काठमाडौं उपत्यकामा जनजीवन सामान्य बन्दै
काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर जनजीवन सामान्य बन्दै गएको छ । आन्दोलनपछि नेपाली सेनाले सुरक्षाको नेतृत्व लिएसँगै काठमाडौं उपत्यकासहित देशभरको जनजीवन सामान्य बन्दै गएको हो । नेपाली सेनाले कफ्र्यु खुकुलो बनाएसँगै पसलहरुबाट सामान खरिद गर्न, अत्यावश्यकका काममा घर बाहिरि निस्किन दिएको छ । बिहान ६ बजेदेखि १० बजेसम्म हिँडडुलका लागि वातावरण मिलाएको सेनाले १० बजेपछि साँझ ५ बजेसम्म निषेधाज्ञा जारी गर्दै सुरक्षा व्यवस्था मजबुत बनाउने भएको छ । काठमाडौंमा बिहान मानिसहरु आवश्यक कामका लागि बाहिर निस्किएका छन् । बेलुका ५ बजेदेखि ७ बजेसम्म आवतजावतका लागि निषेधाज्ञा केही खुकुलो बनाउने बताएको छ । नेपाली सेनाले सुरक्षाकर्मी, पानी, सञ्चारकर्मी, सरकारी कर्मचारीहरुलाई परिचय पत्र हेरेर आवतजावत गर्न दिएको छ ।
चितवनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
चितवन । जिल्लामा लगाइएको कर्फ्यु हटाइएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार यही भदौ २४ गतेदेखि लगाइएको कर्फ्यु हटाएर निषेधाज्ञा लगाइएको छ । आज बिहान ६ः०० बजेदेखि कर्फ्यु हटाएर निषेधाज्ञा लगाइएको प्रजिअ अर्यालले जानकारी दिए । उनका अनुसार जिल्ला सदरमुकाममा रहेका बैंक तथा वित्तीय संस्थाहरु दिनको १ः०० बजेसम्म सञ्चालन गरिने छन् भने सरकारी कार्यालय खुला गरिएका छन् । निषेधाज्ञा कार्यान्वयन गर्दै विस्तारै जनजीवन सहज बनाउँदै लगिने उनले बताए। अहिले सडकमा सवारी आवागमन सहज हुँदै गएको छ ।
शान्तिसुरक्षामा असर पार्ने काम नगर्न सुरक्षा फौजको आग्रह
काठमाडौं । देशका सुरक्षा सङ्गठनले मुलुकको शान्ति सुव्यवस्थाको परिस्थिति क्रमशः सहजीकरणतर्फ उन्मुख भइरहेकाले त्यसलाई असर पर्ने कुनै पनि क्रियाकलाप नगर्न-नगराउन सबै तह र तप्कासँग आग्रह गरेका छन् । देशको शान्ति सुरक्षा र अमनचयनका लागि अहोरात्र परिचालित सुरक्षा फौजले सम्हालिँदै गएको परिस्थितिलाई बिथोल्ने कुनै पनि किसिमका गतिविधि र क्रियाकलाप नगर्न समाजका सबै पक्षको ध्यानाकर्षण गराएका छन् ।