पुँजी बजारको लागि सरकारले ल्याएको राहत प्याकेजः बजार नखुली काम नलाग्ने, खुल्ने वित्तिकै खारेज हुने
काठमाडौं । धितोपत्र बजार सम्बन्धमा सरकारले औचित्यहिन ‘राहत प्याकेज’ ल्याएको छ । देशभर लागू गरिएको लकडाउनका कारण बन्द भएको धितोपत्र बजारलाई राहत दिन भन्दै मन्त्रिपरिषदबाट निर्णय भएका व्यवस्था कार्यान्वयन हुँदै नहुने खालका छन् । वैशाख १४ गतेको मन्त्रिपरिषद बैठकले ‘धितोपत्र बजारमा कारोबार गरी राफसाफ गर्न बाँकी रहेकाहरुको हिसाव राफसाफ गर्ने समयावधि २०७७ असार मसान्तसम्म कायम गर्ने’ निर्णय गरेको थियो । सरकारको यो निर्णय कार्यान्वयन हुनको लागि असार मसान्तसम्म धितोपत्र बजार बन्द हुनुपर्नेछ । सरकारले गरेको यो निर्णयप्रति धितोपत्र बोर्डका अधिकारीहरुले पनि अनभिज्ञता जनाएका छन् । सरकारको यो निर्णय कसरी कार्यान्वयन हुन्छ भन्ने प्रश्नमा उनीहरुले यस्तो निर्णय नै कसरी आयो भन्नेमा आफूहरुलाई अचम्म लागेको बताए । ‘धितोपत्र बजारमा धितोपत्र र नगद गरी २ कुराको राफसाफ हुन्छ, कारोबार राफसाफ भनेर दुबै कुरालाई भन्न खोजिएको हो कि नगद वा धितोपत्रको मात्रै राफसाफको कुरा गरिएको हो, बजारमा सेयरको कारोबार कसरी हुन्छ भन्ने कुनै जानकारी नै नभएकाहरुले गरेको निर्णय जस्तो देखिएको छ, बजार बन्द हुन्जेलको लागि भने यो निर्णय काम लाग्छ,’ बोर्डका एक अधिकारीले भने । नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ कम्पनीका अधिकारीहरुले पनि सरकारको यो निर्णय ‘राहत प्याकेजमा धेरै बुदा थप्न मात्रै काम लागेको’ प्रतिक्रिया दिएका छन् । ‘राफसाफको समयावधि असार मसान्तसम्म पुर्याउने निर्णय गर्नुका पछाडि असार मसान्तसम्म बजार खुल्दैन भन्ने मनसाय हो भने पनि यो निर्णय आवश्यक थिएन, त्योभन्दा अगाडि नै बजार खुल्छ भन्ने मान्यता राख्ने हो भने त यो निर्णयले राहत प्याकेजका बुदा बढाउनु बाहेक कुनै काम गर्दैन,’ नेप्सेका एक अधिकारीले भने । किन गर्दैन काम ? सरकारले लकडाउन सुरु गरेको अघिल्लो दिन अर्थात १० चैतदेखि नै धितोपत्र बजार बन्द छ । बजार बन्द हुनुभन्दा अघिल्लो दिन अर्थात ९ चैतमा कारोबार भएको थियो भने त्योभन्दा अघि ६ चैत (विहीबार) पनि कारोबार भएको थियो । सेयर किनबेचको अर्डर भएकै दिन सेयर प्राप्त गर्ने र रकम बुझाइने नभएकोले विक्री गर्ने व्यक्तिले रकम पाउनको लागि विक्रीको आदेश दिएको ब्रोकरको खातामा नगद र सेयर किन्न अर्डर गरेको ब्रोकरको डिम्याट खातामा सेयर आइसकेको अवस्था नै राफसाफ हो । यस्तो राफसाफ कार्यमा नेप्से र सीडीएससी संलग्न हुन्छन् । तर, नेप्से र सीडीएससीले अघिल्लो दिनको कारोबार राफसाफ नसकी अर्काे पछिल्लो दिनको कारोबार राफसाफ गर्न सक्दैनन् । यसो गर्न सिस्टमले नै नमिल्ने सीडीएससीका अधिकार बताउँछन् । लकडाउनअघिको अन्तिम तीन दिन अर्थात चैत ५,६ र ९ गतेको कारोबारको राफसाफ गर्न बाँकी रहेको सीडीएससीको भनाई छ । चैत ५ गते १ अर्ब ८० करोड, चैत ६ गते १ अर्ब ९० करोड र चैत ९ गते १९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । सेयर कारोबार खुलेपछि यी तीन दिनको कारोबार राफसाफ गरेपछि मात्रै पछिल्ला दिनको कारोबारको राफसाफ गर्न मिल्ने अधिकारीहरुको भनाइ छ । अर्थात चैत ५ गतेको कारोबारको राफसाफ नसकी ६ गतेको कारोबारको राफसाफ गर्न मिल्दैन भने ६ गतेको कारोबारको राफसाफ गरिसकेपछि मात्रै चैत ९ गतेको कारोबारको राफसाफ गर्न मिल्छ । र, चैत ९ गतेको कारोबारको राफसाफ गरिसकेपछि मात्रै अब खुल्ने दिनको राफसाफ हुन सक्छ । ‘वैशाख २८ गतेदेखि बजार खोल्ने भन्ने तयारी भएको छ, चैत ९ गतेसम्मको कारोबार राफसाफ भइसकेपछि मात्रै वैशाख २८ गतेको कारोबार राफसाफ गर्न मिल्छ, अब असार मसान्तसम्म कुनै पनि दिनको कारोबार राफसाफ नगर्ने हो भने यो निर्णय कार्यान्वयन गर्न मिल्छ, होइन भने यो निर्णयको कुनै औचित्य नै छैन,’ सीडीएसका एक अधिकारीले भने ।
लगानीकर्ता र सूचीकृत कम्पनीलाई राहात, यस्ताे छ मन्त्री परिषद्को निर्णय
काठमाडौं । लकडाउन अघि सेयर किनेका लगानीकर्ता र नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत कम्पनीहरुलाई ठूलो राहात मिलेको छ । लकडाउन अघि सेयर किनबेच गरी राफसाफ गर्न बाँकी रहेका लगानीकर्ताले अब असार मसान्तसम्म हिसाव राफसाफ गर्न पाउने भएका छन् । गत आइतबार(बैशाख १४) गते बसेको मन्त्री परिषद्को बैठकले धितोपत्र बजारमा कारोबार गरी राफसाफ गर्न बाँकी रहेकाहरुको हिसाव राफसाफ गर्ने समयावधि आगामी असारसम्म कायम गर्ने निर्णय गरेको हो । यससँगै लकाडाउन अघि सेयर किनेकालाई बजार खुल्ने बित्तिकै पैसा तिर्नुपर्ने बाध्यता हटेको छ । नेप्सेका अनुसार लकडाउनकाे २ दिनअघि काराेबार भएकाे सेयर राफसाफ हुन बाँकी रहेकाे छ । त्यस्तै, बैठकले धितोपत्र ऐन बमोजिम सूचीकृत कम्पनीले बुझाउनु पर्ने विवरणहरु बुझाउने म्याद असार मसान्तसम्म कायम गर्ने निर्णय गरेको छ । यसले सूचीकृत कम्पनीहरुलाई पनि केही हदसम्म राहत मिलेको छ । हाल नेप्सेमा २०० बढी कम्पनीहरु सूचीकृत छन् ।
सेयर बजारको बारेमा चिन्ता नलिनुस्, याे छिट्टै रिकभर हुन्छ
सेयर बजार स्वभाविक रूपमा चल्नुपर्छ । जहाँ कुनै पनि किसिमको अवरोध हुनुहुँदैन । स्वभाविक रुपले चलेको बजारमा कारोबार त सञ्चालन हुन्छ, तर त्यो म्यानुअल्ली हुन्छ कि मेकानाईजेशनल हुन्छ भन्ने दुई कुरा हुन्छ । हामी अहिले मेकानाईजेशनल हिसावले गइरहेका छौं । तर यो पूर्ण भइरहेको छैन । हाम्रो अहिले अनलाइन ट्रेडिङ छ । वास्तवमा भन्ने हो भने हाम्रो अनलाइन ट्रेडिङ भनेको हाफलाइन ट्रेडिङ मात्रै हो । किनभने हाम्रो सेयरमा कसैले पनि बाईसेल इन्भेष्ट गर्न सक्छ । बाईसेल इन्भेष्ट गरेपछि ट्रेडिङको म्याचिङ्ग हुन्छ । म्याचिङ्ग भईसकेपछि जब उसले सेयरलाई ट्रान्सफर गर्नु पर्ने हुन्छ, त्यसको लागि एउटा मेकानिजम बनाईदिएको छ । त्यो भनेको इडीआईएस हो । यसलाई ब्रोकरहरुले स्वचालित प्रणालीबाट जुन आउँछ त्यसलाई कार्यान्वयन गरिरहेका छैनन् । अर्काे, सेयरको कारोबार भयो, इन्भेष्टको पनि भयो । तर हाफपार्ट भने बाँकी नै रह्यो । त्यो भनेको बैंकसँगको इन्ट्रिग्रेसन । कुनै पनि कारोबार अहिले बैंकसँग इन्ट्रिगेसन छैनन् । यदि बैंकसँगको इन्ट्रिगेसन र सेयर कारोबारसँगको इन्ट्रिगेसन तथा समग्रतामा कारोबारको मेगानाइजेसन भएको भएदेखि अहिलेको जस्तो अवस्थामा हुने थिएनौं । हामी पनि अन्य मुलुकहरु जस्तै सेयर कारोबार गर्न पाउने थियौं । समग्र प्रणालीलाई हामीले दुई किसिमले हेर्नुपर्ने हुन्छ । सामान्य किसिमले जुन कारोबार हुन्थ्यो, त्यो कारोबार भएको अवस्था एउटा, अर्काे भनेको असामान्य वा संकटको बेलामा गरिने कारोबार हो । असामान्य वा संकटको बेलामा कारोबार गर्नको लागि व्यवस्था मिलाउन हामीले नेप्सेलाई १० वटा बुँदाहरुसहितको निर्देशन दिएका छौं । जसमा अहिलेको अवस्थामा आईपीएसको लागि कसरी टाईअप गर्ने । ब्रोकरले पनि आईपीएस कनेक्टको सुविधा लिने र लगानीकर्ताले पनि पनि लिने भन्ने हो । यसो भयो भने कमसेकम पनि सेयर कारोबार अनलाइन त छँदैछ यतापट्टिको म्यानुअल भुक्तानीमा परिमार्जन गरेर घरमै बसेर काम गर्न सकिन्छ । यसको लागि वातावरण मिलाउने भनेका छौं । वास्तवमा भन्ने हो भने हाम्रो अनलाइन ट्रेडिङ भनेको हाफलाइन ट्रेडिङ मात्रै हो । यसको लागि तत्कालै दुईवटा कुरा गर्नुपर्ने हुन्छ । एउटा सबै लगानीकर्तालाई मेरो सेयरमा खाता खोल्न लगाउने र त्यो खातामा ईडीआईएस सब्मिसन भन्ने व्यवस्था छ, त्यो व्यवस्था अन्तर्गत रहेर ब्रोकर कहाँ डाटाहरु सब्मिसन गर्ने । र, प्रणालीबाट जे आउँछ, एभरेज प्राईसिङ जुन दिएको हुन्छ, अहिले त्यसलाई ब्रोकरहरु आफैले पुष्टि गर्नुपर्ने हुन्छ । आफैले पुष्टि गर्ने सिष्टम त्यति राम्रो नभएकाले त्यसमा केहि म्यानुअल वा मानवीय त्रुटीहरु देखिन सक्छ । त्यसमा नगदको कुरा पनि छ । प्रणालीबाट आउँछ, जसमा ब्रोकरहरुले दुई पैसा पनि तलमाथि गर्न सक्नुहुन्न । सिस्टममा जे आउँछ, उहाँहरुले त्यहि पुष्टि गर्नुपर्ने हुन्छ । यो पुष्टि गर्ने कुरा झन्झटिलो हुने भएकाले यसलाई हटाउन निर्देशन दिएका छौं । र, यो संकटकालिन अवस्थाको व्यवस्थापन गर्नको लागि केही कामहरु गर्न शुरु गरिसकेका छौं । यी कुरा कार्यान्वयन भयो भने केही मात्रामा अनलाइन ट्रेडिङ् हुन्छ । यसलाई पूर्ण अनलाइन गर्नको लागि बैंक इन्ट्रिगेसन नै हो । यो गर्नको लागि लकडाउन भन्दा केही साता अगाडि एउटा प्राविधिक समिति बनाएका छौ । समितिमा नेप्से, क्लियरिङ्ग हाउस, क्लियरिङ्ग बैंक, ब्रोकर, सीडिएस, मर्चेन्ट बैंकर र डीपीहरु छन् । जसलाई धितोपत्र बोर्डले नेतृत्व गरेको छ । यो समितिले राम्रोसँग काम गर्न पाएको भए अहिलेसम्म प्रतिवेदन तयार भइसकेको हुन्थ्यो र दुई तीन महिना भित्रमा पूर्ण अनलाइनमा गईसकेका हुन्थ्यौं । जे होस्, अहिले प्रक्रियामा छ, आशा गरौं केहि समयपछि पूर्ण अनलाइन कारोबार सञ्चालन हुनेछ । बैंकमा सबै अनलाइन कारोबार हुन्छ, हामीले घरमै बसी बसी रकम ट्रान्सफर गर्न सक्छौं । एटीएम मेसिनमा गएर पैसा झिक्न सक्छौं । धितोपत्र बजारमा पनि त्यस्तै गरे भैहाल्यो नि भन्नेहरु पनि छन् । तर त्यस्तो होइन । त्यहाँ ग्राहक बैंक र बीचमा सिष्टम भएकोले काम भएको हो । तर यहाँ काम गर्दा नेप्सेले म्याचिङ्ग इन्जिन चलाउनु पर्यो, सीडीएसमा क्लियरिङ्ग गराउनु पर्यो, एनसीएचएलले पैसाको लागि क्लियरिङ्गको काम गराउनु पर्यो, बैंकले खातामा पैसा जम्मा वा झिक्ने काम गर्नुपर्यो । त्यसैले यसमा धेरै पक्षहरु संलग्न हुने भएकाले फुल्ली इन्टिग्रेसन गरेर जानु पर्ने हुन्छ । त्यसैले यो अलि गाह्रो पनि हुन्छ । सेयर कारोबारको क्लियरिङ्ग र पैसाको क्लियरिङ्ग दुबै छुट्टा छुट्टै पाटो हो । यसलाई जबसम्म हामीले पूर्ण रुपमा इन्टिग्रेट गर्दैनौं, तबसम्म यो लागू हुँदैन । यस्तो परिस्थितिको लागि अन्य मुलूकमा डिजास्टर रिकभरी छ, हाम्रोमा छैन भन्ने पनि छन् । साच्चै भन्ने हो भने, सामान्य अवस्थामा नै हाम्रो धितोपत्र बजार अत्याधुनिक प्रणालीसँग अभ्यस्त भएको छैन । सामान्य अवस्थामा सबै प्रकृयाहरु पूर्ण इन्टिग्रेसन हुनु पर्यो, सजिलै काम गर्न सक्ने हुनु पर्यो । त्यसपछि मात्र, भोलिपर्सि संकट आयो भने के गर्ने भन्ने विषयमा लाग्ने हो । त्यसैले, अहिले डिजास्टर रिकभरीको विषयमा सोच्ने बेला भएको छैन । हाम्रो अहिलेको तत्कालको आवश्यकता भनेको अनलाइन कारोबारलाई पूर्ण रुपमा सञ्चालित गरेर कारोबार गर्न सक्ने बनाउने हो । र, यो कुरा गर्न हामीले शुरु गरिसकेका छौं । अब लकडाउन खुलेको केही हप्ता वा महिना भित्रमा अनलाइन कारोबार गर्न सक्छौं होला । यसको लागि नेप्से र धितोपत्र बोर्ड दुबै सक्दो तरिकाले लागेका छौं । हामीले लकडाउन सामान्य रुपमा खुल्यो वा खुकुलो बनाईयो भने बजार खुलाउन पर्छ भनेर अर्थमन्त्रालयसँग पनि छलफल गरिरहेका थियौं । यसै सन्दर्भमा कुरा गर्दा हामीले केही मात्रामा कारोबार खुलाउन सक्ने रहेछौं । यसैबीचमा हामीले नेपाल राष्ट्र बैंकसँग नेप्सेमार्फत आईपीएसको लागि व्यवस्था मिलाउछौं, दिनको मर्चेन्ट बैंकरसँगको भए ५० लाख नभए २० लाखलाई बढाएर एक करोडसम्म पुर्याइदिने पर्छ भनेका छौं । अरु तत्कालै कारोबार गर्नको लागि केही विषयमा पुनर्विचार गर्नुपर्ने अवस्था छ । त्यसको लागि पनि केही व्यवस्था मिलाउन आग्रह गरेका छौं । राष्ट्र बैंकको नियम अनुसार लगानीकर्ताले ६५ प्रतिशत मार्जिनमा कर्जा पाइरहेका छन् । त्यसलाई २० प्रतिशतसम्म तल माथि भयो भने उनीहरुले करिब ८५ प्रतिशत सुविधा पाइरहेका छन् । त्यहि