गरिमा विकास बैंकको १६ प्रतिशत बोनस शेयर पारित, चुक्ता पुँजी ३ अर्ब नाघ्यो
काठमाडौं । गरिमा विकास बैंकको प्रस्तावित १६.१५ प्रतिशत बोनस शेयर पारित भएको छ । मंसिर २७ गते सम्पन्न गरिमाको तेह्रौं बार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । साथै, सभाले शेयरमा लाग्ने कर प्रयोजनको लागि ०.८५ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ । सभाले मर्जर तथा एक्वीजिसन सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान समेत गरेको छ । साथै, उक्त साधारणसभाबाट विकास बैंकको अधिकृत पुँजी बृद्धि गरी ५ अर्ब बनाउने प्रश्ताव समेत पारित भएको इन्स्योरेन्सले जनाएको छ । हाल २ अर्ब ७८ करोड चुक्ता पुँजी रहेको विकास बैंकको १६.१५ प्रतिशत बोनश शेयर वितरण पश्चात चुक्ता पुँजी ३ अर्ब २३ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । उक्त सभा शुक्रबार(आज) कास्की जिल्लाको पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको थियो । काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीयकार्यालय रहेको विकास बैंकका हाल देशभर ९० शाखा कार्यालय सञ्चालनमा रहेका छन । विकास बैंकको २०७६ मंसिर २६ गतेसम्म ३६ अर्ब ५० करोड निक्षेप संकलन गरी करिब ३२ अर्ब ५० करोड कर्जा प्रवाह गरेको संस्थाले जनाएको छ ।
नेप्सेको उकालो यात्रा जारी
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । लगातार सुधारको दिशामा रहेको नेप्सेमा आज पनि २.४८ विन्दुले बढेर एक हजार १५१.३६ विन्दुमा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचक ०.३३ विन्दुले बढेर २५३.५० मा पुगेको छ । नेप्सेमा सुधार देखिँदा त्यसको प्रभाव कारोबार रकममा समेत परेको छ । कूल १७० कम्पनीको १६ लाख ६१ हजार ८२८ कित्ता शेयर रु ५० करोड तीन लाख २८ हजार ९१५ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १२ उपसमूह मध्ये आज चार उपसमूहको शेयर घटेको छ भने आठ उपसमूहको शेयर बढेको छ । जलविद्युत् ४.५२, निर्जीवन बीमा २.९५, उत्पादन ८.५७ र अन्य ११.२३ विन्दुले घटेका छन् । यस्तै बैंकिङ ७.०९, व्यापार २३.७६, होटल २८.१८, विकास बैंक १.९२, वित्त ०.४७, लघुवित्त १.८८, जीवन बीमा ९.१४ र सामूहिक लगानी कोष ०.०१ विन्दुले बढेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा आज माछापुच्छ्रे« बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु सात करोड ५३ लाख २७ हजार ९२० बराबरको शेयर कारोबार भएको छ । यस्तै, एनएमबी बैंक रु तीन करोड ८५ लाख ७९ हजार ३१७, कृषि विकास बैंक रु दुई करोड ८३ लाख ७३ हजार ५५२, डिप्रोक्स लघुवित्त वित्तीय संस्था रु एक करोड ३५ लाख ३० हजार ६००, नेपाल बैंक लिमिटेड रु एक करोड १५ लाख ४१ हजार १७४ र प्रभु बैंक रु एक करोड नौ लाख ३८ हजार ५५३ बराबरको शेयर कारोबार भई शीर्ष स्थानमा रहे । नेप्सेका अनुसार नयाँ नेपाल लघुवित्त विकास बैंक ९.९१, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था ९.७६, माउण्टेन हाइड्रो ६.६७, साल्ट टे«डिङ कर्पोरेशन ६.६२, लुम्बिनी विकास बैंक ६.३२ र आरएसडिसी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.१९ प्रतिशतले कमाए । त्यस्तै, अरुण काबेली पावर ४.०९, नेशनल हाइड्रोपावर ३.७७, आँखु खोला जलविद्युत् कम्पनी ३.५०, आँधीखोला लघुवित्त वित्तीय संस्था ३.४९ र सिन्धु विकास बैंकका शेयरधनीले ३.२ प्रतिशतले गुमाएका छन् ।
नेप्से सातामै ३७ अंकले बढ्यो, ४६ करोडको कारोबार हुँदा ५ कम्पनीका शेयरधनी मालामाल
काठमाडौं । नेप्से परिसूचक एक सातामै ३७ अंकले बढेकाे छ । गत मंसिर २३ गते ११११.९९ अंकमा रहेकाे परिसूचक आज(सोमबार)सम्म निरन्तर बढेर ११४८.८९ अंकमा पुगेकाे छ । पछिल्लाे समय निरन्तर ओरालो लागेको बजारले करिब एक साता अघिदेखि भने केही गति लिएको देखिन्छ । सोमबारको नेप्से परिसूचक १३.५२ अंकले बढेर ११४०.८९ विन्दुमा पुगेको छ । जुन गत एक महिनायताकै उच्च बिन्दु हो । मंसिर १६ गतेदेखि निरन्तर सामान्य अंकले उकालो लाग्दै आएको बजार सोमबार दोहोरो अंकले बढेर एकमहिना यताकै उच्च विन्दुमा पुगेको छ । आइतबारको तुलनामा सोमबारको नेप्से परिसूचकमा १.१९ प्रतिशतको वृद्धि भएको छ । परिसूचक सँगै कारोबारमा रकममा पनि उच्च सुधार भएको छ । पछिल्लो समय शेयर कारोबार १५ देखि ३५ करोडमा सीमित भइरहेको थियो । सोमबारको बजारमा ४६ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । बजारमा १७३ कम्पनीको १४ करोड ५९ लाख कित्ता शेयर किनबेच भएको छ । सोमबार कारोबारमा आएका दुई समूह बाहेक बाँकी समूह हरिया देखिएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह १५६ अंकले उकालो लागेको छ । त्यस्तै, जीवन बीमा समूह ६०, माइक्रोफाइनान्स समूह ५०, विकास बैंक समूह २८, उत्पादनमूलक समूह २९, होटल १३, हाइड्रोपावर १६, ट्रेडिङ १६ र बैंकिङ समूह ७ अंकले बढेका छन् । अन्य र म्युचअल फण्ड समूह सामान्य अंकले ओरालो लागेका छन् । सो दिन ५ वटा कम्पनीका शेयरधनीले ९ प्रतिशत बढी कमाएका छन् । समीट लघुवित्त वित्तीय संस्था र नाडेप लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेको छ । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको ९.९५, समता माइक्रोफाइनान्स वित्तीय संस्थाको ९.८० र मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९.५२ प्रतिशतले बढेको छ । बजारमा ८ कम्पनीको करोडौंको शेयर कारोबार भएको छ । नेपाल बैंकको सबैभन्दा बढी शेयर कारोबार भएको छ । बैंकको दुई करोड ३० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । एनएमबि बैंकको एक करोड ९२ लाख, डिप्रोक्स लघुवित्तको एक करोड ७२ लाख, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको एक करोड ६७ लाख, हिमालयन डिष्टीलरीको एक करोड २३ लाख, प्रभु बैंकको एक करोड १८ लाख, नेपाल लाइफ इन्स्योरेन्सको एक करोड १७ लाख र बुटवल पावर कम्पनीको एक करोड १५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।