निफ्रालाई नेप्सेको प्रश्नः लन्डन स्टक एक्स्चेञ्जमा सूचीकृत हुने विषय के हो ?
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले नेपाल इन्फ्राष्ट्रचर बैंक(निफ्रा) लाई लन्डन स्टक एक्स्चेञ्जमा सूचीकृत हुने विषय के हो भन्दै प्रश्न गरेको छ । निफ्राले ३० मिलियन डलरको बण्ड ल्याउने र लन्ड स्टक एक्सचेञ्जमा सूचीकृत हुने भन्ने समाचार आएसँगै यसको सत्य तथ्य के हो भन्दै नेप्सेले कम्पनीसँग स्पष्टिकरण माग गरेकाे हाे । निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले गत चैत १ गते चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेञ्जमा ३० मिलियन डलर बराबरको बोन्ड जारी गर्न लागेको बताएका थिए । “चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेञ्जमा सूचीकृत हुने गरी ३० मिलियन डलरको बन्ड जारी हुँदैछ, नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेका छौं ।”, चैत १ गते पत्रकारसँगकाे भेटघाटमा सीईओ खतिवडाले बताएका हुन् । यससम्बन्धमा ध्यानाकर्षण गर्दै नेप्सेले चैत ४ गते एक पत्र जारी गरी यसकाे जवाफसहित तीन दिनभित्र स्पष्टिकरण दिन निफ्रालाई आग्रह गरेको हो । यसका साथै, नेप्सेले कम्पनीलाई लाभांश वितरण गर्ने लगायत विभिन्न विषयकाे सत्य तथ्य के हाे भन्दै स्पष्टिकरण माग गरेकाे छ । ‘चालु आर्थिक वर्ष भित्रमानै ८.५ प्रतिशतको ब्याज तोकी त्यस कम्पनीले बण्ड जारी गर्ने र सो लन्डन स्टक एक्स्चेञ्जमा सूचीकृत हुने भन्ने समाचार कतिको सत्य हो ? निफ्राले रणनीतिक साझेदार भित्र्याउने विषयमा के कस्तो छलफल भएको हो ? त्यस कम्पनीले बैंक तथा वित्तीय संस्थाका लागि पनि बण्ड जारी गर्ने हो या होइन ? इन्स्योरेन्स कम्पनीले खरिद गर्ने भनिएको इन्स्योरेन्स बण्डका सम्बन्धमा के कति मात्रामा कस्तो छलफल गरिएको हो ? कम्पनीको मुनाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने भन्ने सम्बन्धित निकायमा आउँदै नआएको किन प्रचार गरिएको हो ?’, यससम्बन्धमा निफ्राले तीन दिन भित्रै नेप्सेमा जानकारी गराउनु पर्ने छ । सम्बन्धित समाचार निफ्राले लन्डन स्टक एक्सचेञ्जमा ३० मिलियन डलरको बोन्ड जारी गर्ने निफ्राका सीईओलाई प्रश्नः तपाईंकाे कम्पनीकाे सेयर मूल्य किन घटिरहेको छ ?
सर्वोत्तम सिमेन्टको आईपीओमा लगानी गरेको तीन महिनामै ३५% लाभांश पाइने, मूल्य कति ?
