समीट लघुवित्तका सेयरधनीले लाभांश नपाउने
काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाका सेयरधनीले गत आर्थिक वर्ष २०७६/७७ को लाभांश नपाउने भएका छन् । संस्थाले आज(असार २ गते) एक सूचना जारी गर्दै सेयरधनीले गत वर्षको लाभांश नपाउने जानकारी गराएको हो । उक्त निर्णय असोज १ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले संस्थाको गत आर्थिक वर्षको वित्तीय विवरणहरु नियमक निकाय नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ । तर, सेयरधनीका लागि बोनस तथा नगद लाभांश वितरण गर्ने प्रस्ताव भने नगरिएको संस्थाले जानकारी गराएको छ । सजिलो लघुवित्त वित्तीय संस्था र समीट लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिई समीट लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुने भएको छ । आगामी असोज ६ गतेदेखि दुबै संस्थाको एकीकृत कारोबार शुरु हुने भएको छ ।
लिवर्टी ईनर्जीको आईपीओ नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबार हुने, ओपनिङ् रेञ्ज कति ?
काठमाडौं । लिवर्टी ईनर्जी कम्पनीको साधारण सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको अंकित मूल्य एक सय रुपैयाँ कायम भएको एक करोड ५० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै कम्पनीको उक्त सेयर आइतबार (असोज ४ गते)देखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल एलईसी दिइएको छ । यससँगै पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्युनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँ तोकेको छ । उक्त सुचिकरण सम्बन्धि समझदारी पत्रमा लिवर्टी इनर्जी कम्पनीका तर्फबाट प्रबन्ध संचालक डा. आत्माराम घिमिरे तथा नेप्सेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हस्ताक्षर गरेका छन् । यस कम्पनीले शेयर सम्बन्धि कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि प्रभु क्यापिटल लिमिटेड, कमलादीलाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ । यस कम्पनीद्धारा निर्माणाधीन लमजुङ जिल्ला स्थित २५ मे.वा. क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजना हाल निर्माणको अन्तिम चरणमा रहेको छ र कम्पनीद्धारा सर्वेक्षण अनुमति पत्र प्राप्त थप २ वटा जलविद्युत आयोजनाहरु समेत सर्वेक्षणको क्रममा रहेको छ ।
जनरल इन्स्योरेन्सले असोज ११ गतेदेखि आईपीओ जारी गर्दै, कति कित्तासम्म भर्न पाइन्छ ?
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालले आगामी असोज ११ गतेदेखि ३० करोड रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । इन्स्योरेन्सले सो दिनदेखि प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ३० लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीले गत भदौ २५ गतेमात्र नेपाल धितोपत्र बोर्डबाट सेयर निष्काशन गर्न अनुमति पाएको थियो । कूल ३० लाख कित्ता साधारण सेयर मध्ये ५ प्रतिशत अर्थात एक लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत अर्थात एक लाख २० हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जनाएको छ । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । आईपीओको निश्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा असोज १४ गते बैंकिङ समय पश्चात हुने छ । उक्त सेयर निष्काशनको लागि इन्स्योरेन्सले केयर रेटिङ नेपालबाट केयर एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको बुझाउँछ । कम्पनीको लेखा परिक्षण हुन बाँकी रहेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०७६/२०७७ मा कम्पनीको प्रतिसेयर नेटवर्थ १०४.०२ रुपैयाँ र प्रतिसेयर आम्दानी २.२५ रुपैयाँ रहेको छ । जुन चालु आव २०७७/२०७८ मा बढाएर क्रमशः ११५.१९ रुपैयाँ र १७.३८ रुपैयाँ पुर्याउने कम्पनीको प्रक्षेपण रहेको छ । सम्बन्धित समाचारः जनरल इन्स्योरेन्सले ३० करोडको आईपीओ जारी गर्ने, पायो बोर्डको अनुमति