नेप्सेमा छायाे हरियाली, आधा घण्टामै ३२ अंकले बढ्यो परिसूचक
काठमाडौं । मंगलबारको सेयर बजारमा हरियाली छाएकाे छ । कारोबार शुरु भएको आधा घण्टामा नेप्से परिसूचक ३२ अंकले उकालो लागेको छ । ११ बजेर ३१ मिनेट जाँदा नेप्से परिसूचक ३२.२० अंकले बढेर एक हजार २ सय २० अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.७१ प्रतिशत बढी हो । यो समाचार तयार पार्दासम्म बजारमा कूल एक सय कम्पनीको ८ करोड २१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो अवधिसम्म एक लाख ५१ हजार ८ सय ३० कित्ता सेयर किनबेच भएको छ ।
९८ दिन थला परेको सेयर बजारः ४० मिनेट खुलेपछि २० मिनेट रेष्टमा
काठमाडौं । ९८ दिनपछि खुलेको बजारमा पहिलो सर्किट ब्रेक लागेको छ । कारोबार खुलेको ४० मिनेटमै सेयर बजार ४ प्रतिशतले घटेर सर्किट ब्रेक लागेको हो । यससँगै, सेयर कारोबार २० मिनेटको लागि रेष्टमा रहेको छ । अब १२ बजेपछि पुनः सेयर काराेबार शुरू हुने छ । यो अवधिमा नेप्से परिसूचक ४८.१७ अंकले घटेर ११५३ अंकमा झरेको छ । सो अवधिमा ६९ कम्पनीको ८ करोड ४२ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
तीन महिनापछि खुलेकाे बजारमा लगानीकर्ताकाे मुड कस्ताे हाेला ?
काठमाडौं । धितोपत्रको दोश्रो बजार आज ९८औं दिनपछि खुलेको छ । लामो अवधिपछि खुलेको बजार के होला ? बढ्ला कि घट्ला ? लगानी गर्ने कि नगर्ने ? भन्ने आम लगानीकर्तामा परेको छ । यस विषयमा नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष अम्बिका प्रसाद पौडेलले भने बजार शुरुमा घट्न सक्ने बताए । तर आज नै बाउन्स ब्याक पनि हुन सक्ने उनले बताए । सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले आजको बजारमा केहि गिरावट आउन सक्नेछ तर दुई चार दिन पनि सम्हालिने बताएका छन् । ‘प्यानिक अवस्थाको बजार छ । लगानीकर्ताको मनोबल गिरेको अवस्था छ । त्यसैले केहि गिरावट आउला तर त्यति धेरै गिरावट चाहि आउने छैन । किनभने बजारमा आएका सकारात्मक कुराहरु जस्तै, पुँजीगत लाभकरमा स्पष्टता भएको छ । मौद्रिक नीतिमा मार्जिन कल बढाउने भन्ने कुरा भएको छ । इन्भेष्टमेन्ट बैंकको २ अर्ब रुपैयाँ फिर्ता आएको छ । यी कुराले बजार त्यति तल जाँदैन । आजको बजारमा सेलिङ प्रेसर आउने छ । आत्तिनु पर्ने अवस्था छैन केहि दिनमा बजारले आफ्नो गति लिन थाल्छ ।’ त्यस्तै, नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले पनि प्यानिक पछि खुलेको बजारमा केहि गिरावट आउने बताएकी छिन् । लगानीकर्ताको मनोबल कमजोर भएको छ, बजार केहि तल जान सक्छ त्यसैले सकेसम्म केहि दिन सेयर होल्ड गर्न उनले लगानीकर्ताहरुलाई आग्रह गरेकी छिन् । अन्तर्राष्ट्रिय बजारले जस्तै नेपाली पुँजी बजारले पनि एक दुई दिन पछि आफ्नो गति लिन सक्ने उनले बताइन् । ‘लामो समयदेखि बन्द भएको पुँजी बजारमा अत्यावश्यक कामको लागि रकम निष्काशन गर्न पाइएको छैन । पीडित लगानीकर्ताहरुले खर्चको जोहो गर्ने भएकाले आइतबारको बजारमा बिक्री चाप बढ्न सक्ने छ ।’ ‘अर्काे, हातमा पैसा लिएर बस्नेहरु पनि पर्ख र हेरको अवस्थामा नै हुने छन् । कोरोना महामारीको अवस्थामा फेरि पुँजी बजार घट्छ । र अहिले बचेर पछि घटेपछि किनौला भन्ने लगानीकर्ताको मनोविज्ञान पनि रहेको हुन्छ । यसका साथै, असार मसान्त नजिकिँदै गर्दा मार्जिन कल र व्याज तिर्ने चटारोको प्रेसर पर्न सक्छ ।’- अध्यक्ष पाेखरेलले बताइन् । बजारमा आत्तिनु पर्ने अवस्था छैन । बजारले २/४ दिन पछि गति लिन्छ त्यसैले केही दिन होल्ड गर्न उनले सबैलाई आग्रह गरेकी छिन् ।