सिद्धार्थ इन्स्योरेन्सले १५ प्रतिशत बोनस सेयर दिने, चुक्ता पुँजी एक अर्ब नाघ्ने
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले सेयरधनीलाई चुक्ता पुँजीको १५.४८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको सो मात्रा अर्थात १३ करोड ४० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ८६ करोड ५९ लाख रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस पछि इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ । सोमबार बसेको कम्पनी संचालक समितिको बैठकले सेयरधनीलाई सो मात्राको बोनस दिने प्रस्ताव गरेको हो । बोनसमा लाग्ने लाभांश कर भने सेयरधनी आफैले व्यहोर्नु पर्ने छ । संचालक समितिको उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृति दिई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको बोनस पाउने छन् ।
ग्लोबल आईएमई लघुवित्तले शतप्रतिशत हकप्रद जारी गर्ने, चुक्ता पुँजी २२ करोड नाघ्ने
काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले चुक्ता पुँजीको शतप्रतिशत हकप्रद जारी गर्ने प्रकृया अघि बढाएको छ । संस्थाले कूल ११ करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको हो । बोर्डको अनुमति पाएपश्चात संस्थाले अंकित मूल्य १०० रुपैयाँ दरका ११ लाख ४ हजार ५७५ कित्ता हकप्रद सेयरधनीलाई बिक्री गर्ने छ । माइक्रोफाइनान्स समूह अन्तर्गतको यस संस्थाले ग्लोबल आईएमई क्यापिटल लिमिटेड मार्फत सो मात्राको सेयर निष्काशन गर्ने छ । हाल संस्थाको चुक्ता पुँजी ११ करोड ४ लाख ५७ हजार ५०० रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद जारी पश्चात संस्थाको चुक्ता पुँजी २२ करोड रुपैयाँ नाघ्ने छ । पछिल्लो समय संस्थाको सेयर मूल्य प्रतिकित्ता एक हजार ३५५ रुपैयाँ रहेको छ ।
यूनिलिभर नेपालले ९ महिनामा कमायो २७ करोड ३६ लाख नाफा, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । यूनिलिभर नेपाल लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनामा २७ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २ करोड १७ लाख रुपैयाँ बढी हो । कम्पनीले आर्थिक वर्ष २०७४/२०७५ को पहिलो ९ महिनामा कूल २५ करोड १९ लाख रुपैयाँ बराबरको नाफा कमाएको थियो । ९ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको कूल सम्पत्ति बढेर ३ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीले एक अर्ब ४१ करोड रुपैयाँ बराबरको सञ्चालन आम्दानी र १२ करोड ३० लाख रुपैयाँ बराबरको अन्य आम्दानी गरी कूल एक अर्ब ५४ करोड १० लाख रुपैयाँ कुल आम्दानी गरेको छ । त्यस्तै, कम्पनीले एक अर्ब २० करोड ७९ लाख रुपैयाँ कूल खर्च गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २९५ रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २३ रुपैयाँ बढी हो । गत आवको ९ महिनामा कम्पनीको प्रतिसेयर आम्दानी २७४ रुपैयाँ रहेको थियो । त्यस्तै, पिई रेसियो घटेर १३.७५ र तरलता अनुपात १.७८ रहेको छ । प्रतिसेयर नेटवर्थ बढेर २ हजार ३७६ रुपैयाँ पुगेको छ । जुन गत आवको सोही अवधिमा एक हजार ७५० रुपैयाँ रहेको थियो । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता २० हजार २०० रुपैयाँ रहेको छ ।