नेपाल कम्यूनिटी, तिनाउ र मिसन एक आपसमा गाभिए, आजैदेखि कारोबार रोक्का
काठमाडौं । नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक, तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंक एक आपसमा गाभिएका छन् । सो सम्बन्धि यी तीन संस्थाबीच मंगलबार एक सहमति पत्रमा हस्ताक्षर भएको हो । साथै, सो प्रयोजनकोे लागि यी तीन वटै संस्थाको सेयर कारोबार बुधबारदेखि रोक्का भएको छ । उक्त प्रकृया सम्पन्न नभएसम्म उल्लेखित संस्थाको नेप्सेमा बुक क्लोज हुने छ ।
अपर तामाकोशी र मल्टिप्रपोज फाइनान्समा लगानीकर्ताको आकर्षण, सेयर मूल्य एक घण्टामै करिब १० प्रतिशतले बढ्यो
काठमाडौं । बुधबार अपर तामाकोशी हाइड्रोपावर र मल्टिप्रपोज फाइनान्स कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । सो दिन बजार खुलेको सावा एक घण्टामा यी दुईको सेयर मूल्य करिब १० प्रतिशतले बढिसकेको छ । १२ बजेर १७ मिनेटसम्मको डाटा अनुसार अपर तामाकोशीको सेयर मूल्य ९.७१ प्रतिशतले बढेर प्रतिकित्ता ३०५ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २७ रुपैयाँ बढी हो । मंगलबार संस्थाको सेयर प्रतिकित्ता २७८ रुपैयाँ रहेको थियो । यो समाचार तयार पार्दासम्म मल्टिप्रपोजको सेयर मूल्य ९.५५ प्रतिशतले बढेको छ । सो अवधिसम्म संस्थाको सेयर प्रतिकित्ता २१८ रुपैयाँमा कारोबार भइरहेको छ । जुन अघिल्लो दिनको तुलनामा १९ रुपैयाँ बढी हो । मंगलबार यस संस्थाको सेयर मूल्य प्रतिकित्ता १९९ रुपैयाँ रहेको थियो । यी दुबै कम्पनीको सेयर किन्नेको चाप देखिएको छ भने बेच्ने कोही छैनन् । अपर तामाकोशीको २ लाख ६० हजार ३२० कित्ता र मल्टिप्रपोजको ७ हजार ९३१ कित्ता किन्न लगानीकर्ताको घुइँचो लागेको छ । त्यस्तै, अपरको सबैभन्दा बढी कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको ४ करोड १४ लाख रुपैयाँ बराबरको सेयर किनेबेच भइसकेको छ । त्यस्तै, बुधबारको बजारले सकारात्मक संकेत दिइरहेको छ । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ९.९३ अंकले बढेर १३२२ अंकमा पुगेको छ ।
लक्ष्मी बैंकको ९ लाख कित्ता संस्थापक सेयर साधारणमा परिणत, आजै नेप्सेमा सूचिकृत
काठमाडौं । लक्ष्मी बैंकको संस्थापक(प्रमोटर) सेयर साधारणमा परिणत भएको छ । बैंकको कुल ९ लाख ५ हजार ५१२ कित्ता प्रमोटर सेयर साधारण सेयरमा परिवर्तन भएको हो । २०७६ जेठ २ गतेको निर्णय अनुसार उक्त सेयर मंगलबार(जेठ ७ गते) सर्वसाधारण समूहमा परिणत भई मंगलबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो । सो मात्राको सेयर अब सर्वसाधारण समूह अन्तर्गत दोश्रो बजारमा कारोबार हुनेछ । बैंकको संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर रहने गरी सर्वसाधारण समूहमा सो मात्राको सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ । नेपाल धितोपत्र बोर्ड तथा नेपाल राष्ट्र बैंकले सेयर स्वामित्व संरचना परिर्वतन गर्न स्वीकृति र कम्पनी रजिष्ट्रारको नियमावलीमा संशोधन भए अनुसार प्रमोटर र सर्वसाधारणको सेयर संरचना गरिएको बैंकले जनाएको छ ।