माघ २६ गतेदेखि नेप्सेमा कारोबार रोक्का भएका सबै कम्पनीको कारोबार फुकुवा
काठमाडौं । गत माघ २६ गतेदेखि नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा कारोबार रोक्का भएका सबै कम्पनीको कारोबार फुकुवा भएको छ । नेप्सले आजदेखि सबै कम्पनीको सेयर कारोबार फुकुवा गरिदिएको हो । नेप्सेले वित्तीय विवरण समयमा नै नबुझाएको भन्दै गत माघ २६ गतेदेखि कूल ११ कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको थियो । जसमध्ये ७ कम्पनीले यसअघि अर्थात माघ २८ गतेभित्रमा नै सबै विवरण बुझाएकाले उनीहरुको सेयर कारोबार माघ २९ गतेदेखि खुला भएको थियो । नेप्सेमा ७ कम्पनीको सेयर कारोबार फकुवा, बिहीबारदेखि किनबेच गर्न पाइने (कुन कुनको) र, बाँकी ४ कम्पनीले भने आज(फागुन २ गते)सम्ममा विवरण बुझाएकाले उनीहरुको फागुन ३ गतेदेखि कारोबार हुने गरी फुकुवा गरिदिएको नेप्सेले जनाएको छ । जसमध्ये कालिका लघुवित्त वित्तीय संस्था, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, पञ्चकन्या माई हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपर कम्पनीको सेयर कारोबार फुकुवा भएको हो । यससँगै यी कम्पनीको सेयर भोलि(फागुन ३ गते) देखि दोश्रो बजारमा पुनः कारोबार हुने छ ।
अपि पावरको बोनस सेयर सूचीकृत
काठमाडौं । अपि पावर कम्पनीको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । संस्थाको आइतबार (फागुन २ गते) मात्रै १७ लाख २० हजार ५६१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै कम्पनीको उक्त सेयर सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, उनीहरुले दोश्रो बजारमा कारोबार गर्न पाउने छन् । आइतबारको बजारमा कम्पनीको सेयर कारोबार प्रतिकित्ता २८२ रुपैयाँमा शुरु भएको थियो । त्यसपछिको कारोबारमा भने संस्थाको सेयर मूल्य घटेको थियो । र, अन्तत बजार बन्द हुँदा अर्थात संस्थाको अन्तिम कारोबार प्रतिकित्ता २८० रुपैयाँमा भएको छ ।
प्रभु इन्स्योरेन्सले घोषणा गर्यो गत वर्षको लाभांश
काठमाडौं । प्रभु इन्स्यारेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । माघ २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैठकले हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत अर्थात १० करोड ५६ लाख २७ हजार रुपैयाँ बराबरको बोनस सेयर र बोनस सेयरमा लाग्ने कर वापत ०.५३ प्रतिशत अर्थात ५५ लाख ५९ हजार ३४१ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । (सच्याइएकाे)