नेप्सेमा एक कम्पनीको १५ प्रतिशत बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक जलविद्युत कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेमा कालिका पावर कम्पनीको बोनस सेयर सूचीकृत भएको हो । कम्पनीको १५ प्रतिशत बोनस बापत १० लाख ३५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

५ वर्ष पुरानो लाभांश लिन चिलिमे जलविद्युतको आग्रह

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले पुरानो लाभांश लिन आग्रह गरेको छ । कम्पनीले विभिन्न साधारण सभाबाट पारित भएको ५ वर्ष पुरानो लाभांश हालसम्म बाँकी रहेका सेयरधनीहरुले भुक्तानी लिन आग्रह गरेको हो । कम्पनीका अनुसार वि.सं.२०७४ कात्तिक २४ गते सम्पन्न २१ औं वार्षिक साधारण सभाले पारित गरेको आर्थिक वर्ष २०७३/७४ को नगद लाभांश हालसम्म बुझिलिन लिन बाँकी रहेकाले १ महिनाभित्र लैजान भनेको हो । सो आर्थिक वर्ष कम्पनीले १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । सेयरधनीहरुलाई आफ्नो सेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथ परिचयपत्र ल्याएर लिन बाँकी रहेको लाभांश रकम लैजान भनेको हो । कम्पनीले एक महिनाभित्र बाँकी रहेको लाभांश लिनका लागि सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमा सम्पर्क गर्नुपर्नेछ । यदि उक्त समयमा लाभांश नलिएमा ५ वर्ष पुरा भई भुक्तानी हुन बाँकी रहेको लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।

घोराही सिमेन्टले जेठ ३२ गतेदेखि प्रिमियममा आईपीओ बिक्री गर्ने, कति कित्ता किन्ने ?

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीले जेठ ३२ गतेदेखि सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरी बाँडफाँटपश्चात् सर्वसाधारणलाई आईपीओ बिक्री गर्ने भएको हो । कम्पनीले आयोजना प्रभािवत क्षेत्रका स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीलाई बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गर्नेछ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गर्नेछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्म लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा असार ४ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा असार १४ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेका छन् । कम्पनीको आईपीओमा लगानीकर्ताले सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङ्गद्धारा निर्मित मेरो सेयर मार्फत् आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।