३.५६ अंकले घट्यो नेप्से, शिवम् सिमेन्टको कारोबार सबैभन्दा बढी

काठमाडौँ । सेयर बजारमा कारोबार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.५६ बिन्दुले घटेर एक हजार २८९.२८ अङ्कमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६२ बिन्दुले घटेर २७४.८६ बिन्दुमा कायम भएको छ । स्टकका अनुसार कूल १७२ कम्पनीको २२ लाख ५२ हजार ५४६ कित्ता शेयर रु ७१ करोड ५४ लाख ७८ हजार ६१२ मूल्यमा खरीद बिक्री भए । कारोबर भएका १२ उपसमूहमध्ये आज चार उपसमूहको सेयर उकालो लागेको छ भने आठ उपसमूहको शेयर भने घटेको छ । होटल ३२.६७, विकास बैंक २.४९, वित्त ०.४ र उत्पादन उपसमूह ४१.०२ बिन्दुले बढेको छ । त्यस्तै बैंकिङ २.८७, व्यापार २.५३, जलविद्युत् ७.७९, निर्जीवन बीमा ५५.०३, अन्य ५.०२, लघुवित्त १२.४०, जीवन बीमा २५.९५ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले घटेको छ । स्टकका अनुसार शिवम् सिमेन्टको सेयर सबैभन्दा बढी कारोबार भएको छ । सो कम्पनीको रु १२ करोड १३ लाख ११ हजार ८८९, प्रभु बैंक रु नौ करोड ३३ लाख ५४ हजार ४९०, नेपाल बैंक लिमिटेड रु चार करोड ८७ लाख ६२ हजार ४६६, तारागाँउ रिजेन्सी होटल रु दुई करोड ३८ लाख ५९ हजार ६९४, कन्काई विकास बैंक रु दुई करोड १६ लाख ७० हजार ७८३, कृषि विकास बैंक रु दुई करोड दुई लाख ३५ हजार २३८, माथिल्लो तामाकोशी रु एक करोड ९४ लाख ६ हजार १५९ र एनसिसी बैंकको रु एक करोड ६९ लाख ३२ हजार ७१० मा कारोवार भई शीर्ष स्थानमा रहे । स्टकका अनुसार आज तारागाउँ रिजेन्सी होटलका शेयरधनीले ६.९८ प्रतिशतले कमाए । यस्तै गुराँस लघुवित्त वित्तीय संस्था ६.८५, कन्काई विकास बैंक ५.३८, गुह्येश्वरी मर्चेन्ट बैंक ४.७२, कैलाश विकास बैंक ३.४३ प्रतिशतले कमाए । त्यस्तै जोशी हाइड्रो पावर ६.३८, मल्टीपर्पोज फाइनान्स कम्पनी ६.०८, मितेरी डेभलपमेन्ट बैंक ५.६०, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था ५.३७, मञ्जुश्री फाइनान्स ४.७२ र कर्पोरेट डेभलपमेन्ट बैंकका शेयरधनीले ४.२० प्रतिशतले गुमाए ।

हिमालयन हाइड्रोले आईपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा जनता क्यापिटल नियुक्त

काठमाडौँ । हिमालयन हाइड्रो पावर लिमिटेडले आईपिओ निष्काशन गर्न जनता क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । हिमालयन हाइड्रोले रु. १००/-अंकित दरको २२ लाख ५० हजारकित्ताको २२ करोड पचास लाख रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्न लागेको हो । जसमध्ये ९ लाख कित्ताको ९ करोड रुपैंया बराबरको शेयर परियोजना प्रभावित स्थानीय क्षेत्रहरुको लागि छुट्याइएको छ । आईपिओ निष्काशन गर्ने सम्बन्धमा हिमालयन हाइड्रो र जनता क्यापिटलबीच मंगलबार सम्झौता भएको छ । सम्झौतामा हिमालयन हाइड्रो पावर लिमिटेडका तर्फबाट संचालक शिवकृष्ण श्रेष्ठ र बिक्री प्रवन्धक जनता क्यापिटल लिमिटेडका तर्फबाट कार्यकारी निर्देशक बिश्व सुवेदीले हस्ताक्षर गरेका छन् । साथै, हिमालयन हाइड्रो पावर लिमिटेडलेआउँदो दशैैंसम्ममा विद्युत उत्पादन गर्ने लक्ष्य राखेको जनाएको छ ।

रिलायन्सले ६३ लाख कित्ता आइपीओ निष्काशन गर्ने, सानिमा क्यापिटल बिक्री प्रवन्धकमा नियुक्त

काठमाडौँ । रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले साधारण शेयर(आइपीओ) निष्काशनका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ । रु.१००/– दरको ६३ लाख कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्तामा निष्काशन गर्नको लागि सानिमालाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो । सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशी र रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।