दोस्रो बजारबाट सेयर किन्ने अन्तिम गृहकार्यमा प्रधानमन्त्री ओलीको ‘नयाँ युग’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नयाँ युगको सुरुवात’ भन्दै संचालनमा ल्याइएको सामाजिक सुरक्षा कोषले पुँजी बजारको दोस्रो बजारबाट सेयर उठाउन गृहकार्य थालेको छ । कोषले अहिलेसम्म सेयर खरिद नगरेको भएपनि लगानी सम्बन्धी कार्यविधि बनाएर सेयर कारोबार गर्ने तयारी भएको कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए । कोषले आफूसँग भएको लगानीयोग्य रकम दोस्रो बजारमा पनि लगानी गर्न पाउने भएकोले सो क्षेत्रमा लगानी गर्नको लागि आवश्यक गृहकार्य भइरहेको उनको भनाई छ । ‘कोषले लगानी गर्ने क्षेत्रबारे ऐनले नै स्पष्ट व्यवस्था गरेको छ, ऐनको परिधिभित्र रहेर दोस्रो बजारमा सेयर कारोबार गर्न आवश्यक पर्ने कार्यविधि बनाउँदै छौं,’ प्रवक्ता पन्थीले विकासन्युजसँग भने । कोषमा आवद्ध रोजगारदाताले आधारभूत तलबको १० प्रतिशत र कामदार कर्मचारी तथा श्रमिकले २१ प्रतिशत रकम जम्मा गर्नुपर्ने व्यवस्था ऐनमा छ । यसरी जम्मा भएको रकममध्ये लगानीयोग्य रकमको निश्चित प्रतिशत रकम दोस्रो बजारमा लगानी गरी सेयर कारोबार गर्नको लागि धितोपत्र बोर्डसँग आवश्यक समन्वय र सहकार्य भइरहेको कोषको लगानी व्यवस्थापन महाशाखाका प्रमुख कृष्ण अधिकारीले जानकारी दिए । ‘कोषले १० प्रतिशत रकम दोस्रो बजारमा लगानी गरी सेयर कारोबार गर्न पाउने कानुनी व्यवस्था छ, सो व्यवस्थालाई कार्यान्वयन गरी सेयर बजारमा लगानी गर्नको लागि के कस्तो व्यवस्था अपनाउने भन्ने बारेमा धितोपत्र बोर्डसँग समन्वय गरी लगानी कार्यविधि बनाउने काम भइरहेको छ, कार्यविधि छिटो बनाएर सेयर बजारमा पनि लगानी गर्ने योजनामा छौं,’ अधिकारीले भने । कोषमा अहिलेसम्म १३ हजार २ सय ८३ रोजगारदाता र १ लाख ८९ हजार ५ सय ४९ जना योगदानकर्ता सुचिकरण भएका छन् । रोजगारदाता र योगदानकर्ताको गरी अहिलेसम्म कुल ४ अर्ब २२ करोड रुपैयाँ कोषमा जम्मा भएको छ । बोर्डले पनि दोस्रो बजारमा कोषको लगानी भित्र्याउनको लागि आवश्यक गृहकार्य भइरहेको जानकारी दिएको छ । बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले पुँजी बजारसँग सम्बन्धित विभिन्न संघ संस्थाका प्रतिनिधिसँगको छलफलमा कोषलाई पनि पुँजी बजारमा भित्र्याउनको लागि आवश्यक पहल भइरहेको जानकारी गराएका छन् । अध्यक्ष ढुंगानासहित बोर्डका उच्च अधिकारीबीच फागुन ५ गते बोर्डको कार्यालयमा धितोपत्र बजारको समसामयिक अवस्था र बजार विकास तथा विस्ताका लागि बोर्डले गरेका कार्यका विषयमा छलफल भएको थियो । छलफलमा उद्योग वाणिज्य महासंघ, पूँजी बजार फोरमका सभापति अम्बिका प्रसाद पौडेल, नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार, नेपाल पुँजी बजार लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल, नेपाल पूँजी बजार संघका अध्यक्ष राधा पोखरेल, लगानीकर्ता दवाव समूहका संयोजक हरि ढकालको उपस्थिति रहेको थियो । छलफलका क्रममा बोर्ड अध्यक्ष ढुंगानाले पछिल्लो समय धितोपत्र बजारमा भएको प्रविधिको विकाससँगै प्राथमिक र दोस्रो बजारमा लगानीकर्ताको पहँुच विस्तार भई बजार गतिशिल भएको बताए । कोरोना महामारीको प्रभावको बीचमा समेत आर्थिक क्रियाकलाप चलायमान बनाउन धितोपत्र बजारले महत्वपूर्ण भूमिका खेलेको अध्यक्ष ढुंगानको भनाई छ । उनले दोस्रो बजार कारोवार सहज भएको तथा विगत लामो समयदेखि अन्यौल रहेको पूँजीगत लाभकरको विषय स्पष्ट भएसँगै लगानीकर्ताको मनोबल बढेको बताउँदै बजारको स्थायित्वका लागि संस्थागत लगानीकर्ताको बलियो उपस्थिति हुनुपर्ने र यसका लागि बोर्डलेउ पयुक्त कानूनी व्यवस्था गरेपश्चात् संस्थागत लगानीकर्ताको प्रबेश भइरहेको विचार व्यक्त गरे । ‘सामाजिक सुरक्षा कोष तथा अन्य कोषलाई धितोपत्र बजारमा प्रवेश गर्न आवश्यक सहजीकरण भइरहेको छ, गैरआवासीय नेपालीको धितोपत्र बजार प्रबेश सम्बन्धमा बोर्डले बाह्य विज्ञमार्फत् अध्ययन गराइरहेको छ, निकट भविष्यमा नै सो सम्बन्धी प्रतिवेदन पेश हुदैछ, अध्यक्ष ढुंगानाले भने । सूचिकृत संगठित संस्थाको विवरण प्रवाह थप पारदर्शी बनाउने, लगानीकर्ताको पहुँच विस्तार गर्ने, अन्य नियामक निकायसँग समन्वय गर्ने, लगानीकर्ता संरक्षण कोषको प्रभावकारी संचालन गर्न अर्थ मन्त्रालय र कम्पनी रजिष्ट्रारको कार्यालयसँग समेत समन्वय गरी आवश्यक कार्य अगाडि बढाउने लगायतका कार्य भइरहेको अध्यक्ष ढुंगानाले जानकारी दिए । छलफलमा लगानीकर्ता संघ संगठनका प्रमुखहरुले वर्तमान धितोपत्र बजारको अवस्थाको समीक्षा गर्दै पछिल्लो समयको प्रगतिमा सन्तोष व्यक्त गरे । साना लगानीकर्ताको हित हुने गरी नीति तर्जुमा गर्न बोर्डलाई सुझाव दिदै उनीहरुले अनलाइन प्रणालीको सुधार, सर्वसाधारणको लगानी आकर्षण गर्न आवश्यक पूर्वाधारको व्यवस्था, ब्रोकरको पहुँच विस्तार तथा लगानीकर्ता साक्षरता लगायतका विषयमा बोर्डले थप प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए ।

