पाँचथर पावरको सेयर कारोबार खुला, मूल्य रेञ्ज कतिदेखि कतिसम्म ?
काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडको आज(आईतबार)बाट सेयर कारोबार गर्न सकिने छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता ८६.६२ देखि २५९.८६ रुपैयाँसम्म मूल्य तोकेको छ । आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी बढेर ९६ करोड रुपैयाँ पुगेको छ । कम्पनीले १४.९ मेगावाट क्षमताको हेवाखोला ए आयोजना सञ्चालन गरिरहेको छ । उक्त आयोजना बनाउन २ अर्ब ६१ करोड ४७ लाख रुपैयाँ लागेको छ । आयोजनाको प्रतिमेगावाट लागत १७ करोड ६४ लाख रुपैयाँ रहेको छ । लगानी फिर्ता ८.९ वर्ष रहेको छ ।
गणपति माइक्रोफाइनान्सको आईपीओ बाँडफाँड, दुई लाख बढीको हात खाली
काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको साधारण सेयर(आईपीओ) शुक्रबार बाँडफाँड भएको छ । संस्थाले बैशाख ९ देखि १२ गतेसम्म निष्काशन गरेको आईपीओ बाँडफाँड बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाटमा भएको हो । क्यापिटलका अनुसार उक्त आईपिओमा ३१ हजार ३०८ जनाले मात्रै गोलाप्रथाबाट १० कित्ता सेयर पाएका छन् । सदर भएका सेयर मध्ये २ लाख ९१ हजार ३०१ जनाको हात खाली भएको छ । उक्त आईपीओमा कूल ३ लाख २३ हजार ३०९ जनाले ६५ लाख ७१ हजार ९० कित्ताको लागि माग गरेका थिए । जसमध्ये ३ लाख २२ हजार ६०९ जनाको सेयर सदर भएको छ । बाँकी ७०० जनाले भरेको १५ हजार ९८० कित्ता सेयर रद्द भएको क्यापिटलले जनाएको छ । कम्पनीले सर्वसाधारणलाई कूल ३ करोड ३५ लाख रुपैयाँ बराबरको ३ लाख ३५ हजार कित्ता सेयर निष्काशन गरेको थियो । जसमध्ये ५ हजार १ सय ७५ कित्ता कर्मचारीलाई, १६ हजार ७ सय ५० कित्ता सामूहिक लगानी कोषको लागि र बाँकि रहेको ३ लाख १३ हजार ७५ कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरेको थियो ।
युनियन हाइड्रोको शेयर बाँडफाँट, सबैलाई मागेअनुसार शेयर
काठमाडौँ । यूनियन हाइड्रो पावर कम्पनीको शेयर बाँडफाँट भएको छ । आवेदन गर्ने सबैलाई मागअनुसार शेयर बाँडफाँट गरिएको लक्ष्मी क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार सिआश्वा प्रणालीबाट ४७ हजार १८५ जनाले आवेदन दिएका थिए । त्यसमा ४५ हजार ४६२ जनाको आवेदन स्वीकृत भएको छ । कम्पनीले गत चैत १३ गतेदेखि साधारण शेयर बिक्री गरेको थियो । कम्पनीले ३४ लाख १० हजार ८१० कित्ता शेयर बाँडफाँट गरिएको हो । आवेदनकर्ता सबैलाई शेयर दिँदै कम्पनीले आज शेयर बाँडफाँट गरेको हो ।