१३ लाख बढीले भरे रु रु जलविद्युतको आईपीओ
काठमाडौं । रु रु जलविद्युत परियोजनाको आईपीओमा ४९.३१ गुणा बढी आवेदन परेको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आज(चैत २३ गते) सोमबार ५ बजेसम्ममा सो मात्राको आवेदन परेको हो । क्यापिटलका अनुसार चैत २३ गते साेमबार साँझसम्ममा १३ लाख ७ हजार २४२ जना आवेदकले संस्थाको एक करोड ८६ लाख ९७ हजार ५७० कित्ता सेयर माग गरेका छन् । जुन, कम्पनीले सर्वसाधारणमा माग गरेको भन्दा ४९.३१ गुणा बढी आवेदन हो । कम्पनीले चैत २० गतेदेखि सर्वसाधारणमा ४ लाख ७ हजार ७०६ कित्ता सेयरको बिक्री खुला गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सार्वजनिक निष्काशनमा ल्याएको हो र सर्वसाधारणले उक्त सेयरको लागि आवेदन दिन पाउने छन् । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता सेयर निष्काशन गर्न लागेको हो । संस्थाले स्थानियमा भने अंकित मूल्य १०० रुपैयाँमै सेयर बिक्री गरेको थियो । सेयर खरिदका लागि इच्छुक सर्वसाधारणले आजदेखि आगामी चैत २४ गतेसम्ममा आवेदन दिन पाउने छन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट तथा मेरो सेयरमार्फत पनि आवेदन दिन सक्नेछन् । मेरो सेयरमा केहि दिन समस्या देखिने, सिडिएस भन्छ- यसरी लिनुस् सेवा आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आइआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ । हाल कम्पनीको चुक्ता पुँजी ३२ करोड ६१ लाख रुपैयाँ रहेको छ । आईपीओ निष्काशत तथा बिक्री पश्चात कम्पनीको चुक्ता पुँजी ४० करोड ७७ लाख रुपैयाँ नाघ्ने छ ।
तीन कम्पनीको बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्स्सेञ्ज(नेप्से)मा तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज(चैत २३ गते) बरुण हाइड्रोपावर कम्पनी, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी र ङादी ग्रुप पावरको एकैदिन बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये बरुण हाइड्रोपावरको ५ प्रतिशत बोनस अर्थात १ लाख २७ हजार ५७५ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको ७.३७ प्रतिशत बोनस पछि ६ लाख १० हजार ९९८ कित्ता सेयर सूचीकृत भएको हो । ङादी ग्रुप पावरको १० प्रतिशत बोनस अर्थात ५ लाख ३५ हजार ५५४ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । यससँगै यी तीन वटै कम्पनीको सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।
ग्लोबल आईएमई बैंकले फर्ष्ट माइक्रोफाइनान्सको सेयर लिलामीमा बिक्री गर्ने
काठमाडौं । ग्लोबल आईएमई बैंकले आफ्नो स्वामित्वमा रहेको फर्ष्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको संस्थापक समूहको ८१ हजार ५०० कित्ता सेयर लिलामीमा राखेको छ । इन्स्योरेन्सले उक्त सेयर प्रतिकित्ता न्युनतम ३०० रुपैयाँ तोकेर बढाबढ मूल्यमा बिक्री गर्न लागेको हो । यससँगै उक्त सेयर खरिद गर्न योग्य इच्छुक संस्थापक वा अन्य व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्ने छन् । उनीहरुले आगामी २०७८ बैशाख २६ गते बैंकिङ्ग समयभित्र गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्ने हुन्छ । बोलपत्र आवेदन फाराम काठमाडौंको नक्सालस्थित ग्लोबल आईएमई क्यापिटलमा पाइने छ र सोहि स्थानमा बुझाउन सकिन्छ । दोश्रो बजारमा पछिल्लो समय संस्थाको संस्थापक सेयर प्रतिकित्ता २७५ रुपैयाँमा कारोबार भएको थियो ।