एनसेल, डिसहोम र प्रभु डिजिटल आईपीओ जारी गर्ने तयारीमा, कहाँ पुग्यो प्रक्रिया ?
काठमाडौं । देशका ठूला तीन कम्पनी सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशनको तयारीमा रहेका छन् । दुरसञ्चार क्षेत्रको सेवा प्रदायक कम्पनी डिश मिडिया नेटवर्क (डिसहोम), दुरसञ्चार सेवा प्रदायक कम्पनी अन्तर्गत रहेर पब्लिक कम्पनीमा गएका प्रभु डिजिटल र एनसेलले पनि आईपीओ निष्काशन गर्ने तयारी गरिरहेका हुन् । कम्पनी ऐन अनुसार पब्लिक कम्पनीमा गइसकेको कम्पनीहरुले सर्वसाधारणहरुका लागि आईपीओ निष्काशन गर्नुपर्ने हुन्छ । डिस होमले सोही ऐन अनुसार आईपीओ जारी गर्न आवश्यक कागजात तयार पाररिसेकेको बताएको छ । डिश मिडियाका प्रबन्ध निर्देशक सुदीप आचार्यले आईपीओ जारी गर्न आवश्यक कागजातहरु नेपाल धितोपत्र बोर्ड (सेवोन) मा पठाइसकेकाे बताए । ‘हामीले केही कागजपत्रहरु सवोनमा बुझाइसकेका छौँ, केही बुझाउने तयारीमा छौं, सबै काम सकेर छिट्टै आईपीओ निष्काशन गछौँ’, उनले भने । धेरै अगाडिदेखि आईपीओ जारी गर्ने तयारी भएपनि अब भने निष्कासनको प्रक्रियामा रहेको उनको भनाई छ । उनका अनुसार विदेशी लगानीकर्तालाई सबै प्रक्रिया बुझाउँदा केही समय लागेको हो । सर्वसाधारणलाई सेयर जारी गर्न विदेशी लगानीकर्तालाई सबै प्रक्रिया बुझाएर आवश्यक कागपत्र तयार पार्ने काम सुरु भएकाे उनकाे भनाई छ । डिस होम कम्पनी २०७४ असार १८ गते पब्लिक कम्पनीमा परिणत भएसँगै लामो समयदेखि आईपीओ निश्कासन गर्ने तयारी भइरहेको भनिएपनि हालसम्म सेयर जारी गरेको थिएन । अब भने आईपीओ जारी गर्ने अन्तिम चरणमा पुगेकाे हाे । २ अर्ब रुपैयाँको चुक्ता पुँजी रहेको यस कम्पनीको सञ्चालक समितिमा चुक्ता पुँजीको २० प्रतिशत आइपीओ निष्काशन गर्ने प्रस्ताव यस अघि नै भइसकेको छ । जसअनुसार कम्पनीले ४० करोड रुपैयाँ बराबरको आईपीओ ल्याउन सक्नेछ । कम्पनीमा हाल ५३ प्रतिशत स्वदेशी र ४७ प्रतिशत विदेशी लगानी रहेको छ । यस्तै, दुरसञ्चार सेवा प्रदायक कम्पनी अन्तर्गत रहेर पब्लिक कम्पनीमा गएका प्रभु डिजिटल र एनसेलले सर्वसाधारणलाई आइपीओ जारी गर्ने तयारी गरेका छन् । प्रभु डिजिटल र एनसेलका अधिकारीहरु आइपीओ जारी गर्न आवश्यक तयारीमा लागेको भन्दै छिट्टै जारी गर्ने बताउँछन् । प्रभु ग्रुप अन्तर्गतको प्रभु डिजिटल प्रालिले पब्लिक कम्पनीको स्वीकृती पाएसँगै यो पनि आईपीओ जारी गर्ने तयारीमै छ । दूरसञ्चार प्राधिकरणले गत असोजमा प्रभु डिजिटल प्रालिको सट्टामा प्रभु डिजिटल लिमिटेड राखी प्राईभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा परिवर्तनको लागि अनुमति दिएको थियो प्रभु ग्रुप अन्तर्गतको कम्पनीले २०७४ साल कात्तिक ७ गतेदेखि अनुमतिपत्र लिई इन्टरनेट सेवा सञ्चालन गरिरहेको छ । यसका साथै कम्पनीले टेलिभिजन, आइपिटिभी र ओटिटी सेवा समेत संचालन गरिरहेको छ । हालसम्म कतिको सेयर निष्काशन गर्ने भन्ने बारे भने कम्पनीले खुलाएको छैन । यस्तै, १० करोड चुक्तापूँजी रहेको एनसेलले शेयर जारी गर्ने प्रक्रियामा अगाडि बढाएको छ । एनसेलले हाल सेयर निष्काशन गर्नको लागि धितोपत्र बोर्ड र नेपाल दूरसञ्चार प्राधिकरणसँग समन्वय गरिरहेको बताएको छ । यद्यपी कम्पनीले कति सेयर निष्काशन गर्ने हो भन्ने बारे हालसम्म खुलाएकाे छैन ।
महालक्ष्मी विकास बैंकसहित दुई कम्पनीको सेयर मूल्य समायोजन
काठमाडौं । नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आज (चैत ३ गते) मंगलबार महालक्ष्मी विकास बैंक र नेपाल हाइड्रो डेभलपर्शको बोनस सेयर पश्चात सेयर मूल्य समायोजन भएको हो । जसमध्ये महालक्ष्मी विकास बैंकको ८.८० प्रतिशत बोनस सेयर पश्चात सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता २६९ रुपैयाँ कायम रहेको छ । जबकी संस्थाको पछिल्लो कारोबार प्रतिकित्ता २९३ रुपैयाँमा भएको थियो । त्यस्तै, नेपाल हाइड्रोको पनि १५ प्रतिशत बोनस पश्चात सेयर मूल्य समायोजन भएको हो । समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता ३२५ रुपैयाँ रहेको छ । यससँगै अबको कारोबारमा दुबै कम्पनीको सेयर कारोबार समायोजनपछि कायम भएको मूल्यबाट शुरु हुने छ ।
महिला लघुवित्तको आईपीओ सूचीकृत, भोलिदेखि कारोबार हुने, अधिकतम मूल्य ९३९ रूपैयाँ
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको १० लाख कित्ता साधारण सेयर (आइपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर चैत २ गते सोमबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै कम्पनीको उक्त सेयर मंगलबार (चैत ३ गते) देखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल एमएलबीएसएल दिइएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता ३१३.१६ रुपैयाँ र अधिकतम ९३९.४८ रुपैयाँ तोकेको छ । साथै, कम्पनीले सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि हात्तिसारस्थित एसबिआई मर्चेन्ट बैंकिङ्गलाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।