८ हजार ७० जनाले समाज लघुवित्तको आईपीओ पाउने
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण सेयर(आईपीओ)को शुक्रबार प्रिअलोटमेन्ट भएको छ । जस अनुसार ८ हजार ७० जना आवेदकले १० कित्ताकाे दरले संस्थाको सेयर पाउने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार उक्त आईपीओमा परेको आवेदन मध्ये ५ लाख ४७ हजार ३ सय ७० वटा आवेदन योग्य भएका छन् भने बाँकी १६ हजार ७ सय ६८ वटा आवेदन रद्द भएकाे छ । गत भदौ ४ गतेदेखि भदाै ८ गतेसम्म निष्काशन भएकाे उक्त आईपीओमा ५ लाख ६४ हजार एक सय ३८ जना आवेदकबाट एक करोड १९ लाख ८९ हजार ८० कित्ता सेयरको लागि आवेदन परेको थियाे । जुन संस्थाले सर्वसाधारणमा माग गरेको तुलनामा १४८.५६ गुणा बढी आवेदन परेको थियो । साथै, कम्पनीकाे सेयर बाँडफाँड भने सम्भवतः बेलुकासम्म हुन सक्ने क्यापिटलले जनाएकाे छ । ‘हामीले प्रिअलोटमेन्ट गरी बाेर्डमा रिपाेर्ट पठाएका छाैं । उताबाट अनुमति आयाे भने आजै बाँडफाँड हुन्छ । आज अनुमति आएन भने साेमबारसम्ममा बाँडफाँड गर्छाैं ।’, क्यापिटलका प्रमुख कार्यकारी अधिकृत धुर्व तिमल्सिनाले विकासन्युजसँग भने । संस्थाले गत भदौ ४ गतेदेखि भदाै ८ गतेसम्म ८३ हजार कित्ता अर्थात ८३ लाख रुपैयाँ बराबरको सेयर निष्काशन खुल्ला गरेको थियो । जसमध्ये जारी पुँजीको ०.५० प्रतिशत अर्थात एक हजार सेयर कर्मचारीलाई सुरक्षित गरेको छ । त्यस्तै, कूल साधारण सेयर मध्येको ५ प्रतिशत अर्थात ४ हजार ३ सय कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड भएको र बाँकी रहने ८० हजार ७ सय कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्काशन गरेकाे छ । उक्त सेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था रहेकाे थियाे ।
५ लाख ६७ हजारले पाए रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर, साढे २० हजारकाे हात खाली
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले निष्काशन गरेको साधारण सेयर(आईपीओ) आज बाँडफाँड भएको छ । जस अनुसार ५ लाख ६७ हजार जना आवेदकले १० कित्ताको दरले कम्पनीको सेयर पाएका छन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार ५ लाख ६७ हजार जना आवेदकले १० कित्ताको दरले ५६ लाख ७० हजार कित्ता सेयर हात पारेका छन् । बाँकी २० हजार ५ सय ९ जना आवेदकको भने हात खाली भएको छ । गत भदौ ४ गतेदेखि ८ गतेसम्म निष्काशन भएको कम्पनीको आईपीओमा ५ लाख ८९ हजार ४ सय ६४ जनाबाट आबेदन परेको थियो । जसमध्ये ५ लाख ८७ हजार ५ सय ९ वटा आवेदन योग्य भएका छन् भने बाँकी एक हजार ९ सय ५५ वटा आवेदन रद्द भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । उक्त आईपीओमा ५ लाख ८९ हजार ४ सय ६४ जनाबाट २ कराेड २९ लाख २६ हजार १० कित्ता सेयरकाे लागि आवेदन परेकाे थियाे । जुन कम्पनीले सर्वसाधारणमा माग गरेको भन्दा ४.०४ गुणाले बढी हो । इन्स्योरेन्सले सर्वसाधारणमा ५६ लाख ७० हजार कित्ता सेयर बिक्रीमा राखेको थियो । इन्स्योरेन्सले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ६३ लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो । कूल ६३ लाख कित्ता साधारण सेयर मध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सेयर सर्वसाधारणमा बिक्रीमा राखेको हो ।
समृद्धि फाइनान्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?
काठमाडौं । समृद्धि फाइनान्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । संस्थाको २०० प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन भएको हो । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले समायोजन पश्चात कम्पनीको सेयर मूल्य १०८.३३ रुपैयाँ तोकेको छ । यसअघि कम्पनीको सेयर मूल्य प्रतिकित्ता एक सय २५ रुपैयाँ थियो ।