साढे ३ सय रुपैयाँमा सेयर बेच्दै उन्नति सहकार्य लघुवित्त

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले संस्थापक समहूको नाममा रहेको ३८ हजार ९९ हजार कित्ता सेयर बिक्री गर्ने भएको हो । लघुवित्तले सो सेयरको मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकेको छ । बोलपत्र पेश गर्दा सो मूल्य वा सोभन्दा बढि मूल्य अंकित गरी आवेदन पेश गर्नु पर्ने लघुवित्तले जनाएको छ । लघुवित्तले आज जेठ २८ गतेदेखि असार ३ गतेसम्म सो सेयर बिक्रीमा राखेको हो । सेयर खरिद गर्न इच्छुकले बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलमा आवेदन दिनु पर्नेछ ।

नेप्सेमा ४ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गत साता विभिन्न ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । गत जेठ २१ गते आइतबारदेखि जेठ २६ गते शुक्रबारसम्म आरएमडीसी लघुवित्त, हिमालयन एभरेष्ट इन्स्योरेन्स, कालिका पावर कम्पनी र नेशनल माइक्रोफाइनान्स लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । आरएमडीसी लघुवित्तको २६ प्रतिशत बोनस बापत ३२ लाख २६ हजार ७७२.४५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २६ प्रतिशत बोनस सेयर र १.३६८४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । हिमालयन एभरेष्ट इन्स्योरेन्सको २.७५ प्रतिशत बोनस बापत ६ लाख १५ हजार ९८३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २.७५ प्रतिशत बोनस सेयर र ०.१४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । कालिका पावर कम्पनीको १५ प्रतिशत बोनस बापत १० लाख ३५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । नेशनल माइक्रोफाइनान्स लघुवित्तको १५ प्रतिशत बोनस बापत ८ लाख ८० हजार १२.४६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

एक वर्षमा पौने ७ खर्बले घट्यो बजार पुँजीकरण, २ खर्ब ८५ अर्बको धितोपत्र सूचीकृत

काठमाडौं । एक वर्षमा बजार पुँजीकरण करिब पौने ७ खर्बले घटेको छ । २०७९ बैशाखको तुलनामा २०८० बैशाख मसान्तमा बजार पुँजीकरणले ६ खर्ब ८६ अर्ब रुपैयाँले घटेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको तथ्यांकअनुसार २०७९ बैशाख मसान्तमा ३३ खर्ब ४३ अर्ब ५६ करोड रहेको बजार पुँजीकरण २०८० बैशाख मसान्तमा २६ खर्ब ५७ अर्ब रुपैयाँ कायम भएको छ । त्यस्तै, २०७९ बैशाख मसान्तमा २३५०।४३ रहेको नेप्से सूचकाङ्क २०८० बैशाख मसान्तमा १८२१।६५ कायम भएको छ । २०८० चैतमा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको संख्या २५३ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४३ बैंक तथा वित्तीय संस्था र बीमाकम्पनी रहेका छन् भने ७२ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ६ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् । २०७९ बैशाखमा सूचीकृत कम्पनीहरूको संख्या २२९ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६४.३ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा १३.८ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.० प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.९ प्रतिशत, होटेलको हिस्सा २.३ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.३ प्रतिशत रहेको छ । नेप्सेमा २०८० बैशाख मसान्तमा सूचीकृत ७ अर्ब २४ करोड शेयरको चुक्ता मूल्य ७१३ अर्ब ८७ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९/८० को दश महिनामा १ खर्ब ६६ अर्ब ४१ करोड बराबरको साधारण शेयर, ४५ अर्ब बराबरको विकास ऋणपत्र, २९ अर्ब १९ करोड रुपैयाँ बराबरको डिबेन्चर, रु.३४ अर्ब ८१ करोड बराबरको बोनस सेयर, ५ अर्ब ४९ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड र ४ अर्ब १३ करोड बराबरको हकप्रद सेयरगरी कुल २ खर्ब ८५ अर्ब ३ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ११ अर्ब ६० करोड रुपैयाँ बराबरको डिबेन्चर, १३ अर्ब ३५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, १० अर्ब १ करोड रुपैयाँ बराबरको साधारण सेयर र २ अर्ब १५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर गरी कुल ३७ अर्ब १२ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।