कृषि विकास बैंकको २५ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । कृषि विकास बैंकको १ हजार रुपैयाँ अंकित दरका २५ लाख कित्ता बराबरको ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । बैंकको १०.३५ प्रतिशत व्याजदर रहेको “एडीबीएल कृषि बैंक ऋणपत्र २०८३” नामको ऋणपत्र कारोबारको लागि नेप्सेमा सूचीकरण भएको हो । सो सम्बन्धी कृषि विकास बैंक र नेपाल स्टक एक्सचेन्जबीच बिहीबार सम्झौता भएको छ । जसमा कृषि विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र नेप्सेका तर्फबाट चन्द्र सिहं साउदले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात कृषि विकास बैंकको “एडीबीएल कृषि बैंक ऋणपत्र २०८३”, को दोश्रो बजारमा कारोवार सुरु हुनेछ ।

एनआईसी एशिया लघुवित्तको सेयर किन्नकाे ओइरो, ९.९७ प्रतिशतले बढ्याे सेयर मूल्य

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको पहिलाे काराेबार शुरू भएकाे २० मिनेटमै सेयर मूल्य ९.९७ प्रतिशतले बढेकाे छ । साे अवधिमा संस्थाकाे सेयर मूल्य ३३ रुपैयाँले बढेर प्रतिकित्ता ३ सय ६४ रुपैयाँ पुगेको छ । संस्थाकाे सेयर किन्नेकाे चाप देखिएकाे छ भने बेच्ने काेहि पनि देखिएनन् । साे अवधिसम्म ४ लाख ४० कित्ता सेयर किन्न लगानीकर्ता इच्छुक देखिएका थिए । संस्थाको ‘एनआईसीएलबीएसएल’ को सिम्बोलबाट आज(असार २५ गते) देखि दोश्रो बजारमा पहिलो पटक कारोबार शुरु भएको हो । पहिलो दिनमै संस्थाको सेयर नेप्सेले तोकेको अधिकतम मूल्य अर्थात प्रतिकित्ता ३ सय ३१ रुपैयाँबाट कारोबार शुरु भएको छ । हिजोमात्र नेप्सेमा सूचीकृत भएको संस्थाको पहिलो सेयर कारोबारको लागि नेप्सेले न्युनतम एक सय १० देखि अतिकतम ३ सय ३१ रुपैयाँ तोकेको थियो ।

अजोड इन्स्योरेन्सको आईपीओ आजदेखि खुल्यो, कति भर्न पाइन्छ ?

काठमाडौं । अजोड इन्स्योरेन्सको साधारण सेयर(आईपीओ) आज(असार २५ गते) बाट बिक्री शुरु भएको छ । कम्पनीले ३० करोड रुपैयाँ बराबरको आईपीओ बिक्रीमा राखेको हो । गत असार ७ गतेमात्र नेपाल धितोपत्र बोर्डबाट सेयर निष्काशन गर्न अनुमति पाएको इन्स्योरेन्सले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ३० लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो । जसमध्ये ४ प्रतिशत अर्थात एक लाख २० हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ भने एक लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । र, बाँकी रहेको २७ लाख ३० हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन(सेयर भर्न) सक्ने छन् । आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा असार २९ गते र ढिलामा साउन ८ गतेसम्म हुनेछ । उक्त सेयर निष्काशनको लागि इन्स्योरेन्सले केयर रेटिङ नेपालबाट ग्रेड ४ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको बुझाउँछ । हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आईपीओ बाँडफाँड पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ । याे पनि पढ्नुहाेस् ः अजोड इन्स्योरेन्सको आइपीओ किन्नु कत्तिको उचित होला ?