अनलाइनबाटै सेयर किनबेच गर्नेलाई प्यान नम्बर पेश गर्न नेप्सेको निर्देशन

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले अनलाइनबाट सेयर कारोबार गर्ने लगानीकर्तालाई स्थायी लेखा नम्बर(प्यान) अनिवार्य गर्न/गराउन दलाल व्यवसायी(ब्रोकर)लाई निर्देशन दिएको छ । नेप्सेले बिहीबार एक विज्ञप्तिमार्फत अनलाईन लगइन युजर्स लिएका तर प्यान नम्बर पेश नगरेका ग्राहकलाई एकपटकमा ५ लाख रुपैयाँ वा सो भन्दा बढी कारोबार गर्न प्यान नम्बर पेश गर्न गराउन ब्रोकरहरुलाई निर्देशन दिएको हो । नेप्सेले यसअघि नै २०७६ वैशाख १ गतेदेखि दोस्रो बजार मार्फत सेयर कारोबार गर्दा एक पटकमा ५ लाख वा सो भन्दा बढी कारोबार गर्ने लगानीकर्ताहरुलाई प्यान अनिवार्य गर्न र सो भन्दा कम लगानी गर्ने साना लगानीकर्ताले ऐच्छिक रुपमा गर्न सक्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्था अनुसार आवश्यक काम गर्न गराउन ब्रोकरलाई निर्देशन दिएको हो ।

बिहीबारको बजार समान्य अंकले बढ्याे, शिवम् सिमेन्टको बढी कारोबार

काठमाडौं । बिहीबारको सेयर बजार सामान्य अंकले बढेको छ । सामान्य अंकले बढेको बजारमा सबैभन्दा बढी शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । सिमेन्टको एकैदिन २ करोड ६२ लाख ८४ हजार ८१६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बिहीबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३३३ रुपैयाँ रहेको छ । जुन अघिल्लो दिनको तुलनामा ७ रुपैयाँले घटी हो । बुधबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३४० रुपैयाँ रहेको थियो । त्यस्तै, प्रभु बैंकको एक करोड २३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा कुल १६८ कम्पनीको २४ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । समग्रमा बिहिबारकाे नेप्से परिसूचक २.०१ अंकले बढेर ११४४.५३ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.१८ प्रतिशत बढी हो । बजारमा सबैभन्दा बढी कमाउनेमा सिभिल लघुवित्त रहेका छन् । जसको सेयर मूल्य ५.८८ प्रतिशतले बढेर प्रतिकित्ता ५९४ रुपैयाँ पुगेको छ । सबैभन्दा बढी यूनिभर्सल पावर कम्पनीको सेयर मूल्य ९.६० प्रतिशतले घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७९ रुपैयाँ रहेको छ ।

शिवम् सिमेन्टले १५ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । शिवम् सिमेन्टले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १५.७९ प्रतिशत नगद लाभांश सेयर दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव चैत १३ गते बसेको संचालक समितिको बैठकले करसहित सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । कम्पनीले गत वर्षकाे नाफाबाट लाभांश वितरण गर्न लागेकाे हाे । कम्पनीकाे साधारणसभा बैशाख ९ गते हुँदैछ ।