काठमाडौं । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ्ग विधि मार्फत जारी गर्न लागेकाे प्राथमिक सेयर (आईपीओ)मा लगानी गरेकाे तीन महिनाभित्रै लगानीकर्ताले ३५ प्रतिशत लाभांश पाउने भएका छन् । कम्पनीले आज (चैत ४ गते) बुधबार बिक्री प्रबन्धक नियुक्त गर्ने कार्यक्रममा लगानीकर्तालाई १० प्रतिशत बोनस र २५ प्रतिशत नगद गरि ३५ प्रतिशत लाभांश वितरण गर्ने जनाएकाे हाे । कम्पनीले बुक बिल्डिङ्ग मार्फत ६० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । जसमध्ये २४ लाख कित्ता सेयर संस्थागत लगानीकर्तालाई र ८ लाख कित्ता जिल्लाबासीलाई र ३ लाख कित्ता कर्मचारीलाई छुट्याइएको र बाँकी रहेको २५ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरिने कम्पनीले जनाएको छ । बुक बिल्डिङ्ग विधि मार्फत जारी गर्न लागेको कम्पनीको सेयर मूल्य न्युनतम प्रतिकित्ता ७५० रुपैयाँ ताेकिएकाे छ । तर, अन्तिम मूल्य भने संस्थागत लगानीकर्ताद्वारा मूल्य तोकिएपछि मात्रै सर्वसाधारणका लागि मूल्य निर्धारण हुने छ । कम्पनीका अनुसार सर्वसाधारणको लागि १० प्रतिशत कम अर्थात प्रतिकित्ता ६७५ रूपैयाँमा सेयर जारी हुने छ । कम्पनीले तोकेको मूल्यको २० प्रतिशत कम अर्थात् ६०० रुपैयाँ र माथिल्लो सीमा ७५० को २० प्रतिशतले बढी अर्थात् ९०० रुपैयाँसम्म हुन सक्ने कम्पनीले जनाएको छ । सो मात्राको सेयर निष्काशन गर्नको लागि कम्पनीले बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरिसकेको छ । त्यस्तै, सह बिक्री प्रबन्धकमा पनि दुई क्यापिटल (एनआईबिएल एस र प्रभु)लाई नियुक्त गरेको हो । नेपालको इतिहासमै पहिलो पटक कम्पनीले नयाँ विधिबाट आईपीओ जारी गर्न लागेको कम्पनीकाे चुक्ता पुँजी ३ अर्ब ४० करोड रुपैयाँ रहेकाे छ । उक्त सेयर निष्काशन गर्ने प्रक्रियालाई कम्पनीले अन्तिम चरणमा पुर्याएको छ । सम्भवतः कम्पनीले चैत महिना भित्रै सेयर जारी गर्ने छ । सम्बन्धित समाचार सर्वोत्तम सिमेन्टको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल, सहप्रबन्धकमा एनआईबिएल एस र प्रभु सर्वाेत्तम सिमेन्टले ल्याउने बुक विल्डिङ प्रक्रियाको आइपिओ के हो ? कति कित्ता किन्नुपर्छ ?
सर्वोत्तम सिमेन्टको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल, सहप्रबन्धकमा एनआईबिएल एस र प्रभु
काठमाडौं । सर्वोत्तम सिमेन्टले आईपीओ निष्काशन गर्न बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले आज(चैत ४ गते) एक कार्यक्रमबीच बिक्री प्रबन्धकमा ग्लोबल आईएमईलाई नियुक्त गरेको हो । त्यस्तै, कम्पनीले सह बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल र प्रभु क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले ६० लाख कित्ता सेयर बुक बिल्डिङ्ग विधि मार्फत जारी गर्न लागेको हो । ६० लाख कित्ता सेयरमा ४० प्रतिशत संस्थागत लगानीकर्ताले खरिद गर्ने पाउनेछन् भने ६० प्रतिशत सर्वसाधारण र प्रभावितको हुनेछ । यस सेयरमा कम्तीमा १० संस्थागत लगानीकर्ताले मूल्य तोक्नेछन् । रियल सेक्टरका कम्पनीहरु पुँजी बजारमा आएनन् भनेर गुनासो भइरहेको समयमा सर्वाेत्तम सिमेन्ट पुँजी बजारमा आउने भएकाे हाे । सर्वोत्तमले ६० लाख कित्ता सेयर बुक बिल्डिङ्ग विधि मार्फत जारी गर्न लागेको हो । ६० लाख कित्ता सेयरमा ४० प्रतिशत संस्थागत लगानीकर्ताले खरिद गर्नेछन् भने ६० प्रतिशत सर्वसाधारण र प्रभावितको हुनेछ । यस सेयरमा कम्तीमा १० संस्थागत लगानीकर्ताले मूल्य तोक्नेछन् । तर, यो कम्पनीले नेपाली पुँजी बजारको इतिहासमै फरक तरिकाले आइपीओ जारी गर्न लागेको छ । अहिलेसम्म प्रतिकित्ता अंकित मूल्य (सामान्यतः प्रतिकित्ता सय रुपैयाँ) मा र प्रिमियम मूल्यमा आइपिओ जारी हुँदै आएकोमा सर्वाेत्तमले भने बुक विल्डिङ प्रक्रियाबाट आइपीओ जारी गर्न लागेको हो । सम्बन्धित समाचार सर्वाेत्तम सिमेन्टले ल्याउने बुक विल्डिङ प्रक्रियाको आइपिओ के हो ? कति कित्ता किन्नुपर्छ ?