प्रतिनिधिसभा पुनर्स्थापनालाई नेप्सेको लाल सलाम

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएपछिको सेयर बजार राताम्मे देखिएको छ । बुधबार कारोबार शुरु भएको केहि समयमै नेप्से ओरालो तर्फ मोडिएको छ । बजार खुलेको करिब ४८ मिनेटको अवधिमा परिसूचक ७६ अंकले घटेर २५१० बिन्दुमा झरेको छ । जबकी कारोबार शुरु भएको १७ मिनेटमै परिसूचक ८४ बिन्दुले घटेर २५०५ बिन्दुसम्म पुगेको थियो । तर त्यसपछिकाे काराेबारमा बजार अलि सम्हालिँदै गएकाे छ । यो समाचार तयार पार्दासम्म बजारमा एक अर्ब ५६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ । सो अवधिसम्म १९० कम्पनीको कारोबार भएको थियो ।

सारथी नेपाल लघुवित्तको लाभांश घोषणा, बोनस कति ?

काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ९.५८९४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । फागुन ११ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले साविक नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको संचित नाफाबाट मर्जर पश्चात हाल कायम रहेको चुक्ता पुँजीको ९.११ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.४७९४ प्रतिशत नगद गरी कूल ९.५८९४ प्रतिशत लाभांश वितरण प्रस्ताव गर्ने निर्णय गरेको हो । उक्त लाभांश प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने छ । पारित लाभांश मर्जरपछि कायम रहेका सेयरधनीले पाउने संस्थाले जनाएका छन् । मर्जर पश्चात संस्थाको चुक्ता पुँजी २३ करोड ५३ लाख रुपैयाँ कायम भएको थियो । त्यसको ९.११ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी २५ करोड ६७ लाख रुपैयाँ पुग्ने छ ।

स्पर्श लघुवित्त र आईसीएफसी फाइनान्सको बोनस सेयर सूचीकृत

काठमाडौं । नेप्सेमा दुई संस्थाको बोनस सेयर सूचीकृत भएको छ । आज मंगलबार मात्रै स्पर्श लघुवित्त वित्तीय संस्था र आईसीएफसी फाइनान्सको बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये स्पर्श लघुवित्तको १९.५० प्रतिशत अर्थात एक लाख ८२ हजार ८०८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । त्यस्तै, आईसीएफसी फाइनान्सको १०.५० प्रतिशत बोनस नेप्सेमा थपिएको छ । संस्थाको ९ लाख ७७ हजार ६३८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । यससँगै यी दुई संस्थाको सो मात्राको बोनस सेयर अबको केही दिनमा सेयरधनीको डिम्याट खातामा जम्मा हुने छ । र, त्यसपछि दोश्रो बजारमा सेयर किनबेच गर्न पाउने छन् ।