रकममा नविकरण गरिदिन व्यवस्था मिलाउनु पर्यो भन्ने कुराहरु उठाएका छौं । त्यसैले हामीले हाम्रोतर्फबाट हुने कामहरु गरिरहेका छौं । हाम्रो अहिलेको तत्कालको आवश्यकता भनेको अनलाइन कारोबारलाई पूर्ण रुपमा सञ्चालित गरेर कारोबार गर्न सक्ने बनाउने हो । र, यो कुरा गर्न हामीले शुरु गरिसकेका छौं । अब लकडाउन खुलेको केही हप्ता वा महिना भित्रमा अनलाइन कारोबार गर्न सक्छौं होला । यसको लागि नेप्से र धितोपत्र बोर्ड दुबै सक्दो तरिकाले लागेका छौं । पूर्णरुपमा लकडाउन भएको बेलामा बाहिर जान सकिदैन । जस्तै, हाम्रो ५० वटा ब्रोकर छन् । २० देखि २५ वटा डीपीहरु र अन्य सबै गर्दा ७५ देखि ८० वटा संस्थाहरुले सहभागिता जनाउनु पर्ने हुन्छ । यसरी एउटा संस्थालाई ४÷५ वटा मात्रै पास उपलब्ध गराईदिने हो भने ४ सय वटा पास हामीले दिनुपर्ने हुन्छ । ४ सय वटा गाडी बजारमा कुद्ने र ४ सय जना मान्छे हिड्ने हो भने यसले लकडाउनको प्रभावकारितालाई भङ्ग गर्छ । यसले जनताको सुरक्षा गर्ने जुन उद्देश्य नेपाल सरकारको छ, त्यसलाई सहयोग गर्दैन, त्यसैले अहिले बजार नखुलाईएको हो । यदि खुकुलो भयो भने निश्चित सीमामा रहेर कारोबार खुलाउने पक्षमा छौं । यसको लागि के कसरी व्यवस्थित गर्ने हो भन्ने विषयमा नेप्सेलाई पनि निर्देशन दिएका छौं । यदि २५ गतेपछि लकडाउन खुकुलो मात्रै भयो भने पनि हामी त्यही अनुसार अगाडी बढ्छौ । होइन, त्यसपछि लकडाउनको अन्त्य नै भयो भने त सामान्य रुपमा सञ्चालन भइहाल्छ । र, आगामी दिनमा पूर्ण इन्टिग्रेटमा कसरी जाने भन्नेमा लाग्ने छौं । सुचारू भएपछिको बजारमा कस्तो पर्छ असर ? कोरोनाको प्रभावपछि विश्वव्यापी रुपमा सेयर बजारमा निकै असर परेको देखिन्छ । अमेरिकामा करिब दुई महिनाको अवधिमा सेयर बजार हुने डवो इन्डेक्स करिब १० हजार २ सय ६९ अंकले झरेको छ । जुन ३७ प्रतिशतले घटेको हो । भारतको नेप्से फिफ्टी इन्डेक्स पनि ३७ प्रतिशतले घटेको छ । तर, पछिल्लो समय अर्थात मार्चको तेश्रो हप्तादेखि भने ती बजारले गति लिन थालेको छ । अहिले अमेरिकाको उक्त इन्डेक्स करिब २८ प्रतिशतले बढेको छ । परिस्थिति सामान्य भएपछि आमनागरिकलाई लगानीको लागि राम्रो अवसर भनेको सेयर बजार नै हो । यसले गर्दा बजारमा सकारात्मक असर पर्छ भन्ने अनुमान छ । त्यसैगरी, हाम्रो नेपालमा लकडाउन हुनुअघि नेप्से परिसूचक १२५१ अंकमा रहेको छ । अब यसपछि के होला भनेर सरसर्ती हेर्दा लकडाउन पछाडी सामान्य रुपमा बजार खुल्यो भने परिसूचकमा पनि केही सामान्य गिरावट त आउला तर अहिले बजारमा हल्ला भए जस्तो भएङ्कर ठूलो गिरावट आउने चाहिँ म देख्दिनँ । किनभने, विश्व बजारमा अहिले जहाँ जहाँ मानिसहरुमा अब कोरोना संक्रमण बढ्दैन भन्ने कन्फिडेन्ट बढेको छ, त्यो त्यो देशमा सेयर बजार सुधारोन्मुखतिर लागेको छ । त्यसैले बजार खुल्नु भनेको मानिसहरुमा कन्फिडेन्ट