वृक्षरोपण, रक्तदान, मैत्रीपूर्ण फुटबल, अन्तक्र्रिया, झाँकी प्रदर्शनी, र्याली, दीपावलीजस्ता कार्यक्रम तय गरिएको छ । यस दिवसका उपलक्ष्यमा प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा राजधानीमा हुने मूल समारोहमा वर्षभरमा राम्रो काम गर्ने कर्मचारीको मूल्याङ्कन गरी एक जनालाई सर्वाेत्कृष्ट निजामती, १० जनालाई उत्कृष्ट निजामती र ३० जना निजामती पुरस्कारको समेत घोषणा गरिने छ । अघिल्लो वर्ष घोषणा गरिएका कर्मचारीलाई प्रमुख अतिथिको हातबाट पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ । समारोहमा पुरस्कृत हुने कर्मचारीबाट अरुलाई पनि असल र निष्ठावान हुन प्रेरणा प्राप्त मिल्ने दिनका रूपमा यो दिवसलाई लिने सकिने सहसचिव दाहाल बताउँछन् । यो दिवस राष्ट्र र जनताका लागि असल काम गर्न प्रण गर्ने दिन हो । केही कर्मचारीले भ्रष्टाचार र अनियमित कार्य प्रदर्शन गरेका तथा कतिपय राजनीतिज्ञले समेत जनहितका लागि आफूले गर्न चाहेको काम कर्मचारीकै असहयोगमा अघि बढ्न नसकेको भन्ने हल्का टिप्पणीले समग्र सेवाप्रति गलत प्रचार हुन पुगेको निजामती कर्मचारीको बुझाइछ । निजामती कर्मचारीलाई ढिलासुस्ती, प्रक्रियामुखी, काम पन्छाउने, समयमा निर्णय नगर्ने भन्ने खाले आरोप लाग्दैआएको बताउँदै सहसचिव दाहाल भन्छन् , ‘पछिल्ला समय निजामती कर्मचारीप्रति आमनागरिक, आमसञ्चार, राजनीतिकर्मीबाट हेर्ने दृष्टिकोणलाई भने चिर्न जरुरी छ ।’ निजामतीलाई खासगरी नागरिकले हाम्रो हितमा काम गर्दैनन्, सेवामुखी हुन सकेनन बरु उल्टो शासकजस्तै बन्न खोजेको भन्ने आक्षेप पनि लाग्दै आएको छ । जनतालाई सरल, सहज र पारदर्शी ढङ्गले सेवा दिन सूचना प्रविधिमैत्री सेवा प्रदानको प्रणाली विकास र अनुशरण गर्न सकिएमा सेवाको साखलाई उँचो बनाउन सहयोग पुग्ने निजामती कर्मचारीको भनाइ छ । अर्कातर्फ योग्यता, क्षमता र आवश्यकताका आधारमा नभई राजनीतिक आग्रह पूर्वाग्रहका आधारमा हुने अवसर, सरुवा, बढुवा र पुरस्कारले सक्षम व्यक्ति ओझेलमा परेको गुनासो समेत निजामती सेवामा प्रशस्त सुनिदैआएको छ । निजामती सेवा काविल नभई सरकार वा राजनीतिक कहिले सफल नहुने भएकाले राजनीति र प्रशासनबीचमा सुमधुर सम्बन्ध अहिलेको आवश्यकता रहेको नेपालको निजामती प्रशासनका भुक्तभोगी बताउँछन् । हाल निजामती सेनाका राष्ट्र सेवक कर्मचारी सङ्घ, प्रदेश र स्थानीय तहमा बाँडिएर काम गरिरहेका छन् । रासस
सञ्चार क्षेत्रले सरकारका कमजोरी औँल्याउने र राम्रा काम जनतासम्म पुर्याउनुपर्छ : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सञ्चार जगत्ले सरकारका कमजोरी औँल्याउने र सकारात्मक काम जनतासम्म प्रभावकारी रूपमा पुर्याउनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औँ वार्षिक साधारणसभा तथा अधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले सञ्चार क्षेत्रलाई आलोचनात्मक र सुझावात्मक दुवै दृष्टिकोणले अघि बढ्नुपर्ने बताए । 'सरकारका नीतिगत त्रुटि वा कार्यान्वयनमा कमजोरी भए त्यसलाई प्रस्टसँग जनतासामु उजागर गर्नु सञ्चारको दायित्व हो', पौडेलले भने, 'साथसाथै सरकारले गरेका उपलब्धि र जनहितमा भएका कामबारे नागरिकलाई सुसूचित पनि त्यत्तिकै महत्त्वपूर्ण छ ।' सो अवसरमा अर्थमन्त्री पौडेलले आर्थिक पत्रकारिताको महत्त्वमा जोड दिँदै मुलुकको अर्थतन्त्रलाई सबल बनाउन पत्रकारको भूमिका अपरिहार्य रहेको उल्लेख गरे । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड महामारी, रुस–युक्रेन तनावलगायत कारण मुलुकको अर्थतन्त्रमा असर देखिएको र पछिल्लो समय सुधार हुँदै गएको बताए । मुलुकको आर्थिक क्षेत्र सुधारका लागि निजी क्षेत्रबाट कसरी भूमिका खेल्न सकिन्छ भनेर महासङ्घले सधैँ पहल गरिरहेको उल्लेख गर्दै उनले कानुनी र व्यवहारिक सुधारका लागि सरकारलाई निरन्तर सुझाव दिइरहेको धारणा राखे । यद्यपि कानुन कार्यान्वयन कमजोर हुँदा सोचेअनुरुप नतिजा प्राप्त गर्न नसकेको ढकालको भनाइ छ । कार्यक्रममा नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको अर्थतन्त्र सुधारका लागि कुन क्षेत्रमा कति लगानी आवश्यक छ र त्यसका लागि के कस्ता नीतिगत तथा कानुनी सुधार गरिनुपर्छ भनेर परिसङ्घले अध्ययन गरिरहेको बताए । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले अर्थतन्त्र सूचकहरू विस्तार सुधार हुँदै गए पनि निजी क्षेत्र अझै लगानीका तयार नभइसकेको बताए । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई दिएका सुझाव तथा सिफारिस कार्यान्वयनमा उनले जोड दिए । कार्यक्रममा सेजनका पूर्वअध्यक्षहरूले सञ्चार क्षेत्रले सामना गरिरहेका चुनौती, पत्रकारिताको गुणस्तर र आर्थिक क्षेत्रसम्बन्धी अनुसन्धानात्मक समाचारको आवश्यकताबारे विचार व्यक्त गरेका थिए। अधिवेशनले सेजनको नयाँ नेतृत्व चयन गर्नेछ ।