चिलिमेकोे २५ प्रतिशत लाभांश पारित, निर्माणाधिन तीन आयोजनाको ५० देखि ८५ प्रतिशत काम सम्पन्न

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीको प्रस्तावित २५ लाभांश पारित भएको छ । बुधबार सम्पन्न कम्पनीको २३औं वार्षिक साधारणसभाले सेयरधनीलाई २० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने संचालक समितिको प्रस्ताव पारित गरेको हो । सभाले पारित गरेसँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनस पाउने भएका छन् । चार अर्ब ७५ करोड रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी २० प्रतिशत बोनस सेयरपछि पाँच अर्ब ७० करोड रुपैयाँ नाघेको छ । कम्पनीले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा ६२ लाख ७२ हजार अधिक यूनिट सहित ६ करोड ३५ लाख १२ हजार यूनिट विद्युत बिक्री गरेको छ । जसबाट कम्पनीले ४७ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ । साथै, व्याज आम्दानी २ करोड १४ लाख समेत गरी कम्पनीले ५० करोड ४ लाख रुपैयाँ आय आर्जन गरेको छ । सो अवधिमा चिलिमे जलविद्युत केन्द्रको चालु आर्थिक वर्षको असोज मसान्तसम्मको सञ्चालन तथा सम्चार खर्च २ करोड ७ लाख ३१ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । समिक्षा अवधिमा कम्पनीले ८ करोड २० लाख रुपैयाँ खर्च गरेको छ । यस कम्पनी अन्तर्गतका जलविद्युत कम्पनीहरु मार्फत तीन निर्माणाधिन आयोजनाहरुको हालसम्म ५० देखि ८५ प्रतिशतसम्म निर्माण कार्य सम्पन्न भइसकेको छ ।सान्जेन तथा सान्जेन(माथिल्लो) जलविद्युत आयोजनाको सिभिल निर्माण कार्य हालसम्म करिब ८५ प्रतिशत सम्पन्न भईसकेको छ । त्यस्तै, मध्य भोटेकोशी जलविद्युत आयोजनको हालसम्म करिब ५० प्रतिशत काम सम्पन्न भएको छ । त्यसैगरी, रसुवागढी जलविद्युत आयोजनाको निर्माण काम ७२ प्रतिशत सम्पन्न भएको कम्पनीले जनाएको छ । यी तीन वटै आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा सम्पन्न गर्ने चिलिमेको लक्ष्य रहेको छ ।

साताको शेयर बजार: एक अर्ब ५७ करोडको कारोवार

काठमाडौं । साताभर नै धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कूल १६७ कम्पनीको ५५ लाख २० हजार ८२२ कित्ता शेयर एक अर्ब ५७ करोड २८ लाख ७३ हजार ४९५ रुपैयाँ मूल्यमा खरीद बिक्री भए । बजार उतार चढावपूर्ण रहँदा कारोवार रकमसमेत प्रभावित भए । साताको पहिलो दिन नै धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.५९ विन्दुले घटेर एक हजार १३१.३६ विन्दुमा झर्यो । पहिलो दिन नेप्से आरोलो लागे पनि कारोवार रकममा भने वृद्धि भयो । कूल १६३ कम्पनीको ११ लाख ६७ हजार ६०५ कित्ता शेयर ३५ करोड ५१ लाख ५९ हजार ७६८ रुपैयाँ मूल्यमा खरीद बिक्री भए । दोस्रो दिन सोमबार धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक झिनो अङ्कले घट्यो । सो दिन नेप्से ०.२४ विन्दुले घटेर एक हजार १३१.१२ विन्दुमा पुग्यो । कूल १६० कम्पनीका ११ लाख ८८ हजार ८४५ कित्ता शेयर रु ३५ करोड ६८ लाख ६१ हजार ८५७ मूल्यमा खरीद बिक्री भए । मङ्गलबार पनि नेप्से परिसूचक ओरालो लाग्यो । सो दिन नेप्से १.१४ विन्दुले घटेर एक हजार १२९.९९ विन्दुमा कायम भयो । कूल १५३ कम्पनीको १० लाख १६ हजार ४० कित्ता शेयर २५ करोड ९३ लाख ३० हजार ५९५ रुपैयाँ मूल्यमा खरीद बिक्री भई शीर्षस्थानमा रहे । बुधबार पनि नेप्से ओरालो लाग्यो । सो दिन नेप्से परिसूचक १.६५ अङ्कले घटेर एक हजार १२८.३४ मा पुग्यो । कूल १६५ कम्पनीका १० लाख ९७ हजार ९२० कित्ता शेयर तीस करोड ३७ लाख २४ हजार २०४ रुपैयाँमा खरीद बिक्री भए । साताको अन्तिम दिन नेप्से परिसूचक ७.७४ विन्दुले घटेर एक हजार १२०।६० विन्दुमा पुग्यो । नेप्से ओरोलो लागे पनि कारोवार रकम भने औसतमा सीमित भयो । कूल १६७ कम्पनीको १० लाख ५० हजार ४१२ कित्ता शेयर रु २९ करोड ७७ लाख ९७ हजार ७१ रुपैयाँमा खरीद बिक्री भए । रासस

प्रभु बैंकको १६ प्रतिशत बोनस पारित, सर्वसाधारण र संस्थापकको शेयर संरचना परिवर्तन

काठमाडौं । प्रभु बैंकको प्रस्तावित १६ प्रतिशत बोनस शेयर पारित भएको छ । शुक्रबार सम्पन्न बैंकको १८औं वार्षिक साधारणसभाले संचालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम बैंकका सेयरधनीले चुक्ता पुँजीको १६ प्रतिशत बोनस शेयर पाउने छन् । १६ प्रतिशत बोनस शेयर पश्चात बैंकको चुक्ता पुँजी १०अर्ब ३१ करोड रुपैयाँ नाघेको छ । साथै, सभाले संस्थापक र सर्वसाधारण समूहतर्फको शेयर स्वामित्व परिवर्तन गरेको छ । बैंकले संस्थापक समूहतर्फ कायम रहेको ५५ प्रतिशत शेयर स्वामित्व घटाएर ५१ प्रतिशत पुर्याएको छ भने सर्वसाधारण समूहतर्फ कायम रहेको ४५ प्रतिशतको शेयर स्वामित्व बढाएर ४९ प्रतिशत पुर्याएको छ । त्यस्तै, सभाले शेयर स्वामित्वको आधारमा संस्थापक समुहबाट ३ जना र सर्वसाधारण समुहबाट ३ जनाको प्रतिनिधित्व हुने गरी संचालक समितिको प्रस्तावलाई पारित गरेको छ । साथै धितोपत्र सम्बन्धी कारोबार गर्ने सहायक कम्पनी स्थापना तथा सञ्चालन गर्ने व्यवस्था थप गर्नको लागि बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय समेत पारित गरेको छ । त्यसैगरी, अन्य बैंक तथा वित्तीय संस्थाहरु एक्विजिशन (प्राप्ति) तथा खरिद सम्बन्धी प्रक्रिया अगाडी सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । हाल बैंकले ३७ वटा एक्स्टेन्सन काउण्टर कार्यालय, १५२ वटा एटिएम मेशिन तथा १९६ वटा शाखा कार्यालयहरु मार्फत बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।