बढ्नु हो । त्यसले पनि केही सकारात्कम असर पर्न सक्छ । अर्काे, लकडाउनपछि आर्थिक व्यवसाय खुल्दा मानिसहरुले तत्कालै लगानी गर्ने ठाउँ कहाँ भन्ने कुरा आउँछ । यसको लागि सेयर बजार नै उपयुक्त हुन सक्छ । उद्योग लगायत अन्य क्षेत्रमा लगानी गर्ने वातावरण सिर्जना हुनको लागि केही समय लाग्छ । त्यसमा डिमाण्ड सप्लाई लगायत कच्च पदार्थको व्यवस्था मिलाउने कुरा आउन सक्छ । त्यसैले उनीहरुलाई तत्कालै अगाडि बढ्न गाह्रै छ । बजारको करिब ८५ प्रतिशत पोर्टफोलियो सुरक्षित अवस्थामा छ । सबैभन्दा बढी असर पर्यटन र होटल समूहमा पर्ने हो । उनीहरुको पोर्टफोलियोको करिब ६ प्रतिशत छ । त्यसले बजारमा त्यति असर नपर्ने मेरो अपेक्षा रहेको छ । त्यसैले परिस्थिति सामान्य भएपछि आमनागरिकलाई लगानीको लागि राम्रो अवसर भनेको सेयर बजार नै हो । यसले गर्दा बजारमा सकारात्मक असर पर्छ भन्ने अनुमान छ । यसपछि बजारले पनि अर्काे गति लिँदैछ । डिलरहरु करिब करिब काम गर्ने अवस्थामा छन् । नागरिक लगानी कोषले खोलेको स्टक डिलर कम्पनीले काम शुरु गर्ने छ । खुल्लामुखी म्युचअल फण्ड पनि सञ्चालनमा आउँदै छन् । यसको प्रभाव बजारमा सकारात्मक नै पर्नेछ । त्यस्तै, कूल बजारमा करिब ५३ प्रतिशत पोर्टफोलियो वाणिज्य बैंकको छ । विकास बैंकको ५ प्रतिशत, फाइनान्सको १०, माइक्रोफाइनान्सको ६ प्रतिशत, जीवन र निर्जीवन बीमाको समेत गरी कूल ७८ प्रतिशत सेयर कारोबार हुन्छ । यी क्षेत्रलाई तत्कालै त्यस्तो ठूलो असर नपर्ने सम्भावना छ । नाफा सामान्य होला तर कार्यदक्षतामा त्यति धेरै घट्दैन । हामी अहिले आत्तिहाल्नु पर्दैन । धितोपत्र बजार भनेको एकदम छिटो रिकभर हुने क्षेत्र हो । त्यसको लागि हामीले सक्दो प्रयास गर्नेछौं । त्यसैले कूल बजारमा ७८ प्रतिशत कम्पनीको कार्यदक्षता राम्रो हुनेछ । बाँकी ५ प्रतिशत पोर्टफोलियो हाइड्रोपावरको छ । बजारको करिब ८५ प्रतिशत पोर्टफोलियो सुरक्षित अवस्थामा छ । सबैभन्दा बढी असर पर्यटन र होटल समूहमा पर्ने हो । उनीहरुको पोर्टफोलियोको करिब ६ प्रतिशत छ । त्यसले बजारमा त्यति असर नपर्ने मेरो अपेक्षा रहेको छ । बजार सञ्चालन गर्दा नियामकको हिसावले सरकार तथा नेपाल राष्ट्र बैंकले आगामी बजेटमा पुँजी बजारको करका तथा पुँजी बजारको विकासको कुराहरुलाई हेरिदिनु पर्नेछ । र, मौद्रिक नीतिमा पनि पुँजी बजारलाई समेट्नु पर्छ । जसको लागि हामीले बोर्डको तर्फबाट गर्नुपर्ने काम र पहल गरिरहेका छौं । त्यसैले हामी अहिले आत्तिहाल्नु पर्दैन । धितोपत्र बजार भनेको एकदम छिटो रिकभर हुने क्षेत्र हो । त्यसको लागि हामीले सक्दो प्रयास गर्नेछौं । (नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले पुँजी बजारका सरोकारवालहरुसँग गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष ढुङ्गानाले व्यक्त गरेको विचारमा आधारित)