कर्णाली डेभलपमेन्ट बैंकको फागुन ५ गतेदेखि बुक क्लोज

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको आज (फागुन ५ गते बुधबार) देखि बुक क्लोज भएको छ । बैंकले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि सो दिनदेखि फागुन २१ गतेसम्म बुक क्लोज गर्न लागेको हो । यससँगै फागुन ४ गतेसम्म कायम सेयरधनीको विवरण बैंकको सेयर रजिष्ट्रार दरबारमार्गमा रहेको प्रभु क्यापिटलमा उपलब्ध हुने छ । बैंकले आगामी फागुन २१ गते शुक्रबार १५औं र १६औं (एकैपटक दुई वर्षको) वार्षिक साधारणसभा गर्न लागेको हो । उक्त निर्णय माघ २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो ।

महिला लघुवित्तको आईपीओ भोलिसम्म भर्न पाइने, हालसम्म कतिले भरे सेयर ?

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) भोलि फागुन ५ गतेसम्म भर्न पाइने भएको छ । गत माघ ३० गतेदेखि बिक्री खुला गरिएको उक्त आईपीओ भोलिसम्म निष्काशन खुला हुने सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले जनाएको छ । यससँगै हालसम्ममा उक्त आईपीओमा १४ लाख बढीले आवेदन दिएका छन् । मर्चेन्टका अनुसार मंगलबार साँझ ५ः३० बजेसम्ममा १४ लाख ४ हजार २८७ जना आवेदकले २ करोड १६ लाख २५ हजार ६ सय कित्ता सेयरको लागि आवेदन दिइसकेका छन् । जुन संस्थाले माग गरेको भन्दा ५७.६६ गुणा बढी आवेदन हो । त्यस्तै, सो अवधिसम्म १ लाख ७३ हजार ५९८ जनाको आवेदन भने अनभेरिभाइड नै रहेको क्यापिटलले जनाएको छ । लघुवित्तले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरका ४ लाख कित्ता अर्थात ४ करोड रुपैयाँ बराबरको आईपीओ बिक्रीमा राखेकाे हो । जसमध्ये ०.५० प्रतिशत अर्थात ५ हजार कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । र, बाँकी रहने ३ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वधारणलाई निष्काशन गरिने संस्थाले जनाएको छ । यससँगै, इच्छुक आवेदकले न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । आईपीओको निश्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा फागुन ५ गते र ढिलामा फागुन १४ गतेसम्म हुनेछ । हाल लघुवित्तको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेकाे छ । ४ करोडको आईपीओ पश्चात संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ ।