साताको शेयर बजार : अर्ब पनि पुगेन कारोवार
काठमाडौं । दशैंको लामो बिदापछि खुलेको शेयरबजार उतार चढावपूर्ण अवस्थामा नै रही बन्द भयो । चालू आर्थिक वर्षको पहिलो त्रैमासको अन्तिम सातासम्म आइपुग्दा बजारले ओरालोको यात्रा नै तय गर्याे । धितोपत्र बजारमा यस साता कूल १ सय ६० कम्पनीको शेयर कारोवार भए । कूल ३२ लाख ८७ हजार ९ सय ६६ कित्ता शेयर ८० करोड ७५ लाख ५६ हजार ६ सय १२ रुपैयाँ मूल्यमा खरीदबिक्री भए । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका कारण साताको पहिलो दिन आइतबार सरकारले सार्वजनिक बिदा दिएका कारण बजार बन्द भयो । सोमबारदेखि बिहीबारसम्म खुलेको बजार उकालो लाग्ने अपेक्षा रहे पनि लय समात्न सकेन । सोमबार नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १२.०५ विन्दुले घटेर एक हजार १३६.९६ विन्दुमा पुग्यो । कूल १ सय ५४ कम्पनीको आठ लाख ३३ हजार ७५३ कित्ता शेयर २१ करोड ८६ लाख ३५ हजार ६ सय ९१ रुपैयाँ मूल्यमा खरीदबिक्री भए । मङ्गलबार नेप्से परिसूचकमा सामान्य सुधार भयो । सो दिन नेप्से परिसूचक ३.६२ विन्दुले बढेर एक हजार १४०.५८ विन्दुमा पुग्यो । कूल १ सय ५० कम्पनीको सात लाख १९ हजार ३३० कित्ता शेयर २० करोड ९२ लाख ६ हजार ६३१ रुपैयाँ मूल्यमा कारोवार भयो । बुधबार नेप्से परिसूचक पाँच अङ्कले ओरालो लाग्यो । नेप्से ५.०१ अङ्कले घटेर एक हजार १३७.०३ मा पुग्यो । स्टकका अनुसार कूल १ सय ५९ कम्पनीका सात लाख ३६ हजार ८८३ कित्ता शेयर १९ करोड ६६ लाख १८ हजार ९ सय ३६ रुपैयाँमा खरीदबिक्री भए । साताको अन्तिम दिन बिहीबार धितोपत्र बजारमा सामान्य वृद्धि भयो । सो दिन नेप्से परिसूचक ०.७१ अङकले बढेर एक हजार १३७.७५ मा पुग्यो । स्टकका अनुसार सो दिन कूल १ सय ६० कम्पनीका नौ लाख ९८ हजार कित्ता शेयर १८ करोड २९ लाख ९४ हजार ९ सय ५ रुपैयाँमा खरीदबिक्री भए । स्टकमा यस साता मिथिला लघुवित्त वित्तीय संस्थाको ६८ हजार ९४६ कित्ता शेयर लाभांश सूचीकृत भए । बजार पूँजीकरणका आधारमा पनि यस साता नेपाल दूरसञ्चार कम्पनी नै शीर्षस्थानमा रहेको छ । यस्तै नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्ट्याण्डर्ड चार्डट बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एनआईसी एशिया बैंक, कृषि विकास बैंक र एनएमबी बैंक शीर्ष दशमा रहेका छन् । ८२ कम्पनीको कारोवार रोक्का नेपाल स्टक एक्सचेञ्जले धितोपत्र सूचीकरण विनियमावलीअनुसार सूचीकरणको वार्षिक शुल्क नबुझाएका कारण ८२ कम्पनीको कारोवार स्थगित गरेको जनाएको छ । स्टकका सूचीकरणका शाखाका अनुसार लघुवित्त १९, व्यापार तीन, होटल दुई, अन्य दुई उत्पादन ११, विकास बैंक १८, बीमा दुई, वित्त ११ र जलविद्युत्का १३ कम्पनीको कारोवार स्थगित गरेको हो । रासस
सिटिजन लाइफ इन्स्योरेन्सले ७५ करोडको सेयर निष्कासन गर्ने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले ७५ करोडको सेयर निष्कासन गर्ने भएको छ । बुधबार सम्पन्न कम्पनीको दोश्रो वार्षिक साधारण सभाले सेयरधनीलाई सो मात्राको सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । त्यस्तै, सभाबाट कम्पनीकोे सञ्चालक समितिको रिक्त पदमा दिपप्रकाश पाण्डे निर्विरोध निर्वाचित भएका थिए । यसैगरी, सभाले सर्वसाधरणको हितमा विभिन्न विषयहरुमा छलफल गरि विभिन्न प्रस्तावहरु पारित गरेको छ । पारित प्रस्तावहरुमा सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७४/०७५ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण स्वीकृत भएको छ । उक्त सभामार्फत आर्थिक वर्ष २०७५/०७६ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय पारित भएकाे छ ।
महुली लघुवित्तले २० प्रतिशत बोनस र ११ प्रतिशत नगद लाभांश दिने
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस र करसहित ११ प्रतिशत नगद लाभांश दिने भएको छ । संस्थाले आर्थिक वर्ष २०७५/२०७६ को नाफाबाट हाल कायम भएको चुक्ता पुँजीको कूल ३१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव संस्थाको बुधबार अपरान्ह बसेको ९५औं बैठकले गरेको हो । संस्थाको प्रस्तावलाई संस्थाकाे आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउनेछन् । हाल संस्थाको चुक्ता पुँजी १० करोड २० लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस सेयर पछि संस्थाको चुक्ता पुँजी १२ करोड रुपैयाँ नाघ्ने छ । हाल संस्थाको सेयर मूल्य प्रतिकित्ता ८७० रुपैयाँ रहेको छ ।